प्रसिद्ध कवि उमननाथ शास्त्री सिन्धुलीयका सुपुत्र कवि, कथाकार, उपन्यासकार, सम्पादक प्रोलास सिन्धुलीयका दर्जन हाराहारिमा किताब प्रकाशित भएका छन् । प्रज्ञाप्रतिष्ठानबाट आयोजना हुने राष्ट्रिय कविता महोत्सवमा स्वर्णपदक बिजेता सिन्धुलीयको भर्खरै बागबजार बोल्दैन कथा सङ्ग्रह प्रकाशित भएको छ। यसैको सेरोफेरोमा सम्पादक जीवन खत्रीले गरेका पाँच प्रश्न र कथाकारको जवाफ;
१) ‘बागबजार बोल्दैन’ कथासङ्ग्रहका लागि यहाँलाई बधाई तथा थप शुभकामना ! यो सङ्ग्रहको बारेमा छोटकरीमा परिचय गराइदिनुहोस् न !
– बधाई र शुभकामनाका लागि धन्यवाद छ । यस सङ्ग्रहमा २० वटा कथा छन् । भुँडीपुराण प्रकाशन, बागबजारले प्रकाशन गरेको यो किताब २३२ पृष्ठको छ र ४७५।– रुपियाँ मूल्य राखिएको छ ।
२) तपाईं लेखन र सम्पादनमा उत्तिकै सक्रिय हुनुहुन्छ । लेखनमा पनि काव्यमा आफ्नो विशेष नाम बनाउनुभएको कवि हुनुहुन्छ तर आख्यानलाई पनि सँगै लगिरहनुभएको छ । खासमा एउटा सफल कविलाई आख्यानतिर जान किन आवश्यक पर्ने रहेछ ? के हो रहेछ आख्यान ?
– झट्ट हेर्दा कविता बिक्दैन, त्यही भएर कविहरू आख्यानतिर लागेका होलान् जस्तो देखिन्छ । अरूको बारेमा म यसै भन्न सक्दिनँ, भन्नु पनि हुँदैन । म भने ‘कविता नबिकेर’ आख्यानतिर लागेको होइन । मेरा कविताले जेजति बजार लिएका छन्, त्यसलाई भेट्टाउन होइन, पछ्याउन पनि मेरा आख्यानलाई हम्मेहम्मे पर्छ भन्नेमा म प्रस्टै छु । जत्ति नै बिक्दै बिक्दैनन् भने पनि कविता जति पढिन्छ, त्यसको एक छेउ पनि आख्यान पढिँदैन । मेरो एउटा कवितासङ्ग्रह बजारमा आइसक्दा त्यसभित्रका अधिकांश कविताले बजार पिटिसकेका हुन्छन् । तर, आख्यानमा त्यसो हुँदैन । कवि मञ्जुलले उसबेलै भन्नुभएको थियो, ‘हेर प्रोल्लास, कथा, निबन्ध, उपन्यास जे होस्, कविले गद्य पनि लेख्नुपर्छ । गद्य लेखेन भने उसले आफ्नो कुरा गर्नै पाउँदैन ।’ यो कुरा सिकारु अवस्थामै मेरो मनमा गहिरोसित गढ्यो । मैले कवितासँगै गद्यमा पनि लेख्दै गएँ । तर, मेरा कविताले जतिजति चर्चा पाउँदै गए, गद्यलेखन उसरी नै ओझेलमा पर्दै गयो । मैले पनि जेमा धेरै स्याब्बासी पाइयो, त्यतै बढी समय दिँदै गएँ । पछिल्लो चरणमा भने म यस्तायस्ता मुद्दामा आएर अड्किएँ कि यो विषयलाई कविता बनाएकै भरमा मैले न्याय गर्न सक्तिनँ भन्ने लागिरह्यो । अनि, आख्यानको हाँगो समातेँ । जस्तो कि मेरो ‘गाउँको वृद्धालय’ कविता ‘शून्य डिग्री’ उपन्यासभित्रकै एक कथा थियो ।
३) यहाँलाई लामो समयदेखि किताब सम्पादन र प्रकाशनमा व्यस्त भैरहेको देखेका छौँ हामीले । प्रकाशन हुनुअगावैका सैयौँ कृतिलाई छाम्नुभएको छ । ती कृतिहरूमा यो भयो, यो भएन भन्ने यहाँलाई लाग्दो हो । कति पटक त ती लेखकलाई भन्नुभयो पनि होला । आफ्नै कृतिको सकसचाहिँ कस्तो हुँदो रहेछ ? यही ‘बागबजार बोेल्दैन’लाई नै सम्झौँ न !
