लालभित्ती मोरङका नवराज पोखरेल नवशिला हाल काठमाण्डौ मुलपानी बस्नुहुन्छ । नेपाली मुक्तक लेखनमा साधनारत उहाँको भर्खरै शिलाजीत नामक मुक्तक सङ्ग्रह प्रकाशित भएको छ । यसै कृतिको सेरोफेरोकमा सम्पादक जीवन खत्रीले नवशिलालाई गरेका पाँच प्रश्न र  उहाँको जवाफ;

१. शिलाजीत सङ्ग्रहको बारेमा छोटो परिचय गराईदिनु न ।

– शिलाजित मेरो दोश्रो एकल कृति हो।  यस सङ्ग्रहमा मैले २०८० साल असोज ४ गते देखि २०८१ साल जेठ १० गते सम्म लेखेका ४४४ ओटा मुक्तकहरु सङ्ग्रहित छन्। मैले हरेक दिन ४ मुक्तक लेखेको छु भने प्रत्येक पृष्ठमा एकैदिन लेखिएका ४ मुक्तक राखेर यो कृति प्रकासन गरेको छु।

२. नेपाली साहित्यमा मुक्तकको अवस्था के छ? मुक्तक किन पढिनुपर्छ?

– अहिले नेपाली साहित्यको क्षेत्रमा मुक्तक बिधा निक्कै अगाडी छ। २०७० सालको पोखरामा भएको मुक्तकको सम्मेलन र त्यहा प्रस्तुत भएको घोषणापत्रले मुक्तकलाई छुट्टै प्रारूपमा एउटा स्थापित साहित्यको बिधा समेत बनायो जस अनुसार अहिले मुक्तक निक्कै पठनिय र लेखनिय बिधाको रूपमा छ। मुक्तक ४ हरफमा लेखिन्छ तर त्यो चार हरफनै पूर्ण काव्य हो जसले विश्व ब्रमाण्ड बोल्न सक्छ। माया प्रेम तथा समाजका हरेक पक्षलाई छोटो तर चोटिलो रूपमा अभिब्यक्त गर्न सक्ने सामर्थ मुक्तकमा हुन्छ। यो केहि सेकेण्डमा नै पढ्न सकिन्छ तर त्यस्तो भाव अभिब्यक्ति भने कुनै एउटा कथा या उपन्यास बरावरको हुन्छ त्यसकारण पनि पढ्नु पर्छ भन्ने लाग्छ।

३. शिलाजित औषधिय गुण भएको खाद्य पदार्थ हो । यहाँको शिलाजितले मुक्तक मार्फत उठाउन खोजेको मुद्दा के के हुन्?

– शिलाजित मेरो कृतिको बिम्ब नाम हो। जसरी कडा चट्टान घामको रापले पग्लिएर शिलाजित बन्छ त्यसरीनै शव्दभाव हरु पग्लिएर मेरो शिलाजित कृतिको जन्म भएको छ। मैले खास दार्शनिक चिन्तनको अंशलाई ब्यहवारमा उतार्न सकिन्छ भन्ने शन्देश दिनपनि कृतिको नाम शिलाजित राखेको हुँ। निरन्तरताको सङ्घर्षबाट प्राप्त हुने सफलता, छाडातन्त्र माथी प्रहार, अन्याय र अत्यचार बिरुद्धको आवाज, श्रमबाट सम्बृदि गर्न सकिने चिन्तन, प्रेम र सद्भावले दुनियाँ बदल्न सकिने सन्देश आदि बिषय बस्तुलाई मैले यो कृति भित्रका रचना मार्फत उजागर गर्न खोजेको छु।

४, मञ्चमा सुन्दा चस्स पार्न सक्ने र वाह वाह बटुल्ने विधा भए पनि बौद्धिक जमातमा खासै चर्चा नहुने र पाठ्यपुस्तकमा पनि पढ्न नपाईँने किन होला?  के गर्नुपर्ला?

