– त्रिपुरा खरेल
मेरो दिनदिनैको ऐय्या आत्थुको गनगन सुन्न नसकेर मेरो लोग्नेले मलाई डाक्टरको क्लिनिकमा लिएर जानुभयो ।
डाक्टरले मेरो मोटो शरीर हेर्दै भने ,” लामो जीवन जिउने हो भने, तपाईंले खानपानमा पहरेज गर्नुपर्छ अनि एक घन्टा मर्निङ वाक गर्नैपर्छ।”
म परें खानाको लोभि र निन्द्राको भोगी। डाक्टरको सल्लाह मान्ने हिसाबले दुई धार्नीको टाउको हल्लाएर डाक्टरको अघि आज्ञाकारी बिमारी बनेको अभिनय गरें। बाहिरबाट हुन्छ भनेर संकेत गरेपनि म भित्रभित्रै उनीसँग असाध्यै चिढिएकी थिएँ। मेरो लागि मर्निङ वाक गर्नु भनेको दुई मनको भारी उचाल्नु जत्तिकै थियो।
“डाक्टर साहेब! यिनको कुरा नपत्याउनुस्। मैले मसँगै बिहान वाकमा जाउँ भनेर धेरैपटक भनिसकें, यिनी मान्दिनन्। जतिखेर पनि चुपुरचुपुर खाइरहने बानी छ।” मेरा लोग्ने मेरो पोल सार्न पाउँदा धेरै खुशी हुनुभएको थियो।
मैले आफ्नो बिमारले शरीरलाई दिएको दग्धीबारे डाक्टरलाई बताउनुभन्दा पहिले नै मेरा लोग्नेले मेरो खानपिन र कसरतबारे राम कहानी बताउन थाल्नुभयो। उहाँ मेरो चुक्ली सार्दै हुनुहुन्थ्यो डाक्टर भने हातमा स्टेस्थोस्कोपलाई मेरो ढाड र छातीमा राख्दै साँ … साँ भन्दैथिए। उनका कान र हात व्यस्त भएपनि आँखालेभने ढोका बाहिर बेन्चमा बसेका बिमारीको संङ्ख्या गन्दैथे।
`हेर निर्देशकको पदमा भएर पनि डाक्टरलाई लोभले नछाड्ने रहेछ! विमारीको रगत पसिनाको पैसा जति लुटे पनि नछाड्ने भनेकै सरकारी डाक्टर हुन्। सरकारले उनीहरूलाई जतिसुकै सुविधा उपलब्ध गराए पनि प्राइभेट क्लिनिकमा बिमारी हेर्न छोड्दैनन्। हेर, पैसाको लागि पद र पेशाको दुरुपयोग !´म लामो सास तान्दै र छोड्दै यस्तै के के सोचिरहेकी थिएँ ।मेरा लोग्नेको आफ्नै धुनमा हुनुहुन्थ्यो ।उहाँ डाक्टरलाई अरु पनि के के भन्दै हुनुहुन्थ्यो।
डाक्टरलाई झर्को लागेछ कि क्या हो उल्टै प्रश्न गरे, ” बिमारी तपाईं कि तपाईंकी श्रीमती ?” मेरो काम रोगीलाई चेकजाँच गर्ने, उनीहरूलाई के गर्ने के नगर्ने त्यसबारे उचित सल्लाह दिने हो। मधौरोले बाँच्नका लागि के गर्नुपर्छ, के गर्नुहुँदैन ऊ आफैंले जान्ने कुरा हो। उनको रीस बढ्दै थियो।
बाहिर मान्छेका भीडलाई हेर्दै मैले लोग्नेलाई अरु नबोल्ने संकेत गरें। यसपछि मेरा उहाँ पनि केही नबोली डाक्टरले हातमा थमाइदिएको पुर्जी हेर्न लाग्नुभयो।डाक्टर साहेबले अर्को महीनामा रिभ्युको लागि आउँदा यी टेस्ट गरेर आउनु भनेर लामो लिस्ट दिनुभयो। जाँचको सूचिमा रगत जाँचसँगसँगै एचआईभी पनि छोडिएको थिएन।जाँचको सूचिमा अल्ट्रासाउन्ड ,सिटी स्क्यान, इत्यादि देख्दा म आफैं छक्क परें। उहाँले चलाउने गरेको आफ्नै ल्यााबको रिपोर्ट बाहेक अरू ल्याबको रिपोर्टमाथि उहाँले विश्वास गर्नुहुँदैन भनेर त्यहाँकी परिचारिकाले मलाई पूर्व सूचना दिइसकेकी थिइन् । मेरो लाटो हिसाबमा लगभग तीस चालीस हजारको टेस्ट थियो।
“रीमा तिमीले मेरो र छोराछोरीका लागि भएपनि मर्निङ वाक गर्नैपर्छ ।” घर फर्किँदै गर्दा लोग्नेले मलाई फकाउनु भयो।मैले पनि मेरा लोग्ने र छोराछोरीकै लागि भएपनि आफ्नो शरीर स्वस्थ्य र चुस्त राख्छु भनेर दृढ प्रतिज्ञा गरें।मलाई डाक्टरलाई देखाएको दिनदेखि मृत्युसित डरलाग्न थालेको थियो।
