– सुरेश राई

सन् २०१६ मा कोरिया आउँदा कम्पनीमा १३ कामदारहरू र थप दुई वृद्ध आमाहरू हुनुहुन्थ्यो । पछिसम्म पनि मैले उहाँहरूको नाम भने सोध्ने चेष्टा कहिले गरिनँ । कम्पनीका कसैलाई पनि ठीकसँगले उहाँहरूको नाम सायदै थाहा हुँदो हो । बोलाउने नाम ‘सिक्ताङ आमा’ र ‘सासाङ आमा’ छँदै थियो । त्यसरी नै काम चल्दै आएकै थियो ।

कम्पनीका १४ जना कामदारहरूका निमित्त बिहानी,दिवा र रात्रि खाना तयार गर्नु ६८ वर्षीय सिक्ताङ आमाको काम थियो । भान्साघरमा चाहिने मालसर्दाम किनमेलदेखि, मीठो पकाइतुल्याइ गरेर टिलिक्क जुठा भाँडावर्तन माझ्नुसम्म उहाँको दायित्व भित्र पर्दथ्यो । कोरियन भाषामा भान्सा घर, होटल वा मेसलाई सिक्ताङ भनिन्छ । सिक्ताङको सम्पूर्ण जिम्मेवारी उहाँको हुनाले उनलाई सिक्ताङ आमा भनिएको थियो । भने अर्की ७० वर्षीय सासाङ आमाको काम सासाङ गर्नु थियो । सासाङ गर्नु भनेको उत्पादित वस्तुबाट अनावश्यक भाग काटेर फ्याँक्नु वा केलाउनु हो । बत्तिको उज्यालोमा स-साना मेसिनको अघि कुर्सीमा बसेर टुकुटुकु गरिने सासाङ एक हलुका तर ज्यादै नै झ्याउलाग्दो काम हो । सासाङ आमा हप्तामा पाँच दिन यही पट्यारिलो काम गर्थिन् ।

सिक्ताङ आमाले मलाई ‘मोङ्गोल’ भनेर बोलाउनु हुन्थ्यो । म कसरी मोङ्गोल भएँ मलाई नै थाहा थिएन । गोरो-चिम्सो मंगोल जाति झैँ देखिएकोले हो कि जस्तो लाग्छ । अर्कोतिर सासाङ आमालाई भने आफ्नो अंग्रेजी ज्ञानप्रति गर्व थियो । उहाँले सिक्ताङ आमालाई होच्याउने हेतुले एक दिन प्याच्च भन्नु भो ‘मोङ्गोल मात्रै भन्नु हुन्न । मिसुथ मोङ्गोल (मिस्टर मोङ्गोल) भन्नु पर्छ । विदेशीहरूसँग बोल्दा त पुरुषहरूलाई मिसुथ (मिस्टर) अनि महिलाहरूलाई मिसु(मिस) लाउनु पर्छ । यत्ति पनि थाहा छैन ?’

सासाङ आमाको ढाड कुप्रो थियो । आँखा चिम्सा थिए । ओठमा हलुका गुलावी लिपस्टिक कहिल्यै टुट्दैन थियो । चश्मा लगाउनु भएको मैले कहिले देखिनँ । सायद दृष्टि दुरुस्त थियो । अंग्रेजी मिसाएर बोल्नु पर्थ्यो उहाँलाई । कसैले तैयारीकफी पेपर कपमा फिटेर दियो भने ‘तेङ्क्यू बेरी मोचू(थ्याकं यु भेरी मच)’ भन्नुहुन्थ्यो र खट्खट खट्खट चलिरहेको मेसिन एकछिन रोकेर कफी पिउन थाल्नु हुन्थ्यो । सिक्ताङ आमा कम उचाईवाली हुनुहुन्थ्यो । सफा सुग्घर भएर चिटिक्क परेर बस्नुहुन्थ्यो । बेलाबेला म उहाँले चश्मा लगाएको पनि देख्थेँ । सायद दृष्टि कमजोर हुँदै थियो । टिभी हेर्नु र हाँस्नु उहाँको प्रमुख सोख थियो ।

