
उपन्यासकार जयराम तिमल्सिना बेथानचोक-२, काभ्रेपलाञ्चोकमा जन्मेका हुन् । प्रिन्टङ, डिजाइन र प्रकाशन क्षेत्रमा कार्यरत तिमल्सिना लामोसमयदेखि विभिन्न संघसंस्थामा आवद्ध रही साहित्यिक कर्म समेत गर्दै आएका छन् । उनको केही अघि मात्र धीमहि उपन्यास बजारमा आएको छ । यही उपन्यासका बारेमा उपन्यासकारसँग सम्पादक जीवन खत्रीले गरेका पाँच प्रश्न र उपन्यासकारको जवाफ;
१, धीमहि उपन्यासका लागि यहाँलाई बधाई तथा थप शुभकामना । यो कृतिका बारेमा छोटकरीमा परिचय गराइदिनुहोस् न ।
हार्दिक धन्यवाद । धीमहि सामाजिक विषयवस्तुमा आधारित आख्यान हो । यसलाई अत्माद्वन्दका कारक तत्त्वहरू र द्वन्द व्यवस्थापनका लागि गरिएको आख्यानिक खोज भन्दा पनि हुन्छ । मित्रता, नाता र सम्बन्ध, समय र उमेर सँगै आउने परिवर्तनहरू यस उपन्यासका मूख्य आधार हुन् । मूख्य विषय चाहिँ स्वकेन्दित नै हो । अथवा आफैँतिर फर्किएका प्रश्न हुन् ।
२, धीमहि गायत्री मन्त्रको एक शब्द हो । सबैभन्दा धेरै जपिने भनिने गायत्री मन्त्रको उद्गमक्षेत्रमा हामी छौँ । तर धेरैलाई धीमिहि शब्दको भार थाहा नहुनसक्छ, यसको भार र उपन्यासमा जोडिने सन्दर्भ बताइदिनुस् न ।
खासमा मनको लहड नै भनौँ । नाम खोज्ने क्रममा तीन अक्षरको नाम जो सबै अक्षर पूर्ण उच्चारण हुने शब्द होस् भनेर सोचेँ । सोही अनुसारको खोज पनि भयो । धीमहि शिर्षक बनाउन त ठूलो मिहेनत लागेन । किताबको नामकरण पछि नै शब्दको अर्थ खोज्ने र त्यसको गरिमालाई बुझ्न कोशिस गरेको हुँ ।
अर्थको रूपमा भन्नुपर्दा धीमहिको एउटा मात्र अर्थ नहुने रहेछ । जसरी ॐ को अर्थमा व्यापकता छ यस्तै धीमहिको अर्थमा पनि व्यापकता रहेछ । अझ कति धेरै अर्थ मैले बुझ्नै बाँकी छन् ।
धीमहि – धारण गर्नु /ध्यान गर्नु /
धीमहि – धीःउज्यालोऽ महिः स्थान
धी – धिरताको स्वरूप
धी – शान्ति को प्रतीक
महि- जमिन/ स्थान/ठाउँ/भूमि
समग्रमा आफैँतिर फर्कनु हो भन्ने लाग्यो मलाई । यसका पात्रहरूमा कहीँ न कहीँ सोही अनुसारका प्रवृत्ति, चिन्तन, व्यवहार देखापर्दछ । एक पात्रले यही मार्गको अनुशरण गरेका पनि छन् । यिनै कुरालाई विचार गरेर पाठकलाई नै समाख्याता बनाउँदै यो आख्यान तयार पारेँ । अब म कति सफल भएँ भन्ने मूल्याङ्कन गर्ने जिम्मा पाठकलाई नै !
३, पूर्वीय दर्शन परम्पराको क्षेत्र व्यापक छ भनिन्छ तर त्यसको व्यापकता, वास्तविक प्रभाव, शास्वत सत्यको गहिराई हामी पूर्वीयले कम बुझेको कि सतही ढङ्गले मात्र व्याख्या भएको हो । उपन्यास लेख्दै गर्दा तपाईँले अध्ययन गरी बुझ्नु भएको पाटो र आजको पूर्वीय समाजको यथार्थ के छ?
