– दिपा मेवाहाङ राई

“चन्दिका नाना त हिँडेछ ।”
सुयोगले एकाबिहानै चन्दिकाको खबर सुनायो ।
“कस्तो अपत्यारिलो कुरा ।”
पत्याउनै नसकिने कुरा पाखाबारीमा, धारा, पँधेरा, गोठ सबैतिर फैलियो । त्यस बिहान मान्छेहरुले भान्छामा खानाको सट्टा कुरा पकाए । कुरा नपकाउन् पनि किन ?
चन्दिका थिई नै विशेष । चिम्सा आँखा, भुक्क उठेका गाला, चिल्ला निधार अनि माछाकाजस्ता जिउ । उमेरको भ¥याङ उक्लेर ऊ अठ्तीस वर्षकी भएपनि उसको हाउभाउ, हातले पार लाउँदै कुरा गर्ने तरिकाले मान्छेलाई आकर्षण गथ्र्यो । गाउँघरमा हुने बिहे, छेवार, मेलापातमा उसको उपस्थितिले बेग्लै रौनक छथ्र्यो । गाउँमा आयोजना हुने कार्यक्रमहरुमा उही सबैभन्दा अगाडि सघाउन पुग्थी । उसको आतिथ्यताले गाउँका मात्रै होइन छिमेकी गाउँले, पाहुनापासाहरुले समेत प्रशंसा गर्थे ।

जङ्गलबाट ओसारेको दाउरा चिर्न, रुखको टुप्पोमै पुगेर घाँस झार्न, भिरपाखा नभनी घाँस काट्न होस् अथवा मेलापातमा लाठ्ठेहरुसँगै काँधमा काँध मिलाएर काम गर्न, चन्दिका सधैँ तयार रहन्थी ।
बलबिर बाजे र बोजुको जेठी छोरीको रुपमा जन्मिएकी चन्दिकाको न्वारनको नाम त अर्कै थियो । चन्दिका जन्मिएपछि लप्टन बलबिर बाजे बढुवा भएर क्याप्टेन भएछन् । छोरीको जन्म, आफ्नो जीवनमा चन्द्रमा उदाएजतिकै भएको भन्दै उनले छोरीको नाम चन्दिका राखिदिए ।