यी दुई बूढीहरूबीच मेलमिलापसँंगै नोकझोंक पनि चलिरहन्थ्यो । उनीहरूको त्यो  ‘क्युट नोकझोंक’ मलाई ज्यादै प्रेमील लाग्थ्यो । भने ठुस्काठुस्की घोचपेच पनि त्यत्तिकै  चलिरहन्थ्यो । सासाङ आमा सिक्ताङ आमालाई अंग्रेजी पटक्कै नआउने कुराले उडाउँथिन् भने सिक्ताङ आमा मौका मिल्यो कि ‘थोरै चराले जति भात खान्छौ । छिट्टै मर्छौ होला अन्नी(दिदी)’ भन्दै व्यङ्ग्य गर्थिन् ।

कहिलेकाहीँ उहाँहरूको बोलचाल बन्द समेत हुने गर्थ्यो । त्यस्तो अबस्थामा उहाँहरू अलग्गै टाढा टाढा बसेर भात खाइरहेका हुन्थे र हामीले थाहा पाइहाल्थ्यौँ कि फेरि बोलचाल बन्द भएछ भनेर । तुरुन्तै अर्को दिन सिक्ताङ आमाले सासाङ आमाको गोडा मिचिदिरहनु भएको देखिन्थ्यो । तुरुन्तै अर्को साँझ सासाङ आमाले भान्छा थन्कोमन्को गर्न सघाइरहेको देखिन्थ्यो । तुरुन्तै अर्को कुनै क्षण सिक्ताङ आमा चिच्याइरहेकी सुनिन्थिन्

‘अन्नी ! तिम्रो फेबरेट गीत टिभीमा आयो । मेरो कोठामा झट्टै आइहाल त !’

उहाँहरूबीचमा अर्को लफडा हुन्थ्यो को राम्री देखिएको छ भन्ने विषयमा । चिम्टीले कसलाई ज्यादा सुहाएको छ ? मोजा कसका राम्रा? टुथपेष्ट कसका महङ्गा ? कपाल कसका कम फुलेका ? आदिइत्यादी । मलाई सौन्दर्यसँग सम्बन्धित उहाँहरूको मनमुटाव सबैभन्दा ‘क्युट’ लाग्थ्यो । अनि जब आइतबार आउँथ्यो उहाँहरू टक्क छत्रे टोपीमा जुत्तामोजा ठोकेर, पन्जा र सनग्लास लाएर ढाकी बोकी मिन्दुल्लेको साग टिप्न नजिकैको खेत र जंगल चाहार्न निस्कन्थे ।

उहाँहरूबीच अर्को प्रतिस्पर्धा भनेको कसका छोराछोरीले आफूलाई बेसी माया गर्छ भन्ने विषयमा हुन्थ्यो । मेरी छोरीले किन्देको ब्याग हो यो ; मेरो छोराले दिनैपिच्छे फोन गर्छ मलाई ; मेरी बुहारी त यस्ती जाती छे ; मेरो ज्वाईं त ठूलो व्यापारी हो ; मेरी माहिली छोरी अमेरिकामा छिन् नि ! आदिइत्यादी ।

आज सम्झेर ल्याउँदा हृदय चिमोट्ने कुरा के छ भने लामो बिदा हुँदा उहाँहरू दुबैजना सार्वजनिक बस चढेरै आफै घर जानु हुन्थ्यो । न उहाँहरूलाई कसैले लिन आएको देखियो न पुर्याउन आएकै देखियो । उसोभए सन्तानको कुन प्रेमको प्रतिस्पर्धा गरिरहनु भएको थियो त उहाँहरू ? सोच्दा मन भारी भएर आउँछ ।

