– निरा शर्मा

“हाम्रो समाज,
पुरूष प्रधान समाज !
हामी नारीहरू,
युगयुगदेखि पुरूषकै चाहानामा
वलिवेदी भएका
पुरूषकै खातिर
जन्मेका – मरेका
निरीह सृजना यो सृष्टिका”

घडीको फ्रेमबाट
बाहिर निस्किन नसकेको
समयको काँटा झैं
हामी सँधै यहीँ फन्को मारिरह्यौ/घुमिरह्यौँ
दाईँमा मियोको वरिपरि घुमेका गोरु झैं
र निकालिरह्यौँ एउटै नतिजा-
“नारी पुरुषद्वारा शोषित छे”

‘नारी-आवाज’ बोल्ने बहानामा
आज पनि हामीले
पुरुषकै खोइरो खनिरह्यौँ
र, सँधै बिर्सिरह्यौँ-
पुरुषकै हात समाएर हिँडेका
जिन्दगीका अप्ठेरा कच्ची बाटाहरु
कहिल्यै सम्झेनौँ-
पुरुषको साथले मात्रै पूर्ण भएका
हाम्रा बग्रेल्ती अधुरा सपनाहरु

हामी सँधै
आफैले बाँचेको सत्य कुल्चेर हिँडिरह्यौँ
हात समात्यौँ पुरुषको
र गाली उसैलाई गरिरह्यौँ
मनभित्र बसेर पुरुषकै
उसैलाई पर धकेलिरह्यौँ

हामीले कहिल्यै लेखेनौँ-
पुरुषको छायाँमुनी बसेर
उसकै मीठो आभाषको ‘प्रेम कविता’
न सुनायौँ कहिल्यै-
कुनै ‘नारी सभा’ या गोष्ठीमा
पुरुषको आड भरोसाको
एउटा मात्रै सुमधुर गीत नै
बरु सट्टामा सँधै फलाकिरह्यौँ
समाजको त्यही खुड्किलोमा उभिएर
‘पुरुष अपहेलना’का पुराना कथाहरु

ओ नारी !
पुरुष ‘शोषक’ नै सत्य हो भने,
हामी किन पुरुषकै छायामा बसिरहेछौँ सँधै ?
पुरुष खराब नै हो भने,
खराबले नै बनाएको बाटो किन हिँडिरहेछौँ अझै ?
किन उसकै बिछ्यौनामा बसेर
रातलाई ‘प्रेमको अर्घ’ चढाइरहेछौँ?

छन त छन् होला अझैपनि
कति दुर्योधनहरु
द्रौपदीका सारी खिचिरहेका
छन् होला अझैपनि पाण्डवहरु
आफ्नै श्रीमतीलाई दाउमा लगाइरहेका
तर छन् नि महादेवहरु पनि
सतिदेवीलाई बोकेर हिडिरहेका

निकालेर एउटा पाङ्रालाई-
कसरी गुड्छ र गाडी सृष्टिको ?
बाँधेर एउटा हातलाई-
कसरी बज्छ र ताली खुसीको ?
काटेर पंखेटा आफ्नै शरीरको-
कसरी भर्न सक्छ र ‘सफल उडान’ चरीले ?

***

प्रतिक्रिया

सम्बन्धित खवर