“रीमा उठ! मर्निङ वाकमा जानुपर्छ ।”भोलिपल्ट बिहानको तीन बजे श्रीमानले मलाई घचघच्याएर उठाउनु भयो। म पनि बाँच्ने रहर लागेर होला , चाइँचुइँ नगरी जुरुक्क उठेर लुगासुगा लगाएर उहाँको पछि लुरुलुरू लागें।
बिहानै कुकुरले आची पनि नखाई मर्निक वाकमा निस्कनु म भित्रको वाँच्ने रहर थियो। रातिको तीनबजे, भूत फर्किने समय हो भनेर धामीझाँक्रीले भनेको सुनेकी थिएँ। पछाडिबाट समाउँछ कि भन्ने डरले आङ पनि फुलेर आयो। एक्कासि शरीर शीताङ्ग भयो। नरक खोल्सा नजीकको बाटोबाट आँखा बलेको कुनै चिज घस्रेर ओरालो जंगलतिर लाग्यो।मेरो सातोपुत्लो उड्यो। उहाँ लोग्नेमान्छे, टाँगन घोडाको चालमा अघि बढ्दै हुनुहुन्थ्यो ।म कछुवाको चालमा उहाँको पदचापलाई पछ्याउन थालें।बाटो सुनसान थियो।जंगली चराहरू कराएको आवाज र मृगको आवाजले पनि मलाई आतङ्कित तुल्याउँदै थियो। बाल्यकालमा अँध्यारोमा हिंड्दा जङ्गलीले भेट्छ भन्ने डरको छाप मस्तिष्कमा बसेको थियो ,त्यो छाप मेरो मस्तिष्कबाट अझैसम्म हहट्न सकेको थिएन। बाँच्नका लागि हिंडेको मान्छे जंगली लागेर मरिने पो हो कि? भन्ने भयले मेरो मनलाई भयवित पार्दैथ्यो ।
चिहान डाँडा पुग्दा मेरो आङ जिरिङ्ग भयो। शरीर भारी हुनथाल्यो।एक महिनाअघि इहलीला त्यागेर परमधाम भएका दावा र पञ्चु उठेर मेरो सामु आउने हुन् कि भन्ने त्रासले मलाई सताउन थाल्यो । अबभने मेरा पैतालाले तीव्र गति लिनथाले।
बाटोको छेउमा लास बिसाउने अमलाको रुखमा सेतो शरीर चलमलाउँदै थियो।”अब मलाई पिसाचले मार्ने भयो।” मेरो मुटुको धड्कन तिव्रगतिले बढ्यो ,रोमकूपबाट निस्किएका रौँहरू ठाडा भए।आफूलाई सम्हाल्दै एन केन प्रकारेण अगाडि बढ्दै थिएँ। अमलाको बोटको छेउमा पुगेर अघिको हल्लिदै गरेको सेतो शरीरलाई छड्के आँखाले हेरें , लास बिसाउँदा मलामीहरूले अमलाको रुखमा बाँधेका खादाहरूलाई हावाले स्पर्शले हल्लाएको रहेछ। “थुक्क भूतको भ्रममा परेर झण्डै मरिन ।” मेरो मुखबाट निस्केको आवाज पारि डाँडामा पुगेर प्रतिध्वनित हुँदैथियो। अझै पनि म हिंड्दै गरेकी भूइँमा उज्यालो झरेको थिएन।
नरक खोल्सा पुग्दा ठूला ढुङ्गा र रुखका पोथ्राहरूमा पनि झोडा उर्लेर बगाएका सन्तु र पुनमानको आकृति देख्न थालें। मेरा पति अघि नै फर्किसकेका थिए।
फर्किदा अलिअलि उज्यालो झरेको जस्तो लाग्यो। अबभने मेरो दिमागमा रहेको भूतको भयको छाप विस्तारै हट्दै गयो। मान्छे सलबलाउने उज्यालोमा भूत डराएर भाग्छन् भन्ने सुनेकी थिएँ। म निर्भयसँग ओरालो हिंड्न थालें।
“भोलिदेखि चार बजे पछाडिमात्र घरबाट बाहिर निस्कन्छु, तीन बजे त मरिगए पनि घरबाट निस्किन्न।” मैले भीष्म प्रतिज्ञा गरें।”
भोलिपल्ट बिहानको चार बजेतिर एक्लै उकालो लागें। एउटा पाङ्ग्रे कुकुरले मलाई झम्टिन खोज्दै थियो । मैले त्यसलाई ढुङ्गाले हानें । त्यो कुइँकुइँ गर्दै भाग्यो। म उकालो लागें। द्वन्द्वमा प्रतिद्वन्द्वी परास्त पारेर फर्किएको सेनाको हिडाइमा जस्तै मेरो हिंडाइमा स्फूर्ति थियो । म विजयी सेनाझै लम्किन थालें।