पछि कम्पनीले कम्पनीभित्र भान्साघर नचलाउने निर्णय गर्यो । हाम्रो खानाको व्यवस्था टोलमा भर्खरै खुलेको नयाँ होटलमा हुने भयो । त्यसपछि सिक्ताङ आमाको जागीर गयो । लगत्तै अर्को महिना सासाङ गर्न पर्ने कामको विभाग पनि बन्द भयो । तब सासाङ आमाको पनि जागीर गयो । यसरी उहाँहरू दुबै जना पालैपालो हामीसँग छुट्टिएर जानु भयो । त्योबेला उहाँहरूको फोन नम्बर समेत राखिएनछ । कस्तो अचम्म ! पछि सोध्दा कम्पनीको मालिकसँग समेत फोन नम्बर रहेनछ । थकथकी लागिरह्यो ।

सन् २०१९ मा त्यसरी जानुभएका दुई आमाहरू पक्कै पनि आफ्नो बुढेसकाल राम्ररी बाँचिरहनु भएको छ होला । म यही प्रार्थना गर्न चाहन्छु । त्यसैपनि कोरियनहरू औसत रूपमै लामो आयु बाँच्ने गर्छन्  । र यो पनि प्रार्थना गर्न चाहन्छु कि उहाँहरूबीचको सम्पर्क नटुटेको होस् । चाहे त्यो फोनसम्पर्कमै सीमित किन नहोस् ।

म यदाकदा कहिलेकाहीँ उहाँहरूलाई सपनामा देख्छु । सन् २०१६ देखि तीन वर्ष हामीलाई लगातार खुवाउनुहुने सिक्ताङ आमालाई बडो द्रवीभूत भई झुकेर अभिवादन गर्दै ‘खुदोङआन खोमाब्सुम्निदा (त्यस अबधिभरको लागि धन्यवाद)’ भनिरहेको हुन्छु । उज्याली हँसिली सासाङ आमालाई चाहिँ उहाँलाई मन पर्ने उहाँकै अंग्रेजी शैलीमा

‘तेङ्क्यु पेरी मोचु’ भनिरहेको हुन्छु र बिहान उठ्दा एक किसिमको अनौठो सुन्तुष्टीको अनुभूति गरिरहेको हुन्छु । सायद छुटेको आभार सपनामै भए पनि व्यक्त गर्न पाएँ नि भनेर पो हो कि ?

जिन्दगी के रहेछ ? थोरै माया-मोह, थोरै डाह-रिस, थोरै अहम-प्रतिस्पर्धा भएन भने के जिन्दगी गतिवान् होला त ? के बूढेसकाल हामीले अक्सर सिर्जना गर्ने गरेका भाष्य जस्तै  लोभ लालचमुक्त हुन्छ या हुनै पर्छ त ? के बूढाबूढीले कोरीबाटी चिटिक्क परेर बस्नु हुँदैन र ? के उनीहरूले अनुहारको मेकअप या अन्य शृङ्गार गर्नु हुँदैन त ? अथवा के उहाँहरूलाई नक्कल पार्न मन लाग्नु अस्वभाविक हो त? के बूढाबूढी हुनु भनेको मन रित्तो पार्नु हो त ?

मैले यी दुई आमाहरूलाई भेटेर के थाहा पाएँ भने त्यसो बिल्कुलै होइन । मानिस सन्त या जोगी हुनलाई बूढो भएको होइन । शारीरिक असक्तता अर्कै कुरा हो । तर मननिर्मित जिन्दगी त अर्कै कुरा हो । मलाई मन छ जब म सत्तरी या असीको हुनेछु । म पनि हाफ पाइन्ट,कलरफुल टिसर्ट,ब्रान्डेड चश्मा, नाडीमा चाँदीको ब्रासलेट लगाएर  थाइल्यान्डका समुद्री किनाराहरूमा घुमूँ । म पनि गल्लीहरूमा स्ट्रीट फुड खाँदै अंग्रेजी गीत सुनूँ र मनमनै घरी घमण्ड गरूँ, घरी अर्को साथीको ईर्ष्या गरूँ । घरी कुनै साथीलाई फोन गरेर हेपूँ

‘ओई थापा, तेरो फेसबुकको फोटोमा जम्मा पचास लाइक आएछ बुझिस्? जम्मा पचास लाइक । हा..हा…जम्मा पचास लाइक !’

***

प्रतिक्रिया

सम्बन्धित खवर