– प्रकाशन होइन, छापाखाना र सम्पादन मेरो गरिखाने मेलो बन्दै आयो । प्रकाशन र छापाखाना फरक कुरा हो । जस–जसका पाण्डुलिपि एउटा सम्पादकको हात पर्छन्, तिनका कमीकमजोरी सच्याउन सुझाउने वा सच्याइदिने जिम्मेवारी पनि उसैको हुन्छ । राम्रो भयो, राम्रो भएन वा कसरी राम्रो गर्ने ? यस्तो परामर्श सम्पादनको क्रममा गरिन्छ नै ! सम्पादनको काम लिँदै गर्दा मैले भन्ने गरेको छु— ‘आफ्ना रचनाको सम्पादक लेखक स्वयम् नै हुनुपर्छ ।’ लेखकले जानेन, सकेन भनेमात्र अरूको साथ लिने हो । आफ्नै कृति निकाल्दाचाहिँ ‘पहिलेभन्दा गतिलो कसरी लेख्ने ?’ यो प्रश्नले मलाई एकदमै घचघच्याइरहन्छ । ‘बागबजार बोल्दैन’ तयार पार्दै गर्दा अघिल्लो पुस्तक ‘भग्न भैरव’बाट पाएको स्याब्बासीले यस्तरी चिमोटिरह्यो कि मैले मेरो लेखनप्रति उत्साहित पाठकहरूलाई यसले निरास पार्दैन भन्ने एकिन नहुन्जेल सम्पादन गरिरहेँ ।
४) ‘बागबजार बोल्दैन’ कथासङ्ग्रह प्रकाशन हुनु सुदूरपूर्व स्कूले जीवनमा यहाँको एउटा आफ्नै कथा थियो नि दलित साथीले छोएको पानी खाएको निहुँमा उक्क–उक्क लागेको… । त्यसले पनि आजको कथाकार हुन मद्दत गरेको होला । त्यसलाई सम्झौँ न एक पटक !
– कथा लेख्ने अभ्यास जानेको मान्छेका लागि आफैँले भोगेको कथा उतार्दा कथामा ज्यान भरिन्छ, त्यो सत्य हो । तर, भोगेकै कारण कसैले कथा, कविता लेख्न सक्ने होइन । सकिन्थ्यो भने सबैभन्दा धेरै सङ्घर्ष गरेको मान्छे कथाकार बन्थ्यो, उत्पातै दुःख पाएको मान्छे कवि हुन्थ्यो । देखे–भोगेर होइन, अभ्यास गरेरै कोही गतिलो कवि, निबन्धकार, कथाकार इत्यादि बन्न सक्छ । पाँच कक्षामा पढ्दाको त्यो घटना मेरा लागि जीवनमै कहिल्यै नबिर्सने र असल मान्छे बन्न ऊर्जा दिइरहने घटना थियो ।
त्यसको कथा यस्तो छ—
‘मेरो जन्मगाउँ गैयाँटार । गाउँमुनिको फोस्रेटारमा पाँच कक्षासम्मको स्कुल थियो । म अन्तिम कक्षामा पढ्दै थिएँ । स्कुलको ठूलो चौर, स्कुल सकिएर झमक्क साँझ नपरुन्जेल हाम्रो दौडादौड त्यहीँ हुन्थ्यो । खानेपानीको अनिकाल थियो । स्कुल बन्द नहुन्जेल र पिउनदाइको गग्रेटो नरित्तिउन्जेल त चिठ्ठै परिगो, नत्र कि घरै कि घरजत्तिकै टाढाको देवीथान पँधेरो पुग्नुपथ्र्यो । खेल छाडेर कता घरतिर दौडिनु ? पिउनदाइको गग्रेटो अर्थात् अफिस बन्द हुनै लागेपछि हामी साँझसम्म पुग्ने गरी पानी पिउँथ्यौँ ।