चन्दिकापछि लगालग चार सन्तान भएतापनि तीनजना मास छर्न गए । सबैभन्दा कान्छो सन्तान चाहिँ बाँच्ला कि भन्ने आशा गरेका बलबिर दम्पत्तिले कान्छी छोरीको नामै आशा राखिदिए । दुई सन्तानका बाउ बलिबरि बाजेलाई आमाबाबुको बारेमा सोध्दा भन्थे, “बाउआमाको अनुहारसमेत सम्झना छैन । म त हावापानी, माटोको सन्तान हुँ ।” उनको धेरैजसो समय पल्टनमै बित्थ्यो । घरमा बोजु र दुई छोरी मात्र बस्थे ।
देश खाए शेष रहन्छ भनेजस्तै बाजेले पनि समाज बुझेका थिए । पल्टनमा साथीभाइका छोराछोरीले लेखपढ गरेको देखेर आफ्ना छोरीहरुले पनि पढुन् भन्ने रहर गरे । गाउँमा भर्खरै स्कुल खुलेको थियो । छुट्टीमा गाउँ फर्केको बेला आफै स्कुलसम्मै पुगेर छोरीहरुलाई भर्ना गरिदिए । त्यतिखेर चन्दिका आठ र आशा चार वर्षकी थिई ।
स्कुलमा छात्रहरुको दाँजोमा छात्राहरु एकदमै न्यून थिए । भर्ना भएकाहरु पनि कोही हाफ्टाइममै भाग्थे । यस्तो थाहा पाएर बलिबिर बाजे निरास हुन्थे । उनले पूरा समय स्कुलमै बस्न केटाकेटीलाई प्रोत्साहन स्वरुप राम्रो पढ्ने छात्रालाई एकसय रुपैयाँ पुरस्कार दिने घोषणा गरे । उनले “बार्षिक उत्कृष्ट लगनशिल छात्रा पुरस्कार” को लागि अक्षयकोष स्थापना गरे । त्यो पुरस्कारको लोभले केही समय त छात्राहरुको उपस्थिति बाक्लै रह्यो । पछि–पछि उस्तै गरि हराउन थाले । यसमा चन्दिका पनि सामेल भई । पछि बोजुले थाहा पाइन् । धेरैपटक सम्झाईन् । अटेर गरेपछि चिठी लेखेर बाजेलाई पठाउँछु भन्ने धम्की समेत दिईन् । बाजेलाई भनिदिने डरले चन्दिका केही दिन त स्कुल जान थाली । केहीसमयपछि त्यो धम्कीले काम गरेन ।
चन्दिका मेलापात, घाँस दाउरा गर्दाका साथीहरुबीच हुने रमाइलो कुराकानी छुटेकोमा विस्मात मान्थी । ऊ भागेर उही पुरानै नियममा हिँडिहाल्थी । आफ्नो मिलोमत्तोमा उसले बहिनी आशालाई पनि समावेश गराउन खोजेकी थिई तर आशा पढाईमा रुचि राख्थी, नर्स बन्छु भन्थी ।
पढाईमा अल्छी भएतापनि घरधन्दामा नामी थिई चन्दिका । गाउँलेहरु भन्थे, “छोरीमान्छे भएर जन्मिएपछि कि गफ जान्नुपर्छ कि सिलाईबुनाई जान्नुपर्छ ।” चन्दिका यी दुवै गुणले भरिएकी थिई ।
चन्दिकाको जीवनमा सबैथोक ठिकठाकै चलिरहेको थियो । अचानक एकदिन उसकी आमा, बिरामी परिन् । बिहानसम्म हिँडडुल गरिरहेकी बोजु झाडापखालाले लखनतरान भईन् । गाउँघरको ओखतीमुलोले पनि पार लाउन सकेन । बिस्तारै थला परिन् । धामीझाँक्री, वैद्य, डक्टर लगाए । अहँ सञ्चो हुनुको सट्टा बोजु गल्दै गईन् । गाउँलेहरुले बाजेलाई चिठी लेखेर खबर पठाए । चिठी पठाएको दुई महिनापछि बाजे घरमा टुपुल्किए । अघिपछि आँगन, चोटाकोठा गरिरहने बोजुलाई नदेखेर बाजेले सुस्केरा भरे । बाउलाई देखेर दुई छोरीहरु चिच्याउँदै रुन थाले । बाजेले धेरै बेरसम्म छोरीहरुलाई अङ्गालोले बेरिरहे ।
लामो बाटो सँगै हिँडेर गन्तव्यमा पुगौँला भन्ने सहयात्री बीच बाटोमै छुटेको थियो । सँगै डुल्ने, उड्ने ढुकुरको जोडीमध्ये एकलाई गुलेलीले प्याट्ट हानेर मारेपछि झोक्राउने ढुकुरजस्तै उदास भए बलबिर बाजे । उनले छोरीहरु आफैले स्याहारेर हुर्काउने मनसायले पल्टन नफर्किने निर्णय गरे ।

आशाको त्यान्द्रो बोकेर धरान झरेकी आशा आइएड सकेर बिएड भर्ना भई । पढाईकै क्रममा सहपाठी प्रभातसँग प्रेममा परी । जातभात मिल्ने भएकोले प्रभातका परिवारले सुन्दर फूल आफ्नो बगैँचामा सजाउने रहर गरे । रितभात पुर्याएर आशाको हात मागे । बलबिर बाजे पहिले त मानिरहेकै थिएनन्, “घरमा जेठी छोरी हुँदाहुँदै कान्छीको बिहे गर्न मिल्दैन ।”
चन्दिकाले नै बारम्बार सम्झाएपछि बाजे तयार भए आशाको बिहे गरिदिन तर शर्तसहित । शर्त बिहेपछि पनि आशालाई पढाउनुपर्छ भन्ने थियो । प्रभातका परिवार राजी भए । त्यसपछि धुमधामसँग बिहे भयो । बिहेपछि प्रभात र आशा धरानमै बसे । चन्दिका र बाजे गाउँमा उही पुरानै दैनिकीमा फर्किए ।

