
– महेन्द्रमान बलामी
१,
बेहोसीको सुई दिई जलाउनेले मुक्ति पाए,
जलाएर मान्छे भट्टा चलाउनेले मुक्ति पाए,
गणतन्त्र नराम्ररी किनबेच भएपछि,
निजि स्वार्थ भित्रभित्रै फलाउनेले मुक्ति पाए।
२,
यदुवंशी सखाप भो भिडी आपसमा,
मुसलले नराम्ररी गिँडी आपसमा,
आज पनि लोकतन्त्र यस्तै देख्छु म त,
अधोगतितिर भ्रष्ट हिँडी आपसमा।
३,
झुकाएर शिर कठै ! बस्नुपर्ने दिन आयो,
झोलीतुम्बा बोकी कतै पस्नुपर्ने दिन आयो,
खुलेआम आफ्नै मान्छे भ्रष्टाचारी भइदिँदा,
नजरको डिलबाट खस्नुपर्ने दिन आयो।
४,
माथिकाले भनेपछि मान्छन् तलकाले,
लाख अनि करोडौँ नि हान्छन् तलकाले?
संरक्षक, संरक्षित बाँडफाँड गरीगरी,
रिझाएर सत्ताधारी खान्छन् तलकाले।
५,
न्याय हिजै मर्यो अरे !लास देख्न बाँकी छ,
अन्याय नि मर्यो भन्ने आस देख्न बाँकी छ,
भन्दै बुढापाकाहरु निराशामा छन् कतै,
भन अब कुन्नि कस्तो खास देख्न बाँकी छ?
***
प्रतिक्रिया
-
४