कवि तथा कथाकार राजबाबु श्रेष्ठ सागर, पिता पूर्णबहादुर श्रेष्ठ र माता तेजमाया श्रेष्ठका सुपुत्र हुन् । उनको वि.सं. २०५७ सालमा उपन्यास ‘बन्द फ्रेमभित्रको चिठी’ २०७७ सालमा कवितासङ्ग्रह ‘हराएका छोराहरू’ र मुक्तकसङ्ग्रह ‘देशको चिना’ प्रकाशित छन् । भर्खरै उनको कथासङ्ग्रह ‘फिर्दोसको साँचो’ प्रकाशित छ । यसै कृतिको सेरोफेरोमा रहेर सम्पादक जीवन खत्रीले कथाकारलाई गरेका पाँच प्रश्न र कथाकारको जवाफ;

 

प्रश्न नं. १ – ‘फिर्दोसको साँचो’ कथा सङ्ग्रहको बारेमा छोटकरीमा परिचय गराइदिनुहोस न् ।

उत्तर – यो कथा सङ्ग्रहभित्र दशवटा लामा-लामा कथाहरू सङ्गृहीत छन् । र ती कथाहरू नितान्त फरक कन्टेन्टमा लेखिएका र नितान्त फरक नवीन प्रयोगात्मक वाद र सिद्धान्तका किनाराहुँदै कहीँ सस्पेन्स, कहीँ थ्रिलर र कहीँ हरर् र कहीँ यौनमनोविग्यानका स्वेरकल्पनाका पखेटाद्वारा विचरण गर्दै एक पूर्ण उपन्यासभित्रको चलचित्रझैँ दृश्याङ्कन हुँदै सलल उपन्यास शैलीमा बगेका छन् ।

 

प्रश्न नं. २ – ‘फिर्दोसको साँचो’ नाम अलि नवीन लाग्यो । यो साँचोले नेपाली कथाको कुन सन्दुकको ताल्चा खोल्छ ? 

उत्तर – हो, यो ‘फिर्दोसको साँचो’ शीर्षक आम पाठकहरूका लागि नितान्त नौलो नाम नै हो । किनभने यो नाम शुद्ध अरबीक शब्द हो । जसको अर्थ हुन्छ स्वर्ग । अझ यसलाई अरबीमा भन्ने हो भने ‘जन्नतूल फिर्दौश’ (स्वर्गको बगैँचा) भनिन्छ ।

यो साँचोले न स्वर्गको ढोका खोल्छ न त सन्दुकको ताल्चा नै खोल्छ । तर यसले के खोल्छभन्दा, लैङ्गिक विभेद, जातीय विभेद, नारी उत्पीडन, छुवाछुत विभेद, छोरै जन्मिनुपर्छ भन्ने असामाजिक विभेद र अनेकन ईश्वरवादी आदिआदि रूढिवादी चिन्तनहरूले खिया लागी जाम परेका ग्रस्त असझदारीका सन्दुकका ताल्चा खोल्ने काम भने अवश्य गर्छ ।

 

प्रश्न नं. ३ – नेपाली कथामा के चिज थप्नु पर्छ भन्ने लाग्यो र यो सङ्ग्रह आयो ?  अझ यहाँ कविता पनि निरन्तर लेखिरहेको कवि, कवितामा के चिज लेख्न सक्नु भएन र कथामा पोखिन मन लाग्यो ? 

उत्तर – अचेलका पाठकहरू नै लेखक छन् र लेखक नै पाठक छन् । त्यसकारणले गर्दा पाठकहरू नितान्त सचेत छन् र बौद्धिक पनि । अब पुराना शैलीले लेखिएका कथाहरू र उपन्यासहरूले पाठकहरू वाक्कदिक्क भएर उल्टि आउने अवस्थामा पुगिसकेका छन् ।

त्यसकारणले गर्दा पनि पाठकहरूका लागि आख्यान लेखन शैलीमा नयाँ लेखन शैली र नवीन कन्टेन्टले रसास्वादन गर्न चाहन्छन् । त्यसैले मलाई यी नवीन चिजहरू थप्नुपर्छ भन्ने लाग्यो र मेरो यो नयाँ ‘फिर्दोसको साँचो’को जन्म भयो ।

हो, बिचमा म २०७४-७६ देखि निरन्तर कविता, गीत, गजल र मुक्तक लेख्दै र सिक्दै आएको हुँ । अझै भन्नुपर्दा, २०७७ देखि म कवितामा खारिँदै आएको हुँ । अचेल म कविता सतहीमा लेख्दिनँ र मेरा कविताहरू विम्बात्मक र प्रतीकात्मक र गहिरो अर्थ दिने लेख्ने गर्छु ।

कवितामा के लेख्न सक्नुभएन र कथामा पोखिन मन लाग्यो भन्ने कुरै होइन । म त झनै कवितामा खँदिलो हुँदै आएको छु र आम सतहीमा लेखेर चर्चामा आउने कविहरूबाट आफूलाई छुट्याउँदै फरक धारमा अझै पनि आफूलाई पस्किरहेको नै छु । बरु, यहाँलाई मेरो पृष्ठभूमिको बारेमा गहिरो अध्ययन भएन कि भन्ने लाग्यो ।