“अब तँ पनि बिहे गर चन्दिका । तेरो घर बसेको हेर्न पाए प्राण पनि सजिलै जानेथियो ।” बलबिर बाजे प्रत्येकजसो दिन यही कुरा दोहोर्याईरहन्थे ।
“जन्मेहुर्केको घर त बिहेपछी आफ्नो हुन्नँ । पराईको घर झन कसरी आफ्नो घर हुन्छ ? बरु बिहे नै गर्दिनँ । भ्रम नै सही, यही हो मेरो घर भनेर बाँचुला ।” चन्दिका जवाफ दिन्थी । ऊ मरिगए पनि बिहे नगर्नेमा प्रतिबद्ध थिई । अब त बिहे गर्ने उमेर पनि घर्किसकेको थियो । त्यसमाथि चन्दिका बोजु बितेपछि एक्लो भएको बाजेलाई एक्लै छोडन् चाहन्नथी । ऊ बाजेको उदासी तोड्न हरसम्भव कोशिस गर्थी । तर उसका सारा प्रयासहरु खेर जान्थे । जतिखेरै उदासी व्याप्त रहने घर उसलाई घरजस्तो लाग्दैनथ्यो ।
“मान्छेको उपस्थितिले मात्रै घर नहुने रहेछ । घर हुनलाई त कहिलेकाहीँ आँगनमा उमङ्गको भाँडाकुटी खेल्नुपर्दो रहेछ । सिकुवामा  बातचितको गुन्द्री ओछ्याउनु पर्दो रहेछ । चुलाचौकामा एकार्काको कुराहरु भुट्नु पर्ने रहेछ । कोठाहरुको शून्यता चिर्न सक्ने चक्कु चाहिँदोरहेछ । यो घरमा न उमङ्गको भाँडाकुटी खेलिन्छ, न बातचितको गुन्द्री ओछ्याइन्छ ।” चन्दिकाको बाउछोरीबीचको शून्यता चिर्ने कुराकानीको चक्कु भुत्ते भएको थियो ।

बाजे त दिनभर कताकता हराईरहन्थे । चन्दिका आफ्नै दैनिकीमा व्यस्त हुन्थिन् । कहिलेकाहीँ आशाको आगमनमा घरको शून्यता चिरफार हुन्थ्यो । दुईचारदिनलाई घर घरजस्तो हुन्थ्यो । आशाको निगमनपश्चात पुरानै माहोल दोहोरिन्थ्यो ।
मन सन्चो नभएसी तन त्यसै त्यसै बिरामी हुँदोरहेछ । बाजेको हालत पनि त्यस्तै भयो । आठ वर्षपछि बोजु गएकै बाटो बाजे गए । बाजेको मराउ कार्जे सकेर आशा घर फर्किई । अन्ततः चन्दिका एक्लै भईन् ।
अँध्यारोलाई चिर्न सके मात्रै पनि एक धर्को उज्यालोले पनि आकार लिन सक्दो रहेछ । चन्दिका पनि अँध्यारो चिर्ने प्रयत्नमा लागी । जीवनमा नयाँ आयामहरु थपिदैँ गयो । एकदिन उनलाई निम्तो आयो, आफैँ पढेको स्कुलको ।
नयाँ शैक्षिकसत्रमा भर्ना अभियान, करार शिक्षक स्वागत कार्यक्रम साथै तीसौँ ‘बार्षिक उत्कृष्ट लगनशिल छात्रा पुरस्कार’ का संस्थापकलाई सम्मान गरिने कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा अतिथिको रुपमा चन्दिकालाई पनि निम्त्याईएको थियो । कार्यक्रममा प्रमुख अतिथीको रुपमा जिल्ला अध्यक्ष उपस्थित थिए । सभापतिको आसनमा थिए, भर्खरै प्राध्यापकको जिम्मा पाएको सुयोग । साइनोले सुयोग चन्दिकाको भाइ पथ्र्यो । तिनीहरुबीच तँ तँ र म म चल्थ्यो । त्यसदिन चन्दिकाले बाजेको सट्टामा सम्मानपत्र थापिन् । सम्मानपत्र थाप्दै गर्दा बाबुप्रति गर्वले चन्दिकाको छाती ढक्क फुलेको थियो ।
एकदिन बिहानिपख सुयोग चन्दिकाको घरमा देखा पर्यो । चन्दिका गोठमा गाईवस्तुलाई सोत्तर ओछ्याउँदै थिई ।
“कताबाट आइस् बिहान बिहानै ? चन्दिकाले सोधी ।
“एउटा सल्लाह गर्नु थियो ।” सुयोग भन्यो ।
“कस्तो सल्लाह हो भन न ।” चन्दिका उत्सुक भई ।
“मेनुका काकी धरान झर्ने रे उपचार गर्न । स्कुलमा स्टाफ पनि बढेको छ । मेनुका काकी नफर्किउन्जेल स्टाफहरुलाई दिउँसोको खाजा तिमीले बनाईदिन्छौ कि ? भनेर सल्लाह गर्न आएको नाना ।” सुयोगल भन्यो ।
“एउटा ज्यान छ । कता कता भ्याउनु ? भ्याउँदिन हौ । अरु कसैलाई भन है ।” चन्दिकाले भनी ।
“खै कसलाई भन्नू ? दिउँसो एक घन्टा जति हो । बरु यतै तिम्रै घरमा बनाउ । चारपाँच मिनेटको बाटो हो । हामी यतै आउँला । त्यति गरिदेउ न हौ नाना ।” सुयोगले अनुरोध गर्योे ।
“कोन्तौ ।”
“लु भर परेँ है नाना ।”  सुयोग ढुक्क भएर बाटो लाग्यो ।

