– ईश्वर पोखरेल

चाँदनीसंग भेट भयो ।
दुब्ली । खिनौटी । कपाल पनि फुलेछन् ।

अफिसबाट निस्किदै थिएँ; ढोकैमा रहिछे । मैले के चिन्नु! उसैले चिनी ।

अनि हातमा समातेर छेउतिर तानी र भनी— ‘ओइ, मोरी! मलाई चिनिनस् ?’

चाँदनी स्कुले साथी हो— मेरी । राम्री र चञ्चल ।

१२ क्लास पढ्दापढ्दै हिमालसंग भागेकी हो ।

त्यसपछि आजै भेट भयो ।

उसलाई भेटेपछि मनमा दबे जस्तै भएका धेरै सवालहरू तँछाडमछाड गर्दै सतहमा आए ।

भागी बिहे गरेको पाँच महिना पनि पुग्दानपुग्दै गर्भ आएछ । पहिले ख्याल गरेनछन् । पछि ‘आमाको ज्यानको जोखिम हुन्छ; नगर‘ भनेछ डाक्टरले ।

हिमाल गर्भपतन गराउन जोड दिने ।
यो नमान्ने ।

सुत्केरी हुनुअघि नै भागेछ— हिमाल । फेरि फर्किदैंफर्केनछ ।

छोरो जन्माइछे : विकलाङ्ग !

चाँदनीले यी सबै कुरा नरोईकन भनी ।

चाँदनीले दुःखको कुन भङ्गालो तरेपछि रुन छाडी होली ? कि, गहमा आँसु सक्किएपछि छातितिरबाट हुँडुलिएर उठ्ने हिक्क हिक्क पनि सकिन्छ ?

***

प्रतिक्रिया

सम्बन्धित खवर