– रेजिना आपगाईँ
जिन्दगीको पसलबाट एक अपरिचित ग्राहकले झैँ
मुटु उधारो लिएर अचानक हरायौ तिमी
म कुन ठेगानामा कसरी पठाऊँ तिमीलाई
हृदयको खातामा अलपत्र परेको प्रेमको हिसाब !
तिमी मेरो जीवनका सबै रङ्गहरू बोकेर पनि रित्तै गयौ
म तिमीलाई मुटुसम्म दिएर पनि
भरिरहन्छु आँखाका डिलहरू
लिएर जाने मान्छे कसरी रित्तो हुन्छ
दिने मान्छे कसरी भरिइरहन्छ
कहाँनिर मिलेन हाम्रो जिन्दगीको हिसाब किताब?
चिसो ,चिसोले नै कठ्याङ्ग्रिएर
जमेजस्तै हिउँका ढिकाहरू
मेरा प्रश्नलाई प्रश्नहरूले नै ठिङ्ग्राएर
बरफ बनाएका छन्
हृदयको कुनामा
कसरी बगाऊँ उत्तरको अपेक्षामा प्रश्नको हिमनदी
म कहाँबाट सुरु गरूँ सवाल
अनि कुन उत्तर पाएपछि अन्त्य गरूँ?
आफ्नै क्षितिजबाट आफैँ ओझेल परेपछि
झुल्किन बाँकी के रहन्छ
आफूबाट आफैँलाई गुमाएपछि
पाउन बाँकी के रहन्छ
म समयसँगको युद्धमा टाउको गुमाएको मान्छे
विजयको ताज कसरी पहिरिऊँ
तिमी मेरो सङ्घर्षको बेलामा मैदान छोडेर भागेको मान्छे
युद्ध जितेर पनि कसको काँधमा अडेस लागेर फेरूँ
एक मुठी सफलताको सास?
तिमीले अन्जानमै यति त बुझाइदियौ
मेरो जीवन पर्दाको सिनेमा रहेछ
यी आँखाले अन्तिम दृश्य हेरिसकेपछि
हेर्न बाँकी के रहन्छ
यी पाइतालाले अन्तिम गन्तव्य हिँडिसकेपछि
हिँड्न बाँकी के रहन्छ?
मैले आफ्नो मनको उत्तर सुन्न नखोजेको होइन
समयले दिएको घाउमा समयले नै
मलम लगाउला भनेर नपर्खिएको पनि होइन
तर
ओरालो लागेको हरिण जस्तो मेरो जीवनलाई
बाच्छा जस्ता दुःखहरुले लखेटिरहे
हृदयमा लागेको घाउलाई फूलले पनि घोच्यो
पर्खाइको समय लामो हुँदा
ओखति पनि विष बन्यो
खोलो तरेपछि यात्रीले लौरो बिर्सिन्छ
आवश्यकताको समय टरेपछि
बाँसले पनि पट्याँस् फालिदिन्छ
चिसो सकिएपछि
हिउँदले पनि त दाउरा पन्छाइदिन्छ
म तिम्रो को थिएँ र
सँधैभरी एकनास महत्व पाइरहन्थेँ?
आज
आफ्नै शरीरको आयतन धान्न नसकेपछि
मेरा पाइतालाहरुले
सासको घनत्व थेग्न नसकेपछि आफ्नै फोक्सोले
तिमीबाट कुनै उत्तर नपाएपछि मेरा सवालहरूले
म तिमीलाई यी सबै कुराको उत्तर आफैँ दिनेछु
अन्तिम पटक भेट्नू तिमीले!
***
प्रतिक्रिया
-
४