भोलिपल्ट चन्दिकाले सरमिसहरुको लागि खाजा बनाई । दिउँसो एकबजे सुयोग अरु शिक्षकहरुलाई लिएर चन्दिकाको घरमा पुग्यो ।
“चन्दिका नाना वहाँ चाहिँ हाम्रो अंग्रेजी पढाउने नयाँ सर । रवि राई । घर धरान । अनि वहाँ चाहिँ गणित पढाउने रमेश श्रेष्ठ सर । काठमाडौको । रमेश सर यहाँ आफन्तकहाँ बस्नुहुन्छ । रवि सरचाहिँ हाम्रो स्कुलको अफिसपछाडिको कोठामा बस्नुहुन्छ ।
लगभग अठ्ठाइस उनन्तीस वर्षजतिका देखिने ती दुई नयाँ शिक्षकलाई सरसर्ती हेरेर चन्दिाकाले खाजा दिई ।
“यो सुयोगको करले खाजा बनाएकी हुँ । फुर्सदै हुँदैन । तपाइँहरुको नाम बिर्सिन्छु होला । के के पो सम्झिनु ? बरु खाजा दिन बिर्सुलाँ । याद गर्नुहोला ।” चन्दिकाले एउटा दाँत पनि नदेखाई ठट्टा गरी र भान्सामा पसी ।
चन्दिकाको आधा बुुझिने आधा नबुझिने कुराले शिक्षकहरु ट्वाल्ल परे ।
“सुयोग भाग लगाईदिएकी छु । लगेर दे है ।” चन्दिकाले भान्साबाटै सुयोगलाई भनी ।
सुयोगले भान्साबाट खाजा भकाभक ओसारेर दियो र अन्तिममा आफू खान बस्यो ।
“खोई कस्तो पो भयो होला ? लामो समयदेखि एक्लै पकाउने खाने गरिराछु । एक्लो ज्यान स्वाद पनि एक्लै हुँदो रहेछ । कस्तो भयो पत्तै नपाईने । मन परे मलाई भन्नुहोला । मन नपरे तपाईँहरुको हेडसरलाई भन्नुहोला । त्यसपछि के गर्ने उसैले बुझ्छ ।” चन्दिकाले प्रतिक्रिया मागी ।
सबैले एकैपटक ‘मीठो छ’ भने । रवि सर हाँसिरहे । सुयोगले केही बोल्नै परेन ।

………….

