– डिइबी सिकारु

हो
हत्यारा हुँ म
च्यातेकोछु कति कोपिला
निमोठेकोछु कति कलिला मुना
माटो खुवाएको छु कतिलाई जन्मनासाथ
चुँडेको छु पहिलो फक्राइमै कतिलाई
ठोकेको छु कतिलाई यौवनमै अल्सीको गोली
कतिलाई बुढो बनाएर लाएको छु घृणाको आगो

हालेर स्नायुको समिधा
लाएर रगतको चरू
सेचन गरेर पसिनाले
विधिवत रुपमा गरेर न्वारन
तिमीहरूका कोमल कर
चुमुँला सोचेथेँ

खोजेथेँ जलाउन
ह्याप्पीबर्थडेका क्यान्डलहरू
नायलसरि तिमीहरूका नाममा
गुडिया खेलाएझैँ खेलाउन खोजेथेँ
तिमीहरूका कलिला कद
सोचेकै थिइँन कदापि
यसरी दागबत्ती दिनुपर्ला यी हातले

माफ गरिदेउ मलाई
तिमीहरू सप्पै मेरै मानसपुत्र थियौ
मेरै मस्तिस्कको पाठेघरमा
भ्रुण भएका हौ तिमीहरू सप्पै

खोज्न त तिमीहरूले
हुर्किएर संसार डुल्न खोजेका थियौ
धेरैका हातहातमा पुग्न खोजेका थियौ
सप्पै(सप्पैका मनमा बस्न खोजेका थियौ
माया ममताका पोखरीमा डुबुल्किन खोजेका थियौ
र सप्पैसप्पैका ओठमा झुन्डिन खोजेका थियौ
तर बिना कुनै कसुर
झरेका पात भएका छौ तिमीहरू

समय सिमाले माऱ्यो कति
कति गलत समयको कोखले
कति मेरै आहत आदतले माऱ्यो
हुन त
शक्तिशाली बनाएर तिमीहरूलाई
पुनःजन्माउन चाहेको थिएँ

चलाइयोस् फौजदारी मुद्धा
किटान गरियोस् ज्यानमाराको
कोचियोस् जेल बाँचुन्जेल
र पाउन् न्याय सप्पै-सप्पैले

हो पापी हुँ म
हो अपराधी हुँ म
हो अत्याचारी हुँ म
कसैको नुन नखाने
कुनै कानुन नमान्ने
अल्छे लेखकको
आलश्य मन हुँ म

***

 

प्रतिक्रिया

सम्बन्धित खवर