आफूले अनुशरण गरिआएको दर्शन बुझ्दै नबुझ्ने भन्ने त हुँदैन । तर त्यसको महत्त्वलाई हामीले कति आत्मसात् गर्न सक्यौँ र आफूले अनुशरण गरिआएको मार्गलाई कति महसुस गर्न सक्यौँ भन्ने नै मूल प्रश्न हो । यसको जवाफ हरेकले सोच्ने हो भने तपाईले भन्नुभएको शास्वत सत्यको गहिराई सजिलै भेटिन्छ ।
पूर्वीय दर्शन भन्दा पनि जीवनको गरिमालाई आत्माबोध गर्नुपर्छ भन्छु म त । हामीले हाम्रो आफ्नै जीवनको गतिलाई कति महसुस गर्न सक्यौँ भन्ने कुरा नै मूख्य हो । जीवन शून्यदेखि शून्यसम्मको यात्रा; अझ भनौँ ! शून्य हुनु भनेको समाप्त हुनु हैन, शून्यबाट सुरु हुनु हो । हाम्रो हरेक पल नयाँ जीवन बाँच्न सुरु गरेको समय हो । बाँचिरहेको समय शून्य रेखामा छ ।
यस उपन्यासमा पूर्वीय दर्शनका ती तमाम कुरा महसुस गर्न पाठकलाई नै छाडिदिएको छु । मलाई जीवन लेख्न मनपर्छ । सोही अनुरूप केही लेखेँ, केही आफ्नै कुरा लेखेँ, केही आफ्नै बिरुद्ध पनि लेखेँ । आफूतिर फर्किएका प्रश्न अनुत्तरित नै छाडेको छु । जसको जवाफ हरेक पाठकले आफैँ महसुस गर्नु नै हुनेछ । मैले पाठकलाई पनि पुस्तकमा मेरै स्थानमा राखेको छु ।
४, पूर्वीय दर्शनलाई आधार मानेर पश्चिमाहरू धेरै अघि बढे भनिन्छ । उनीहरूले हाम्रै वेद गीतालाई मनन गरेर आजको चरम विकासको फड्को मारे भन्ने पनि सुन्छौँ । खासमा तेस्तै हो कि ? पश्चिमा र पूर्विय दर्शनको तालमेल छ छैन वा छ भने कहाँनिर छ ?
विश्वका अधिकांश मान्छे वेखुस् छन् । निराशाको गहिरो बादलले ढाकेको छ । भौतिक प्रगति र आधुनिकताले मान्छेको मनलाई खुसी राख्न नसक्ने कुरा सायद घोषणा हुन मात्र बाँकी होला ।
मलाई थाह छैन विश्वको भौतिक प्रगतिमा पूर्वीय दर्शनका ठेलि कति काम लागे …। मलाई यो जान्न पनि मन छैन । मान्छे भत्काउने र मेसिन बनाउने आधुनिक युगले शान्ति र धीरताको गम्भीर अर्थ लगाउँछ र यसको खोज गर्दैछ भन्नेमा नै शङ्का छ मलाई । मानव जीवन, मानवीय आचरण, शान्ति र धीरता पूर्वीय दर्शनको केन्द्रविन्दुमा नै भेट्छु म त ! तर हामीले भन्ने गरेका पश्चिमाहरूमा यही कुराको अनुशरण सबैभन्दा कम भइरहेको छ । मैले भन्ने कुरा पनि धेरै कम छन् ।
मैले माथि नै भनिसकेँ भौतिक प्रगतिले मान्छेलाई कति खुसी राख्नसक्यो … आफैँलाई सोध्न पर्ने छ । आफ्नो जीवनको तालमेल सायद हामी आफैँले मिलाउने हो । दर्शनका पानाहरूले धेरै कुरा पक्कै सिकाउँछन् । तिनलाई अध्ययन गर्नुपर्छ । तर जीवन बाँच्ने र जीवनको तालमेल मिलाउने जिम्मेवारी त स्वयम् आफ्नै भागमा आउँछ । यति मात्र भनौँ ।
५, आजको पुस्तालाई हतार हतार लेख्नुछ र रातारात हिट लेखक हुनुछ । तपाईँ किताबकै नजिक वर्षौँ रहनुभयो र भर्खर आफ्नो किताब प्रकाशन गरि आउनुभयो । कतिले त तपाईँलाई लेखक सोचेका समेत् थिएनन् । खासमा तपाईँले यो किताब के कारण पाठकसम्म पुग्नुपर्छ भन्ने सोच्नुभयो र प्रकाशित भयो?
सबैको आआफ्नै इच्छा हुने गर्दछ । भाइरल युगको असर छैन भन्ने कुरा पनि हैन । सायद ममा भनेँ हिट हुने मोह केही कम भयो की जस्तो लाग्छ । मोह नै नभएको भन्ने चाहिँ हैन । जीवन बाँच्ने क्रममा जसरी जीवनको लय हुन्छ, किताबको पनि उस्तै लय हुन्छ भन्ने महसुस गरेको छु । किताबको पनि आफ्नै जीवन र आयु हुन्छ नै ! किताब कारखानामा हुँदा यही कुरा महसुस हुनुपुग्यो र किताबले आफ्नो पूर्ण आकार बनाउन लामो समय लाग्यो ।
हरेक लेखकलाई धेरैभन्दा धेरै पाठकमाझ आफ्नो किताब पुगोस् भन्ने हुनु स्वभाविक नै हो । ममा पनि त्यो चाहना भरपुर छ ।
यस किताबमा मैले नितान्त नयाँ केही लेखेको छैन । खासमा समाजभन्दा बाहिर र मानव चेतनाभन्दा माथि केही छैन । लेखेको छु त समाज र मानव जीवन, जसलाई मैले देखी-भोगी आएका घटनाहरूको चेत समेटेको छु र आफ्नै बिरुद्ध केही प्रश्न गरेको छु । हुनसक्छ ती प्रश्नहरू पाठकका पनि साझा हुनसक्छन् अथवा फरक मत राख्न पनि सक्नुहुन्छ ।
यो प्रश्नको जवाफ पूरा भएन सायद । बाँकी पाठकहरू आफैँ बुझ्नुहुन्छ । धन्यावाद !!!
***
प्रतिक्रिया
-
४