
– योगेन्द्र तिमिल्सिना
प्रारम्भमा विसंगतावादी, निस्सारतावादी, अस्तित्ववादी दर्शन लिएर आएकी पारिजात मूलतः प्रगतिवादी चेत भएकी विद्रोही कथाकार हुन् । उनका प्रारम्भिक कालका कतिपय कथाहरु अकथा जस्ता अमूर्त र प्रयोगवादी छन् । साझा प्रकाशनद्वारा प्रकाशित उनको कथा सङ्ग्रह “सडक र प्रतिभा” (प्रथम संस्करण वि.स. २०३२) मा १७ कथाहरु सङ्ग्रहित छन् । ती कथाहरुमा पात्रका विसङ्गत अवस्था, अस्तित्वको निम्ति सङ्घर्ष तथा समाजमा थिचिएका, मिचिएका अवहेलित श्रमजीवीका मनोभाव र तिनका विद्रोही स्वरलाई प्रतिकात्मक ढङ्गले प्रस्तुत गरिएको छ ।
यस सङ्ग्रहको पहिलो कथा हो, ”सडक र प्रतिभा” । यस कथामा भिडभाड सडक बिचमा दुई युवा देखिन्छन् । निरुद्देश्य अल्लारिरहेका ती दुई युवा मार्फत कथाकारले समकालीन समाजको विसङ्गत अवस्थाको चित्रण गरेको देखिन्छ । पुसको महिना छ, ती दुई मध्ये एउटा पात्रले जाडोबाट बँच्न कमिजभित्र पुरानो स्वेटर लगाएको हुन्छ । प्रेमिका भेट्न जाने कुनै अर्को साथीले आफ्नो कोट लगाएर गएकोले उसले यस्तो गरेको हुन्छ । त्यस्तै त्यस साथीकी प्रेमिकाले पनि साथीको सारी सापटी लिएर लगाएको हुन सक्छ भने अनुमान सहजै गर्न सकिन्छ । कथाले निरुद्देश्य सडकमा बाटो काटेर समय बिताइरहेको युवा जमातले समाजको विद्यमान बिसङ्गत अवस्थाको चित्रण गरेको छ ।
दोस्रो कथा “प्रतीक” आफ्नो अस्तित्व नै निस्सार देख्ने निस्सारतावादी चिन्तनमा आधारित छ । यस कथामा समवेदनाहीन समाजका विवेक हराएका मानिसलाई जानवरको प्रतीकको रुपमा लिइएको छ, समवेदनशीलताहरु केवल बाहिरबाट थोपरिएको मात्र हुन्छ भनिएको छ । भोको पेट भएको र जिउ दुखेको बेला विपरित लिङ्गीको मनोविज्ञान नबुझी यौन सन्तुष्टी लिने विवेकहीन पुरुषको कार्यप्रति कथाकारको प्रतीकात्मक विद्रोह छ । मानिसका विभिन्न विसङ्गगत अवस्थाहरु प्रतीकात्मकरुपमा प्रस्तुत गर्दै “भतुवा कुकुर जस्तो नक्कल गर्ने मानिसहरुको हामीलाई आवश्यकता छ ? निसन्देह छैन ।” भनी कथा टुङ्ग्याइएको छ ।
तेस्रो कथा “नयाँ मान्छे” मा मुख्य पात्रको मानसिकता आफ्नो अपराधी बाबुको विपरित भएर पनि उसैको अनुकूल बाँच्नुपर्ने एउटा असहज अवस्थालाई प्रस्तुत गरिएको छ । विधवा बुहारीको कोठाभित्र पसेर ससुराले गरेको बलत्कार बुहारीले स्वीकार गर्नुपर्ने बिसङ्गत अवस्थाप्रति रुनु पनि निरर्थक हुनजान्छ भनी आक्रोश पोखिएको छ । यस कथामा मानवीय जीवनका वेमेल अवस्थाहरु, समाजका क्रुर र अमानवीय कर्मप्रति प्रतिशोधको सट्टा कथाकारले निरर्थक कुण्ठा पालेको र आक्रोश पोखेको देखिन्छ ।
अर्को कथा “निस्सारतादेखि” मा मानविय जीवनमा निस्सारतादेखि केही नदेख्ने कथाकारको झुसिलो डकार छ । शून्यवादी चिन्तन बोकेको यस कथामा मान्छेको देखिने रुप र यथार्थ चरित्र नितान्त भिन्न देखाइएको छ । मान्छेले एक थोक भन्छ र गर्छ अरु नै थोक । यसरी सबै मानिस निस्सार बाँचिरहेका छन् ।