स्कुलमा बर्षे बिदा सुरु भयो । चन्दिकाले पनि खाजा बनाउने काम बाट बिदा पाई । वर्षामास उसै पनि व्यस्त समय । खेतबारीको कामले बिहानबेलुका फुर्सदले खान समेत पाईदैँन । चन्दिकाले राहतको सास फेरी किनकी यसपालिको खेती सुयोगले खेती उकासिदिने भयो ।
बर्षा सकियो । स्कुलसँगै चन्दिकाको खाजा बनाउने काम पनि सुरु भयो । पहिलो दिन रवि सर बाहेक सबै उपस्थित थिए । रवि सरलाई नदेखेर चन्दिकाले भनी, “होइन मैले बनाको खाजा त्यति नमिठो थियो र ! अंग्रेजी पढाउने नयाँ सर स्कुलै छोडेर भाग्नुभएछ ।”
चन्दिकाको कुरा सुनेर सबै गललल हाँसे ।
“होइन नाना सरको जरुरी कामले आउन सक्नुभएन । भोलिदेखि आउनुहुन्छ ।” सुयोगले कारण बताइदियो ।
“ए मैले त भागेछन् पो भन्ठानेकी ।” चन्दिकाले अझै रेला गरी ।
भोलिपल्ट रवि सर आएपछि चन्दिकाले फेरि रेला गरी, “सर त आउनुभएछ । मैले त खाजा नमिठो भएर भाग्नुभएछ भन्ठानीराकी ।”
जवाफमा रवि सर मुसुक्क मुस्कुराए । खाजा खाएर सबै पढाउन गए । स्कुल छुट्टी भएपछि रवि सर एक्लै चन्दिकाको घरमा देखा परे ।
“लौ खाजा साह्रै मीठो लाग्यो क्या हो हाम्रो सरलाई ? फेरि आउनुभएछ । बेलुकी त खाजा बनाउन सक्दिनँ है ।” चन्दिकाले रवि सरलाई जिस्क्याई ।
“होइन मिसलाई धरानको कोसेली ल्याइदिएको थिएँ । त्यही दिन आएको । खाजा पो दिउँसो बनाउनु भयो । साँझ त खानै बनाउनुहुन्छ होला नि !” रवि सर बल्ल खुले ।
“म मिस चाहिँ कसरी ?” चन्दिकाले हाँस्दै सोधी ।
“के भनेर बोलाउँ त ? नाना भन्न मन लाग्दैन । बहिनी तपाईँ होइन ।” रवि सर वाचाल देखिए । चन्दिका मौन भई । कोसेली दिएर रवि सर फर्किए ।
स्कुल दुईमहिना चलेपछि दशैँतिहारको लामो विदा हुने भयो । चन्दिकाको पनि विदा हुने भयो ।
“बेतलबी विदा हुने भयो होइन मेरो ?” चन्दिकाले खाजा खाने बेला हाँस्दै भनी । रविले भन्यो, “मिस अब एक महिना घरतिर हुने भईयो । तपाईँको हातको खाजा खुब सम्झना आउनेछ ।”
“ए, तेतिविघ्न मन परेको भए हातवाली नै लैजानु न सर ।” चन्दिकाले रवि सरलाई उल्याई । रवि सर असमञ्जमा परे । सरमिसहरु चुपचाप भए ।
………….

काखे नानी र लोग्नेलाई लिएर चन्दिकासँग दशैँ मनाउन आशा आइपुगिन् । वर्षाको समय परेकोले आशा सुत्केरी हुँदा चन्दिका धरान ओर्लन सकिन । चन्दिकाले त्यतिबेला गर्न नपाएको स्याहार गरी । दिदीबहिनीले सुखदःखका गफ गरे । कतिपय शब्दले कतिपय आँशुले । दशैँ सकेर आशाका सन्तान फर्किए । तिहारमा चन्दिका एक्लै भई । भाइटिकाको भोलिपल्ट साँझपख चन्दिका भान्साको तयारी गर्दै थिई । बाहिर कसैले बोलाएजस्तो लागेर निस्किई ।
आँगनमा रवि सर थिए ।
“लौ स्कुल त पर्सीबाट मात्रै होइन ? तपाईँ त आजै आउनुभएछ ।” चन्दिकाले अचम्म मानी । रवि सर चुपचाप उभिईरहे ।
“केही बिशेष कामले पो यति छिटो फर्कनु भयो कि सर ?” चन्दिकाले फेरी सोधी । रवि सर हलचल नगरी चुपचाप उभिईरहे ।
“ह न सरलाई त भुतप्रेतले भेट्यो कि क्या हो ? केही बोल्नु हुन्न । धामीझाँक्री लाउनुपर्छ कि क्या हो ?” चन्दिकाले अलिक चर्कै आवाजमा भनी ।
“तपाईँले झारफुक गरे मात्र ठीक हुन्छु होला मिस ।” बल्ल रवि सरको बक फुट्यो ।
“कसो अरे सर ?” चन्दिाकले नबुझेझैँ गरी ।
“हिँड्ने बेलामा तपाईँले भन्नुभएको वचनले म राम्ररी निदाउन सकिनँ । चाडबाडमा हिँडिहाल्न नमिलेर मात्र । नत्र अस्तिनै आइसक्थेँ । हिजो बहिनीको हातको टिका थापेँ । आज बिहानै बस चढेँ ।” यति भनेर रवि सर फर्किए । रवि सरको कुराले चन्दिका निशब्द भई । भान्सामा नपसी सिधै सुत्ने कोठामा पसी । झगडा गरेर हिँडेको निद्रा फिटिक्कै आएन । छटपटीमै रात वित्यो ।