– खासमा अग्रजहरुले मुक्तक बिधाको उत्थानकालागि जे जति गर्नु भयो त्यो प्रयाप्त भएन। अहिले आएर समकालिन तथा नव सर्जकहरुमा मुक्तक प्रतिको मोह ह्वात्तै बढ्यो। साच्चैनै मञ्चमा पुगेर वाचन गर्दा श्रोता र दर्शकले दिने ताली र सम्मानले पनि मुक्तक बिधाको प्रचार प्रसार र रुचिमा धेरैको चासो बढेको छ। अव प्रश्न रह्यो पाठ्यपुस्तकमा समावेश किन भएन भन्ने, अहिले मुक्तकप्रतिको क्रेजले के पनि बताउँछ भने अव हामीले पाठ्यपुस्तक तथा विश्वबिधालय स्तरमा पनि यो बिधालाई समावेश गर्नुपर्छ। यसकालागि अहिले मुक्तक बिधाकै उन्नयनकालागि स्थापित साहित्यिक सस्थाहरुले पनि यस बिषयमा आवाज उठाईरहेको स्थिति छ। नेपाल प्रज्ञा प्रतिष्ठानले समेत यस बिषयमा अहिले चासो देखाउँदै आएको पाईएको छ र हामी पनि हरेक तह तप्का र निकायमा यसबारेमा बहस गरि मुक्तकको उन्नयनको लागि आवाज उठाईरहेका छौ। हामीलाई बिश्वास छ छिट्टै यो बिधाले पनि गीत, कविता, गजल, कथा, उपन्यास जस्तै पाठ्यक्रममा समावेस पाउने छ।

५. वर्ष २०८१को अन्तिमबाट पाठकको हातमा पुगेको तपाइँको कृति पाठकले पढ्न छुटाएमा के चिज छुट्छ । जुन कारण पढ्न अनुरोध गर्नुहोस् ।

मेरो दोश्रो एकल मुक्तक सङ्ग्रह शिलाजित २०८१ साल चैत ३० गते मात्र लोकार्पण भएको हो। मैले यो कृति किन पढ्ने भन्ने बारेमा माथी ३ नम्बरको प्रश्नमापनि केहि बिषय उठाईसकेको छु। मैले कस्तो रचना सृजना गरेँ भन्ने बारेमा मैले भन्दापनि पाठक तथा समालोचकहरुले भनिदिँदा राम्रो हुन्छ। यो कृति प्रकासन गर्दै गर्दा यस भित्र समालोचनाकै शैलिमा मलाई आशिर्वचन प्रदान गर्नु भएको भाषाविद् बरिष्ठ साहित्यकार अमृतप्रसाद आचार्यको लेख तथा नेपाल मुक्तक प्रतिष्ठान कोसी प्रदेस अध्यक्ष तथा समालोचक बाबुराम पोखरेलको लेखले पनि यो कृति किन पढ्ने भन्ने बिषयलाई धनिभूत उठान गरेको छ। म केवल माध्यम मात्र हुँ कृति के कस्तो छ भन्ने त पाठकले पढेर मलाई दिने प्रतिकृयाले पनि थाहा हुन्छ। मैले यो कृति यसपाली कसैलाई पनि सित्तैमा बाढिन। कम्तिमा सर्जकलाई प्रेरणा होस् र कृति किनेर पढ्ने बानीको बिकास होस् भनेर पनि मैले यसो गरेको हुँ। साथै मेरो अक्षयकोषको अभियान पनि छ यो कृति बिक्रिको रकमबाट मैले मेरो हजुरआमाको नाममा प्रत्येक वर्ष एकजना स्रष्टालाई रु. १११११ रुपैया नगद सहित सम्मान गर्ने घोषणा पनि गरेको छु। मलाई बिश्वास छ यो अभियान को लागि पनि तपाईँहरुले मेरो शिलाजित पढिदिनुहुनेछ। धन्यवाद।

प्रतिक्रिया

सम्बन्धित खवर