-सराेज ‘सर्वहारा’

मेरो कानसम्म आईपुग्ने
बाको प्रेमिलो आवाज मिसिएको
बतास बहँदैन यहाँ,

बिस्तरामै सुम्सुम्याउन पुग्ने
आमाको काखको जस्तै न्यानोपन लिएर
घाम पनि आउँदैन,
प्रियाको आकृती  बनेर
मेरै कोठाको झ्यालबाट
मलाई नै जिस्काउन आउने जूनले पनि जिस्क्याउँदैन

यो मेसिनको शहरमा

यहाँ ममता छर्केर हाँस्दैनन् बेलि चमेलि र मख्खलीहरु
गाउँदैनन् चराहरुले शान्तिको गीत
यहाँ त मेसिनको कर्कस आवाजसँगै ब्युझन्छन् मानिसहरु
र, मेसिनसँग मेसिन बराबर गतिमा चल्छन्

बर्खामा शरीर रसाएर निस्केको झर्नाले
आफै नुहाउँदा समेत सितलता हम्किँदैनन्  चौतारीहरु

कतिबेला बिहान हुन्छ र कतिबेला रात पर्छ
पत्तो नभएको  पनि वर्षौ भएछ ।
यो मेसिनको शहरमा मेसिनसँग खेल्दाखेल्दै खै कतिबेला म पनि मेसिन भएछु ।

यो मेसिनको शहर हो साथी
यहाँ मान्छेले मेसिन चलाउँदैनन्
मेसिनले मान्छे चलाउँछ ।

***

प्रतिक्रिया

सम्बन्धित खवर