……………

चन्दिकाका दिनहरु उसैगरि दोहोरिन थाल्यो । खाजा बनाउन, खुवाउ । रवि सरको उपस्थितिले भने कताकता असहज भएको महशूस गरी चन्दिकाले । हरेक साँझ रवि सर चन्दिकाको घरमा टुपुल्किन्थ्यो, एकछिन् टहलन्थ्यिो अनि फर्किन्थ्यो । त्यसरी एक्ली स्वास्नीमान्छे भएको घरमा साँझपख त्यो पनि प्रत्येकजसो दिन लोग्नेमान्छेको उपस्थिति गाउँसमाजको आँखामा बिझाइहाल्थ्यो । मान्छेका मनमा विभिन्न शंका उब्जाउन काफी हुन्थ्यो ।
एकदिन चन्दिकाले सम्झाउन खोजी, “हेर्नुस रवि सर मैले त तपाईँलाइ ख्यालठट्टा पो गरेकी थिएँ, तपाईँ हात धोएर मेरो पछि लाग्न थाल्नुभयो । यसरी एक्ली स्वास्नीमान्छे भएको घरमा आइरहनु उचित हुन्न । तपाईँ त एकदिन यो गाउँ छोडेर गईहाल्नुहुन्छ । बस्नुपर्ने त मैले हो यहाँ । मलाई यही गाउँ समाज चाहिन्छ । मेरो कुरा बुझ्नुस् ।”
“तर मिस म गम्भिर छु । म पनि एक सामान्य परिवारको मान्छे हुँ । परिवारको जिम्मेवारी बोकेर हिँडेको छु । तपाईँ मेरो कुरा किन बुझ्नुहुन्नँ ?” रवि सरले गुनासो गरे ।
“गैरजिम्मेवार हुनुहुन्छ भनेकी होइन । तर यो धरानजस्तो शहर होइन । सानो गाउँ हो । यहाँ वरतिर परितिर के भइराछ भन्नेमा सबैले चासो राख्छन् । यतिका वर्ष इज्जत धानेर बसेकी म तपाईँकै कारण बद्नाम हुन चाहन्नँ ।” चन्दिकाले अत्तो थापी ।
“कसरी बद्नाम हुन्छ ? म तपाईँलाई प्रेम गर्छु । बिहे गर्न चाहन्छु ।” रवि सरले पनि ढेप कसे ।
“प्रेम ! त्यो पनि मजस्तीसँग ? हेर्नुस् मैले धेरै पढेकी त छैन, तर यत्ति कुरा बुझ्छु, तपाईँ र मेरो कतैबाट पनि मिल्ती छैन । म परेँ गाउँले, सावाँ अक्षर मात्र फुटाल्न सक्ने, त्यसमाथि तपाईँभन्दा जेठी । यस्तो बेमेल बिहे बेमेल पाङ्ग्रा हालेको गाडीजस्तो हुन्छ । कुनैपनि समय दुर्घटना हुन सक्छ ।” चन्दिकाले अहिलेसम्म मनमा गुम्स्याईराखेको भावना छताछुल्ल पोखिदिई । रवि सरले बल्ल चन्दिकाले किन आनाकानी गरिरहेकी रहेछ भन्ने बुझ्यो र भन्यो, “उमेरले प्रेम गर्न कहिल्यै रोक्दैन । हामीबीचको उमेरको अन्तर मलाई स्वीकार्य छ । रह्यो म बढी पढेलेखेको तपाईँ कम पढेलेखेको कुरा । यस्तो कुराले केही फरक पर्दैन । तपाईँ आफैँमा सक्षम हुनुहुन्छ ।  खेतीपाती,घर व्यवहार धान्नुभाछ । अरु सामु हात पसार्नु परेको छैन । आत्मनिर्भर हुनुहुन्छ । जति नै पढेलेखे पनि एउटी स्वास्नीमान्छेमा हुनुपर्ने विशेषता यही हो । यतिको मान्छेले कहिल्यै कसैको अगाडि स्वाभिमान बन्धक राख्न पर्दैन ।”
यसो भनिरहँदा रवि सर निकै दार्शनिक देखिए । त्यसपछि चन्दिका चुप भइैन् । बोल्दै बोलिनन् । राती अबेर भइसकेकोले रवि सर फर्किए ।

