–  अमृता स्मृति

नदेखेरै, नभेटेरै
एकअर्कालाई छोइरहनु
प्रेमकुण्डमा नुहाउनु
र खुशिका प्वाँखहरू फट्फटाउँदै एकसाथ उडिरहनु
यतिबेला तिमी म
म तिमी !
हाम्रा यात्रा अनेक, हामी एक ।

मलाई तिम्रो लिङ्ग थाहा छैन
थाहा छैन, रङ् र बनावट
कुन हो तिम्रो  माटो ?
किन झन्-झन्  तेजिलो  हुँदैछ तिम्रो गति ?
कयौँ सवालहरू सल्वलाए पनि हृदयमा
कसरी दिन सकिँदो रहेछ र जवाफ

म जन्मिरहन्छु फेरि-फेरि
तिम्रा जीवनका किस्ता-किस्तामा
जन्मिरहन्छु, शब्दले छुन नसकेका अनुभूतिहरूमा
आइरहन्छु तिम्रो मझेरीमा
म आउँदाआउँदै हराएँ भने पनि
क्षणहरुलाई कैद गरेर
मुस्कानको सञ्जीवनी संगाल्दै
म आइनै रहनेछु कतै न कतै !
तिम्रो मुटुको गहिराइमा
आँखाको रङ्मा !

***

प्रेमका बारेमा कवि अमृता स्मृति बताउनु हुन्छ, -“संसारमा सबै भन्दा धेरै परिभाषा गरिएर पनि परिभाषित हुन नसकेको विषय हो प्रेम । प्रेम एक गहिरो, कोमल र अवर्णनीय भावना हो । यो आपसी समझ, सम्मान, विश्वास र समर्पणमा आधारित हुनुपर्छ। प्रेम केवल भावनात्मक मात्र हुँदैन, यसले त व्यावहारिक पक्षलाई पनि समेट्छ। प्रेमको सही अर्थ हो एकअर्काको अस्तित्वलाई महत्व दिनु । प्रेम अपरिहार्य कुरा हो । प्रेम सेवा हो । प्रेम धर्ती हो । प्रेम आकाश हो । प्रेम संसार हुनुको अस्तित्व हो ।”

प्रतिक्रिया

सम्बन्धित खवर