त्यस दिन म खेलकुदमा अलिक धेरै व्यस्त थिएँ । पिउनदाइले गग्रेटो बन्द गर्न लागेको चाल पाइनँ । कसैले “ओई ! तँ पानी खाँदैनस् ?” भनेपछि हेरेँ, पिउनदाइले Šयाल लगाइसकेछन् । हतारहतार दौडिएँ र जसको हातमा लोटा थियो, त्यै समातेर एकै सासमा घटघट पिइदिएँ पानी ।
लोटा रित्याएर हेर्दा त मेरो वरिपरि साथीहरूको गलगाँड जम्मा भइसकेछ । मसँगै पढ्ने एउटा साथी झप्पड नेपाली जिल्ल परिरहेको अनि अरू मलाई खिज्याउन तयारी अवस्थामा बसेका ।
“ओई पर्लासे ! कस्ले छोको पानी खाइस् ?” कसैले सुरुवात गरिहाल्यो ।
“झप्पडेले छोको पानी खायो ! दमैले छोको पानी खायो !!” अनि सुरु भयो मलाई खिज्याउने शृङ्खला ।
पिउनदाइले पानी पिउन इच्छुक अरू जातका सक्किएपछि त्यो लोटा मेरा समकक्षी झप्पडलाई थमाइदिएका रहेछन् । मैले हतारमा उनकै हातबाट लोटा थुतेको रहेछु । अनि, आँत भरुन्जेल पिएको रहेछु पानी ।
त्यो कुरा त्यसै सेलाएन । त्यसले हामीले खेलिराखेको खेल नै बिथोल्यो । सुरु भयो मलाई जिस्क्याउने खेल । अनि, झमक्क साँझ परुन्जेल म बलिको बोको बनिरहेँ ।
‘नगर्नु गरेछु !’ बालमनले यसै भन्यो ।
साथीहरू अनवरत खिज्याइरहेका थिए । मानौँ निकै ठूलो अपराध भएको थियो मबाट । म बाहुनको छोरो, दमैले छोएको पानी खानै हुँदैनथ्यो अरे । झन् उरन्ठेउला साथीहरूको अघिल्तिर त त्यस्तो सोच्नु पनि नहुने रहेछ । हुनुसम्म आत्मग्लानि भयो । हुनुसम्म पश्चाताप भयो । त्यसको क्षतिपूर्ति कसरी गर्ने ? थाहा भएन, तर भर्खर पिएको पानी नै निकालौँला झैँ गरी थु–थु गर्न थालेँ म । शरीरभित्र गइसकेको पानी के निक्लन्थ्यो ?
साथीहरूले जिस्क्याउन पनि छाडेनन्, मैले थु–थु गर्न पनि छाडिनँ । यस्तैमा यताउता फक्र्यो, थु–थु ग¥यो, बानी नै लागेछ ।
तीन दिनपछि आमाले टोकस्नुभो, “ओई के भो तँलाई ? किन थु–थु गरिराख्या ?” मैले ‘केही भएको छैन,’ भन्न मुख बाउँदै थिएँ, साथी मोहनकुमारले प्वाक्क मुख खोल्यो, “म भन्दिऊँ ?”
आमाले उसैलाई खिरिल्याउनुभो । उसले सबै ओकल्यो ।
म निगुरमुन्टी न बनेर उभिइरहेँ । संसारका सप्पैलाई सुनाए पनि जसलाई मेरो अपराधको सुइँको दिनुहुन्नथ्यो, उहाँकै अगाडि मेरो पोल खुलेको थियो । अनि कसरी नहोस् त निगुरमुन्टी न ?
आमाले मेरो घोसे अनुहारलाई च्युँडोमा समातेर माथि उठाउनुभयो, अनि सोध्नुभयो, “अनि किन थु–थु गरेको त ?”
मैले थरथर काँपेको अनि झन्डै रुँलारुँलाजस्तो स्वरले जवाफ दिन खोजेँ, “दमैले छोएको……..!”
आमाले टोकसो गर्नुभयो, “किन ? दमैले छोएको पानी तैँले खान किन नहुने ? त्यो तीतो थ्यो ? कि कीरा परेको थ्यो ?”
