ध्रुवराज थापा ‘पुरूष’

उस्लाई निक्कै छटपटी भएकोछ !
बृद्ध बा आत्तीए !  “बाबु ! ए बाबु !! के भयो ?”
उस्ले लामोलामो सास फेरिरहेको थियो । दुईहात पाखुरा कसेर बलले उचाल्ल खोज्दै थियो । उसले दाह्रा किटिरहेको थियो । केही भन्न खोज्दै थियो तर बोली थिएन ।
बाले मुख सुकेको देखेर चन्चीले मुखमा पानी राखिदिनु भयो । दाँत बेस्सरी बाधीएको भएर मुखबाट पनि बगेर बाहीर आयो ।
ऊ नबोलेको दुईदिन भैसकेको थियो ।बेलाबेलामा उस्ले खाली यस्तै हर्कत देखाउँथ्यो ।
बाले उस्लाई गाह्रो भएको देखेर अक्सिजन थोरै बढाउनु भयो । मुखमा लगाएको अक्सिजन मास्क सिधा बनाउनुभयो । पीडामा कुनै कमि देखिएन । उ केही बोल्न खोजिरहेको थियो ।

डाक्टरले उस्को छातिमा लागेको गोलीको भ्वाङ् पुरिन मुस्किल छ भनेका थिए । बाले आत्तीएर नर्स बोलाए ।

नर्सले दुखाई कम हुने सुई लगाई दिईन तर न सविनको दुखाई कम भयो न त बा को !
यसपटक  सविनले अक्सिजन मास्क थुतेर फाल्यो अनि बेस्सरी करायो, ऐया ! मरेँ !” छोराको बोली फर्केको सुनेर बा खुसी भए ।  छोरालाई सुम्सुम्याउन पुगे । तर छोराको अनुहारमा चिटचट पसिना थियो । शरीर थरथर काँपेको थियो ।

नर्स आत्तीईन ! बाले चारैतिर अन्धकार देखे !
बाले अकस्मात छोरालाई रूँदै सोधे, “बाबु ! तेरो अन्तिम इच्छा के छ ?”
छोराले ओठ थर्थराउँदै लामो सास तान्दै बल्लतल्ल आवाज निकाले ,”बाss मss यो देशमा उज्यालो भएको हेर्न चाहन्छु !”
अन्तिम वाक्यसङ्गै छोराले जिउ तनक्क तन्कायो ! बा चिच्याए ! नर्स डाक्टर बोलाउन गईन । बाले भावुक हुदै छोराको शवलाई  छोएर कसम खाए, “बाबु अब तेरो अन्तिम ईच्छा, अब तेरो यो बुढो बाउको अन्तिम ईच्छा हुनेछ !”
***

प्रतिक्रिया

सम्बन्धित खवर