– बिना थिङ
……र अन्तत: छाडेर गयौ
हो जानु नै थियो तिमी
जसरी आयौ यहाँ
जानु अघि
गुनगुनाउँदै हरिभक्तका गीतहरु
तिमीले भरेका थियौ
एउटा मिठो लय यो बतासमा
अचेल यहि बताससंगै
म आफै पनि गुनगुनाईरहन्छु
केहि प्रेमिल गीतका अन्तराहरु
चुपचाप चुपचाप हृदयमै
प्रिय,
सुनाउनलाई त थुप्रै थुप्रै कुराहरु छन्
जस्तो कि देख्नलाई थुप्रै थुप्रै सपनाहरु छन्
तर
तिमी ढुक्क होउ
म त्यती अराजक पनि छुईन
कुरा यत्ती हो,
यो त्यहि बतास हो
जसले
कहिल्यै दिएन एक झोंका, सुखको
कहिल्यै दिएन एक अंश बेपत्ताको हुरी, आनन्दको
अनि कहिल्यै दिएन, खुकुलो परिवेश
मात्रै अठ्याँइरह्यो
सम्झौताको नाउँमा मेरो गर्धन
फेर्न दिइरह्यो निमोनियाग्रस्त जीन्दगमा एक मुठ्ठी स्वास
यसमा त्यस्तो खास के नै थियो र?
यत्ती हो मैले स्वाश लिइरहें
तर स्वाश लिनु र बाँच्नु नितान्त भिन्न कुरा हुन्
र फेरि,
तिमी आयौ, गयौ बेपत्ता
जानु अघि
यो बुझायौ कि
जीबनको कुनै अध्याय आफ्नै लागी बाँच्नु पर्छ
हो प्रिय
यत्तिखेर म आफ्नै लागी बाँचिरहेछु
र गुनगुनाईरहेछु
“हजार सपनाहरुको माया लागेर आउँछ
बाँच्ने रहर जस्तो फेरि भएर आउँछ
***
प्रेमका बारेमा कवि बिना थिङ भन्नुहुन्छ, -“प्रेमबारे मेरो बनिबनाउ उत्तर छैन । मेरो लागि प्रेम रहस्य हो । यो एकैखालको महशुस भएर आउँदैन, प्रेम एकैपटक सुख र पीडाको चरमोत्कर्ष बनेर आउँछ । त्यो नभोगी सुखै छैन ।”
प्रतिक्रिया
-
४
