
– जयन्ती मगर ‘सरगम’
छोरी ! तिमी मभित्र चल्मलाएको दिन
महशुस गरेकी हुँ मैले
आफू भित्र सिङ्गो ब्रह्माण्ड ।
तिमी जन्मिए पछि
पोतेर मेरो सम्पूर्ण रङ्गहरू तिमीलाई
मेरी आमाले जन्माएकी `म´लाई
दिएकी हु आफैले पुनर्जन्म।
तिमी त
सबैभन्दा सुन्दर कविता हौ मेरो ।
तिमीले खुलेर हास्न
कसैको अनुमति नपर्खिनू।
उन्मुक्त जीवन बाँच्न
कसैको अनुमति नलिनू।
बस् हाँसिरहनू बिन्दास, बाँचिरहनू बेफिक्री ।
जसरी लाली गुराँस हाँसिरन्छ पखेरोभरि।
कहिँकतै तिमीलाई पढाइने छ
पाठ सहनशीलताको।
बनाईनेछ प्रतिमुर्ति त्यागको ।
पहिर्याइनेछ ताज सुन्दरीको।
लगाइनेछ जन्जिर अनुशासनको ।
यी सबै तोड्दै तोड्दै जानू ।
छोरी !
यो युग हाक्ने सामर्थ्य तिमीमा छ ।
तिमी चन्द्रमा होइन
आफ्नै अस्तित्व बोकेको सूर्य बन्नू ।
***
प्रतिक्रिया
-
४