कथा “सन्त्रास” मा नकारात्मक भावनाले जन्माएको पात्रको गहिरो सन्त्रासलाई छताछुल्ला पारिएको छ । प्रत्येक दिन नसाले मातिएर राति अबेर घर आइपुग्ने लोग्नेको प्रतीक्षामा बसेकी एउटी स्वास्नीमान्छेको लोग्नेप्रतिको नकारात्मक सोचले जन्माएको निस्सार भावना कतिसम्म क्रुर बन्छ भने छिमेकीले मध्यरातमा घरको तीन तला माथिबाट आफ्नो बच्चा फालेर मारेको हो भन्ने ब्यर्थ परिकल्पना समेत गर्न पुग्छ । “छेवैको पर्खालबाट निक्खर कालो बिरालो लम्केर भाग्छ”, कथाको मुख्य पात्रले आफ्नो नकारात्मक दृष्टिकोणलाई यसरी प्रतिकात्मक रुपमा अभिव्यक्त गर्दै कथाको अन्त्य भएको छ ।
अर्को कथा “विरुध्द” मा पात्र आफैँ आफ्नो विरुध्द उभिएको छ (अस्तित्वको सङ्कट) । कथामा शून्यताबोध छ । कथाको पात्र बोल्छ, “म आफ्नो चारैतिर सपाट अनुभव गर्छु, खालि खाली अनुभव गर्छु” । पात्रले आफू बाँच्नुको विरुध्द एउटा परिपाटी खोज्छ, तर त्यो एब्सट्रयाक्ट हुन्छ ।
सातौंँ कथा “डायरीको आठौं पाना” जीवनको भोगाइप्रतिको वितृष्णा र अस्तित्वको खोजीको कथा हो । लक्ष्यहीन भिडमा परिचित हुनु र नहुनुमा कुनै भिन्नता नहुने भएपछि मानिसको अस्तित्व सङ्कटमा पर्छ । बहुलाउनु र नबहुलाउनुमा कुनै अन्तर नभएपछि त्यो जीवनको विसङ्गत अवस्था हो । यही विसङ्गती यस कथाको विषयवस्तु हो । जीवन जो विसङ्गत अवस्थालाई बोकेर हिँड्छ उसैको डायरीको आर्ठौ पाना हो यो कथा ।
यस सङ्ग्रहको अर्को कथा हो, ”देवल” । यो चरम सामाजिक विसङ्गतीको कथा हो । पुलिसको हवल्दार, देवलको नाइके, साधु र रोगी जस्ता व्याभिचारीले समेत देवलभित्र यौन क्रियाकलाप गर्ने गरेको वेश्या आमाको वालक छोराले देख्नु, भोग्नु पर्ने यो चरम विकृतिको कथा हो । यो अराजकतावादी चिन्तन भएको कथा हो ।
नवौं कथा हो “यस ठाउँमा” । मानिस आफ्नै स्वभावमा बाँच्छ, यौन र प्रेम, सम्पन्नता र विपन्नता, दुःख र सुख विचको अन्तरविरोधबाट हरेक व्यक्ति उम्कन सकेको छैन । शहरका सुख, सुविधाहरु, उत्पादन र सुरक्षा प्रबन्धलाई निस्सार देख्ने यो कथा निस्सारवादी कथा हो । सबैकुरा सारहीन देख्ने यो कथा निस्सारताबोधको प्रतिनिधित्व गर्छ ।
अर्को कथा हो “अन्तरविरोध” । मानिसलाई परिस्थितिले आफ्नो बाटोमा डो¥याइरहेछ अथवा मानिसले परिस्थितिको निर्माण गरिरहेछ ! यस्तो अन्तरविरोधको समाधान मानिसले आफैँ गर्नसक्ने अवस्थाको निर्माण हुनसके मात्र द्वन्द्व समाधान हुन्छ । परिस्थितिलाई आफू अनुकूल बनाउनु नै अन्तरविरोधको समाधान हो । यो कथा व्यक्तिको राम्रो र नराम्रोका बिचको अन्तरविरोधकै कथा हो ।
सेक्स र स्वास्नीमान्छे, जीवन र मृत्यु, अनुमान र यथार्थ, आस्था र अनास्था, समस्या र समाधानका बिचको अन्तरविरोधको फलाको यस कथाको विषयवस्तु हो ।
