– त्रिपुरा पोखरेल खरेल

आमा! तिम्री छोरी ,
दैलोबाट कलिला हात हल्लाउँदै
स्कुल पढ्न गएकी थिई
तिमीले ठूलो मान्छे बनाउन
छोरीलाई स्कुल पढ्न पठाएकी थियौ
तिमीले छोरीको निधारमा
मेरी क्युरी देखेकी थियौ
तिमीले छोरीको कपालमा
राजेश्वरी चटर्जी झैँ वैज्ञानिक बनाउने
सपना लेखिदिएकी थियौ
तिमीले आफ्ना सपना साकार गराउन
छोरीका कलिला हातमा
पेन्सिल थमाइ दिएकी थियौ
आमा! तिम्रा सपनासँगै
भविष्यका आफ्ना थुप्रै सपनाहरू बोकी
स्कुलको भारी ब्याग काँधमा भिरेर
घरको संघार नाघेर स्कुल हिंडेकी
तिम्री कलिली प्यारी छोरी
फेरि फर्किएर तिम्रो घर आइन
छोरी नआउँदा तिम्रो रोदन
वर्षाको पानीसँगै हरायो
तिम्रा कङ्कला शब्दहरू
हावासँगै उडेर गए
तिमी यता छाती पिट्दै गुहार माग्दै थियौ
उता बिच जङ्गलमा
बलात्कारपछि हत्या गरेर फ्याकेको
तिम्री छोरीको लासका आँखाले
जंगलको सन्नाटामा निश्चलतासँग
न्यायको भिक्षा माग्दै थिए।
त्यो लासका नीर्जीव आँखाले
बुद्धको अग्लो प्रतिमा नियाल्दै थिए
पत्थर बनेका बालिकाका ती आँखाले
शिवको विशालता नाप्दै थिए
ती मृत आँखाहरू
सन्नाटामा आफ्ना टुक्रिएका हात हेर्दै
मस्जिदतर्फ नियाल्दै थिए
उता तल गिर्जाघरमा घन्टी बज्दै थियो
लासका  पत्थर बनेका आँखाहरू
त्यतातिर टोलाइरहेका थिए
सिङ्गो समाज मौन थियो
नारी आवाज बन्द थिए
भगवान् र राजनीतिसँग बलात्कृत लासको
विश्वास टुटिसकेको थियो
बलात्कार , मान्छेको भीडमा हुँदैन
न्यायालय भने प्रमाण माग्दैथियो
पैसाले प्रमाण मेटिदिएपछि
प्रमाणबिनाको लास गलिसक्यो
बलात्कृत बालिकाको आस्था टुट्दै गर्दा
लासको मुखबाट एउटा आवाज निस्कियो
त्यो आवाज! घर, समाज, राज्य र देशको लागि
एउटा  ठूलो चुनौती नै थियो।
आवाज छोरी जातिको सुरक्षाका लागि थियो
लाचार लास बोल्दै थियोे !
नारी दिवस मनाउँदै गरेका नारीहरू हो!
छोरी जातिलाई अन्याय हुँदैछ
तिमीहरूले न्यायको मसाल बोक
यदि तिमीहरूले ..
मेरो लासलाई न्याय दिन सक्दैनौं भने
तिमीहरू सबैका छोरी बुहारी  छन्
सुरक्षाका लागि
उनीहरूलाई हातमा हतियार देऊ
कि त आफ्नो अस्मिता जोगाउन
छोरी जातिलाई चेस्टिटी बेल्ट देऊ

***

प्रतिक्रिया

सम्बन्धित खवर