– रोमा लम्साल नूरा

खोला किनारमा थियोे
एउटा बडेमानको रूख

खोलाले
बिस्तारै रूखको जरा खोतल्यो
जरा वरिपरिको माटो बगायो
माटोको आड नपाएपछि
गर्ल्याम्म ढल्यो रूख
र खोलालाई झ्याम्म हिर्कायो
बाँध सम्झेर हो कि कुन्नि
खोला एकछिन उभियो
बग्ने ठाउँ नपाएर रूख नै बगायो

निकै तल पुगेपछि
छेउ लाग्यो रूख

किसानले रूख काट्यो
र हलो बनायो

सिकर्मीले रूख काट्यो
र दराज बनायो

कसाईले रूख काट्यो
अचानो बनायो

कालिगडले रूख काट्यो
र घोडा बनायो


न किसान, न सिकर्मी, न कसाई
न कुनै कालिगड
म त केवल दाउरा चिर्न जानेको मान्छे
मैले रूख काटें
बनाएँ चिताका लागि दाउरा
र जलाएँ आर्यघाटमा असंख्य मानिसहरूको लास

त्यतिबेला
दाउराले कसैलाई सोधेन
तिम्रो थर के हो ?
तिम्रो धर्म के हो ?

ए मानिस !
मैले तिम्रो हातमा बञ्चरो, बसुला
आरा थमाईदिएँ भने
जीवनरुपी यो रूखबाट तिमी के बनाउँछौ ?

कुनै घरको झ्यालढोका
या आफ्नै लास राख्ने बाकस ?

***

प्रतिक्रिया

सम्बन्धित खवर