असन्तुलित व्यक्तित्वलाई पालेर अन्तरविरोध ओकल्दै कथा (अकथा ) अघि बढ्छ र विसंगत अवस्था सिर्जना गर्दै अन्त्य हुन्छ ।
एघारौँ कथा हो, “रात” । शहरको विकृतिजन्य चिन्तनबाट पात्रको आफ्नै अँध्यारो कोठामा पनि अर्को एउटा कालो आकृति देखिन्छ (डेरा, शहरको विम्ब ! ) । शहरप्रतिको अराजक प्रतिक्रियाबाट असङ्गत बोली र व्यवहारको सिर्जना हुन्छ । जीवनमा कुनै सार्थक कुरा नदेख्ने असन्तुलित अवस्थाको चित्रण गरेको छ यस कथाले । यो विसङ्गतावादी सोच र अराजकतावादी चिन्तनबाट सिर्जित कथा हो ।
अर्को कथा “घाम ताप्दा” गरिबी विरुध्द मौन विद्रोहको कथा हो,
“आमा….भोक लाग्यो”
“तेरो बाबुको लादी घिच्”
बाबु चाहिँले आफ्नो प्रतिक्रिया (विवसता ?) यसरी अभिव्यक्त गर्दछ , “त्यो लादी भएको निर्लज्ज बाबु म हुँ र यही हो मेरो वर्तमान परिचय ।”
कथाको पात्रले वातावरणलाई नै विस्थापित गर्ने मनगढन्ते कुरा सोच्छ । गरिबीको कारणले भोग्नु परेको विवस जिन्दगी र सामाजिक विसङ्गतिप्रति एउटा निस्सार विद्रोहको कथा हो यो ।
तेह्रौं कथा “बुढा बा” मा “बीसौँ शताब्दी तिमी जस्तै बुढो भैसक्यो… …अब आउने शिशु शताब्दीले तिमीलाई चिहानमा सुताइदिनेछ” भन्दै बिगतका तगाराहरु भाँचेर नयाँ सभ्यताको सिर्जना गर्न एक्काइसौँ शताब्दीको आह्वान गरिएको छ । बुढा बालाई बिगतको प्रतीक बनाई भविष्यमा आउने नयाँ दिनहरुमा परिवर्तनको आशा गरिएको छ । “यो शताब्दी असफल भएछ तिम्रो फुलेका कपालहरुमा” भन्दै नयाँ युगको थालनी गर्न प्रण गर्ने यो कथा भविष्यप्रति आशा जगाउने प्रगतिवादी चेत भएको कथा हो ।
अर्को कथा “साथीको सम्झना”ले पुलिस र सर्वसाधारण बिचको द्वन्द्व प्रस्तुत गरेको छ । पुलिस सरकारको अझ सर्वसाधारणको सुरक्षाको प्रतिनिधि पात्र हो, अझ यो भ्रष्टाचार, दुराचार र व्याभिचारलाई दमन गर्न बनाइएको सरकारी संयन्त्र हो, तर सर्वसाधारणले सबैभन्दा बढी रोष पुलिसमाथि नै प्रकट गरेको देखिन्छ । आन्दोलन रोक्ने अग्रपंक्तिमा पुलिसहरु नै हुन्छन् र आन्दोलनकारीहरुले पुलिसमाथि नै ढुङ्गा बर्षाउँछन् । विदेशी पाहुनाहरु आउँदा स्वागत गर्न पुलिसहरु नै जानुपर्छ, तर पुलिस नै ओहदा र सुविधामा सबैभन्दा तल हुन्छ । पुलिस भन्छ, “जसले बन्दुकको सृजना ग¥यो त्यसले बन्दुकको धर्म निर्धारण गरेर गएको छैन, बन्दुकको अनुुुशासन हुँदैन, यसलाई जता घुमाए पनि हुन्छ, अत्याचारको मार कहिले जनता, कहिले सरकारतर्फ बढी पर्छ” ।
कता कता एउटी केटीको डायरीमा पढेको थिएँ, “मलाई सबैभन्दा बढी घृणा पुलिससँग हुन्छ ।” यसरी पुलिसप्रतिको नकारात्मक धारणाबाट कथा प्रारम्भ भई यसरी अन्त्य हुन्छ, “पुलिस साथीको सम्झनाले अचानक छोड्छ मलाई रातमा ऐंठनले छोडे जस्तै । म खुरुक्क त्यस केटीको डायरीको पाना च्यातेर खल्तीमा हाल्छु र हिंडी दिन्छु ।”
तल्लो वर्गका उत्पीडित प्रहरीहरुप्रति विशेष सहानुभूति राखेको यस कथाले सामाजिक विसङ्गतिका विरुध्द वर्गीय चेतना प्रस्तुत गरेको छ ।