म त आख्यानको विद्यार्थी र आख्यानकै पाठक पनि हुँ । २०५७ सालमा साउदी अरबीयाबाट नै मेरो ‘बन्द फ्रेमभित्रको चिठी’ शीर्षकको उपन्यास प्रकाशित भैसकेको छ । यो ‘फिर्दोसको साँचो’ कथासङ्ग्रह त २४ वर्षपछि प्रकाशित भएको हो । मैले कविता, गीत, गजल र मुक्तक त धेरैपछि सिकेको हुँ । मेरो कवितासङ्ग्रह ‘हराएका छोराहरू’को समालोचना नै नवीन विम्ब रोप्न सक्ने नवविम्बवाद कविको रूपमा भइसकेको छ ।

 

प्रश्न नं. ४ – आख्यानको एकै बसाइमा पढ्न सकिने बिधा कथासङ्ग्रह प्रकाशनका हिसाबले उच्च भए पनि गुणस्तरमा चाहिँ प्रश्न उठाउने ठाउँ टन्नै रहेको समीक्षकहरू बताउँछन् ।  त्यसैले होला अन्तराष्ट्रिय स्तरमा हाम्रा कृतिहरूको उपस्थिति प्राय शून्य रहन्छ । खासमा ककसले के के भूमिका निभाउन आवश्यक छ ?

उत्तर – आख्यानको एकै बसाइमा पढ्न सकिने बिधा कथासङ्ग्रह प्रकाशनका हिसाबले उच्च भए पनि गुणस्तरमा चाहिँ प्रश्न उठाउने ठाउँ प्रशस्तै छन् । हो, यहाँको प्रश्नमा अतिशय दम छ भन्ने मैले बुझेको छु । त्यसैले मैले यो ‘फिर्दोसको साँचो’मा नितान्त फरक शैली र फरक कन्टेन्टमा पस्किएको छु ।

कथा विधामा आधिकारिक आदरणीय डा. दयाराम श्रेष्ठज्यूजस्ता व्यक्तिहरू पनि अतिशय प्रभावित भई समीछा लेखिसकेका छन् र् समालोचनाहरू लेख्दैछन् । मलाई लाग्छ, यहाँले पनि शीघ्र नै समाजिक सञ्जाल र अनलाईनहरूमा पढ्न पाउनुहुनेछ ।

अब रह्यो अन्तराष्ट्रिय बजारमा नेपाली साहित्यहरू शून्य रहेका छन् भन्ने सवालमा म कत्ति पनि सहमत छुइनँ । बरु हाम्रा राम्रा नेपाली साहित्यहरू अन्तराष्ट्रि साहित्यहरूभन्दा उच्च नै छन् भन्ने मैले बुझेको छु । यही त हामी र हाम्रा बुझाइमा गलत छन् ।

हामीले हाम्रा साहित्यलाई अन्तराष्ट्रिय बजारमा प्रोमोट् नै गर्न सकेका छैनौं । केवल हाम्रा दिमागमा अङ्ग्रेजी साहित्य उच्च छन् भन्ने बुझेका छौं र त्यसैको प्रशंसाको डमरु बजाउने गर्छौं ।

म त भन्छु, हाम्रा केही नेपाली कवि र कविताहरू र आख्यानमा केही उपन्यासकारहरू र उपन्यासहरू अन्तराष्ट्रिय बजारको भन्दा पनि निकै सशक्त रूपमा जन्मिसकेका छन् । तर ती साहित्यकारहरू र साहित्यहरूलाई अन्तराष्ट्रिय स्तरमा पुर्याउने पहल खोइ हाम्रो राज्य र देशले गर्न सकेको ? भनेर प्रश्न गर्नूस् न यहाँले ।

सुन्छु, अब त मधुपर्कले पनि यही वैशाख अङ्कदेखि साहित्यका कुनै पनि रिभ्युहरू नछाप्ने निर्णय गरिसकेछ । छाप्नै परे सातहजार बराबरको विग्यापन लेखकले ल्याउनुपर्ने बाध्यता हाल प्रधान सम्पादक त्रिभुवनचन्द्र वाग्लेज्यूले मलाई फोनमा अवगत गराउनुभयो ।

अब यहाँले नै मलाई भन्नूस्, यसरी सरकारबाटै नेपाली साहित्यलाई डढेलो लाउन थालेपछि, अनि ! कसरी नेपाली साहित्य अन्तराष्ट्रिय बजारमा हाँगा हाल्न सक्छ त ? मलाई लाग्छ, यहाँलाई मेरो यत्ति उत्तर काफी हुनेछ ।

 

प्रश्नन नं. ५ – यो पुस्तक नपढेका पाठकलाई के के कारण पढ्नूस भन्नुहुन्छ ? 

उत्तर – अहिले हल्लाको डमरु बजाउने प्रकाशक र लेखक दुवैबाट ठगिएर निदाइरहेका पाठकहरूका लागि भने मेरो यो ‘फिर्दोसको साँचो’ नितान्त एक सन्देश मूलक र आख्यानिक मनोरञ्जनात्मक पठनीय पुस्कतको क्याप्सुल बनेको हुनाले पनि मेरा आदरणीय सम्पूर्ण पाठकवर्गमा एकपल्ट अवश्य पढिदिनुहुन हार्दिक अनुरोध गर्दछु ।

***

 

प्रतिक्रिया

सम्बन्धित खवर