……………

चन्दिकाले रवि सरसँग बोल्न छोडिदिई ।
तर बोल्न छोड्दैमा हल्ला चल्न छोडेन । दुईमध्ये कुनै एकलाई देखे गाउँलेहरु एकआपसमा मुखामुख गर्थे । खाजा खाने बेलामा दुईजनाको क्रियाकलाप नियाल्थे सरमिसहरु ।
एकदिन चन्दिकाकी साथी बन्दनाले मुखै फोरी, “ओई चन्दिका तँ र रवि सरबारे गाउँमा खुब हल्ला चलेको छ । उमेरको ख्याल नगरी तँ निकै मत्ताइएकी छेस् रे । तलार्इँ खुब बैंश चढ्या छ रे ! भन्छन् ।  खास कुरा के हो ?”
चन्दिकालाई जवाफ दिन मन लागेन । कतिलाई स्पष्टिकरण दिदै हिँड्नु ? त्यस रात पनि चन्दिकाको आँखामा निद्रा परेन । अबेरसम्म के के सोचिरही ।
…………..

स्कुलको बार्षिक परिक्षा सकियो । पछिल्लो बर्ष भन्दा त्यस बर्ष अङ्ग्रेजीमा विद्यार्थीहरु नतिजा राम्रो आएको थियो । सुयोगले रवि सरलाई धन्यवाद दिए । नयाँ शैक्षिक सत्रमा पनि त्यहीँ बसेर पढाउनुपर्छ भने । रवि सर मुस्कुराई मात्र रहे । उनी स्कुलबाट सिधै चन्दिकाको घरतिर लागे । निकैदिन भइसकेको थियो, ऊ चन्दिकाको घर नगएको ।
यतिका दिन रवि सर नआउँदा चन्दिकाको मनमा छटपटी चलिरहेको थियो, एकदुईदिन आँगनमा चारो टिप्न आएर हराएको पन्छीझैँ रवि सर कता हराए ? भन्ने कौतुहलले डेरा गरेको थियो । कि आफ्नो वचनले रवि सरको मनमा चोट पुग्यो कि ! वार्षिक परीक्षा पनि सकियो । रवि सर घर पो गए कि ! ऊ मणि हराएको नागजस्ती लल्याक्लुलुक् भएकी थिई । जसरी बार्षिक परीक्षा सकिएको थियो त्यसरी नै चन्दिकाको मनमा प्रश्नहरु निखार्दै रवि सर टुपुल्किए ।
“मिस भोलि म घर जाँदैछु । अब तपाईँलाई दुःख दिन आउँदिनँ । म फर्किन्नँ । यहाँ मेरो लागि केही बाँकी छ जस्तो लाग्दैन ।” रवि सरले सिकुवामा पनि नउक्लिई भने र फर्किए । चन्दिका अवाक् उभिरही ।

त्यसरात सपनामा चन्दिका घना जङल भित्र हराई । जङ्गल बाहिर निस्कने बाटो खोज्न थाली । यताउता भौंतारिई । जता गएपनि घना जङ्गल सकिदैँनथ्यो । चिच्याएर गुहार मागी । अहँ कसैले सुनेन । रात पर्दै गयो, झन्झन् आत्तिई । ऊ डरले रुन थाली । अचानक कसैले उसको हात समायो । चन्दिकाको ढुकढुकी बढ्यो । हात समाउने मान्छे को हो भनेर ठम्याउन खोज्दैथिई, ऊ बिउँझिई ।
ओछ्यानमै पल्टेर सपनामा हात समाउने मान्छे को थियो भनेर सम्झिन खोजी । बादलको पर्दा च्यातेर घाम हाँसेजस्तो त्यो मान्छेको हँसिलो अनुहार उसको आँखा अगाडि आयो, त्यो अनुहार रवि सरको थियो ।

***

प्रतिक्रिया

सम्बन्धित खवर