पन्द्रौ कथा “संघार नेर” मा निम्नवगीय जनताको सुरक्षा व्यवस्था र जीवन यापनप्रति ब्यङ्ग्यात्मक प्रहार गर्दै उनीहरुप्रति सहानुभूति राखेको पाइन्छ । प्रहरीले, हामी त तपाईंहरुको सुरक्षाको निम्ति आएको हो भन्दा एउटी सर्किनीको आँखाले यसो भनिरहेको हुन्छ, ”के गर्नु पुलिस दाइ, सुरक्षा पसलमा राखिएको छैन, दुईचार पैसाको किनेर लग्नलाई, ज्यालादारी गर्न गए मालिकले ठग्छ, पसलमा साहुले ठग्छ, झैझगडामा जाली फटाहाले ठग्छ, घरमा राति थाकेर आएको लोग्नेले लात हानेर जीवनभर ठगेको छ, खै सुरक्षा ? कस्तो हुन्छ सुरक्षा ?” यसरी एउटी श्रमजीवी महिलाको आक्रोस प्रस्तुत गर्दै यस कथाले नारीवादी चेतना र निम्नवर्गीय जनताप्रति सहानुभूति राखेको पाइन्छ ।
सौह्रौँ कथा ”सिटी हलको बूढा ज्यामीसँग” वर्गीय चेतनामा आधारित कथा हो । कथाले सिटी हल र त्यसको निर्माण गर्ने ज्यामीलाई प्रतीक बनाएर श्रमिक वर्ग र सम्पन्न वर्गका बिचमा एउटा द्वन्द्व सृजना गरेको छ । ठुल्ठूला भवन निर्माण गर्ने ६५ वर्षे ज्यामी हर्कबहादुर गुन्द्रुकको झोल खाएर बाँचेको, जाडोमा कोट कहिल्यै देख्न नपाएको, उसको जीवनमा कहिल्यै परिवर्तन नआउने, तर कहिल्यै श्रम नगर्ने ठुलाठालुहरु भने त्यसको उपयोग गर्ने, नाचगान गर्ने, भाषण गर्ने, भोज खाने जस्ता अनेक रमाइला कार्यक्रमहरु गर्नेहरुका विरुद्ध यस कथाले एउटा द्वन्द्व सृजना गरेको छ ।
समाजका सुकिलामुकिला सम्पन्न वर्ग र सामन्ती संस्कृतिप्रतिको विद्रोह यस कथामा पाइन्छ । गाँसबासको व्यवस्था आफैँ लडेर खोसेर लिनुपर्छ भनी वर्गीय चेतना जगाउने सन्देश यस कथाले दिन्छ ।
यस सङ्ग्रहको अन्तिम कथा “वर्कसपभित्र” द्वन्द्वात्मक भौतिकवादमा आधारित वर्गीय चरित्र बोकेको कथा हो । यो कथा मोटरको वर्कसपमा काम गर्ने मजदुर र श्रमशोषण गर्ने वर्कसपको मालिकका बिचको द्वन्द्वको कथा हो । समाजमा पुँजीपति र श्रमजीवी दुई वर्ग हुन्छन् । पूँजीपति वर्ग पुँजी लगानी र श्रम शोषणबाट बढीभन्दा बढी पूँजी आर्जन गरी सुविधा भोग गर्छ भने श्रमिकले जति धेरै पसिना बगाए पनि उसलाई जीवन धान्न सधैँ कठिन हुन्छ । धनी झन् धनी हुँदै जान्छ र भौतिक सुविधा उपभोग गर्न सक्षम हुन्छ, तर गरिबको अवस्थामा भने कुनै सुधार आउँदैन । उ सधैँ श्रम शोषणमा परिरहन्छ ।
ग्यारेजको क्लिनरसँग यसो भनेर उ बिस्फोट हुन खोज्छ “हेर भोटे क्लिनर, यस्तै भैरहे त म यो वर्कसपमा एकदिन आगो लगाई दिन्छु ।”
सत्रवटा कथा भएको यस सङ्ग्रहमा शुरुका धेरैजसो कथाहरुमा जीवनप्रतिको निस्सारता, जीवन भोगाइप्रतिको वितृष्णा, विसङ्गति, शून्यवादको अमिलो डकार, अराजक चिन्तन र लक्ष्यहीन विद्रोहका स्वरहरु चर्को रुपमा पाइन्छ भने पछिल्ला केही कथाहरु द्वन्द्वात्मक भौतिकवादमा आधारित श्रमिक वर्गप्रति सहानुभूति राख्ने वर्गीय चेतनामा आधारित छन् ।
***
प्रतिक्रिया
-
४