मैले पुलुक्क आमाको अनुहारतिर हेरेँ, आमा साँच्चै रिसाउनुभएको रहेछ । अनि, पिच्च थुकेँ उसै गरी ।
आमाले कसिलो झापड मेरो देब्रे गालामा बजार्नुभयो । म रनाहा परेर दुई फन्का घुम्दै आँगनमा पछारिएँ । तिरिमिरी झ्याइँ देखेँ । आँखावरिपरि पूरै अँध्यारो घोलियो ।
घोप्टो परेछु । आमाले नै उठाउनुभयो । बिस्तारै आँखा खुले । हेरेँ, आमाको अनुहारको रिस पूरै उत्रिसकेछ । कुरा लगाउने मोहनकुमार कुन सड्को, त्यहाँबाट सुइँकुच्चा ठोकिसकेछ ।
त्यस दिन निकै अबेलासम्म आमाले मसँग गन्थन गर्नुभयो । आमाले त्यसरी कहिल्यै मसँग गन्थन गर्नुभएको थिएन । मैले पहिलोचोटि मेरो बुबा कस्तो हुनुहुन्थ्यो, उहाँको मुखबाट सुनेँ । म जन्मिनुभन्दा छब्बीस वर्षअघि नै दुई हजार आठ सालमा दमाई, कामीलाई भान्से लगाएर सहभोज गराउने बुबाको छोरो रहेछु म । मेरो घरको मूल भान्सामा सुँगुर र राँगोको मासु पाक्ने गरेको त्यसै होइन रहेछ । आमाले सिरुबारी दमिनी आमैलाई “खानेभए यीँ भित्रै आऊ, कुकुरलाई जस्तो बाहिरचैँ म दिन्नँ,” भन्नुभएको पनि त्यसै होइन रहेछ ।
आमा रोएको मैले देखेको थिइनँ । देखेकै भए पनि ख्याल गरेको रहेनछु । त्यस दिन मज्जाले रुनुभयो । बुबा सम्झेर रुनुभयो कि मलाई पिटेकोमा रुनुभयो कोनि ! तर, बेस्सरी रुनुभयो ।’
५) ‘बागबजार बोल्दैन’ भन्नुभयो । बागबजार नबोले पनि तपाईं बोलिदिनुस् कि पाठकले यो कृति किन पढून् भन्ने लाग्छ ?
– तपाईं–हामीले लेखेका किताब पढ्नै पर्ने बाध्यता कहीँ–कसैलाई हुँदैन । किनकि, पाठ्यक्रम भए पो विद्यार्थीले अनिवार्य पढ्नै पर्थ्यो, पढेर, बुझेर जाँचै दिनुपर्ने हुन्थ्यो ! कसैको लेखनीले तान्यो वा कोही अब्बल लेखक हो भन्ने छाप पर्यो भने बल्ल किताबतिर हात जाने हो । यसर्थ ‘पढ्नै पर्छ’ होइन, ‘पढ्दा राम्रै होला’ सम्म हामीले भन्ने हो । अर्को कुरा, सिर्फ ‘कवि’को रूपमा बनेको मेरो परिचयमा ‘भग्न भैरव’ उपन्यासले केही फेरिदिएको छ अर्थात् मैले आख्यानका पाठक निकै कमाउन पाएको छु । ‘भग्न भैरव लेख्नेले लेखेको किताब’ भनेरै पनि केही पाठकको हात यो किताबतिर अवश्य जानेछ । बल्लतल्ल कमाएको पाठकलाई निराश हुन मैले कुनै पनि हालतमा दिनुहुन्न भन्नेमा म एकदमै सचेत रहेँ । त्यसो त यस सङ्ग्रहको शीर्षकथा ‘बागबजार बोल्दैन’ मा मैले ‘जन्मजात बाहुनको विज्ञप्ति’ कवितामा उठाएकै मुद्दा उठाएको छु । यसभित्र केही यस्ता कथा पनि छन्, जुन लेख्दै गर्दा मलाई लागिरहेको थियो— ‘मैले लेखिनँ भने यो कथा कसैले लेख्ने छैनन् !’ मैले मेरो बुद्धि, वर्कतले भ्याएसम्म गतिलो, खँदिलो बनाउने यत्न गरेको छु । यो कत्तिको पढ्नलायक बन्यो ? अब त्यो पढ्नेले नै भन्नुहुनेछ ।
***
प्रतिक्रिया
-
४