अर्को बिहानी त्यही ठाउँमा हिजोको कुकुरले मलाई झम्टिने प्रयास गर्यो । मैले लठ्ठीले त्यसलाई हिर्काएँ , धेरै दुखेर होला कुकुर जङ्गलतिर पस्यो ।” आजभने यसलाई बजाएँ।” भन्दै घर पुगेर लोग्नेलाई आफ्नो खुशी प्रकट गरें। कुकुलाई लठ्ठीले पिट्दा मलाई आफूले विश्व विजय गरेको झैँ अनुभव भएको थियो।।र मेरो कुरा सुनेर उहाँको अनुहार अँध्यारो भयो ।
” विचरा निरीह पशुलाई किन कुटेको ?” उहाँले कुकुरको पक्ष लिंदै मलाई प्रश्न गर्नु भयो। मैले यथार्थ बताएर जित्न खोजेँ । त्यो दिन म जत्तिको खुशी थिएँ त्यत्तिकै दुखी हुनुभयो मेरा उहाँ ।
कुकुरको डरले गर्दा गाउँकी बहिनी जानुलाई लिएर हिंड्न थालें। त्यो कुकुर मलाई देखेर रुँदै भुक्न थाल्यो । त्यसको रुवाइ सुन्दा मलाई नरमाइलो लाग्यो । मैले जानुलाई कुकुर र मेरोबीचको द्वन्द्वबारे वृतान्त बताएँ।
” म्याडमले गान्तुकेको बारेमा कुरा गर्नुभएको ? सारै गुनिलो छ।मर्निङ वाकमा जानेहरूलाई माथि नरक खोल्सासम्म पुर्याएर फर्किन्छ।? ” तिनले हिंड्दै भनिन् । तिनको कुरा सुन्दा मलाई गान्तुके उपर आफूले गरेकी दुर्व्यवहारले दुखित तुल्यायो । त्यो मूक र निरीह पशुसित मैले माफी माग्नु पनि असम्भव थियो। आफू भित्रभित्रै सल्किदै पश्चात्ताप गर्नु बाहेक मेरो अर्को कुनै विकल्प थिएन।
अब मलाई चिसो हावा खाँदै हरियालीको दृश्यावलोकन गर्नमा त्यति आनन्द लाग्न छोड्यो । ‘मैले बेकारमा त्यसलाई पिटेछु ‘भन्ने हीनताबोधले मलाई दिनरात सताइरह्यो।मेरो मनस्थिति नियालिरहनु भएको मेरा लोग्नेले मेरो हातमा बिस्कुटको प्याकेट दिंदै मलाई मायालु पाराले भन्नुभयो ” त्यसले तिमीसँग मन दुखाएको रहेछ ,अब बिस्कुट दिएर फकाउ ।”
म सधैँ झैँ बिहानको चारबजे घरबाट। निस्किएँ ।जानू बैनीले आज अल्छी गरिन्, म एक्लै परेें।गान्टुके मेरो पदचाप सुनेर फेरि भुक्न थाल्यो ।मैले बिस्कुट उसको अघिल्तिर फालिदिएँ। त्यो आफ्नो पुच्छर हल्लाउँदै निर्धक्क भएर बिस्कुट खानथाल्यो। हामी दुबैका क्लेशरहित आँखा जुधे। उसले मलाई हेरेर पुच्छर हल्लायो, मैले मुसुक्क हाँसेर उसँगको मित्रतालाई सहस्र स्वीकृति दिएँ। सायद हामी दुबै एकअर्काको भयदेखि मुक्त भयौ। म पनि ढुक्क भएँ। भोलिपल्टदेखि उसले मलाई गन्तव्य स्थलसम्म पुर्याउने र फर्किने गर्नथाल्यो । गान्तुके मेरो यात्राको अभिन्न मित्र भइसकेको थियो।
जीवन यात्रासँगै मान्छेले पनि आफ्नो यात्रालाई निरन्तरता दिनुपर्ने हुन्छ।यही सिलसिलामा मलाई पनि आफ्नो थातथलो छोडेर अर्को थलो रोज्नुपर्ने वाध्यता आईपर्यो। मेरो सडकको प्यारो साथी गान्तुकेलाई भारी मनले सधैंका लागि विदा मागे। मैले रोजेकी यो नयाँ थलो भने मेरो कर्मस्थान थियो। यहाँ आएर पनि मेरो सडकको उपकारी साथी गान्तुके मेरो स्मृतिबाट हट्न सकेको छैन।
मैले मान्छेलाई धेरै गुन लगाएकी पनि छु, कतिलाई मेरो पतिले काममा लगाइदिए , काम नपाएकाहरू मेरो घरमा आएर वर्षौंसम्म बसे। कतिलाई स्कुलमा भर्ना गरिदिँए।मैले गुन लगाएकाहरु अहिले मलाई देखेर पनि नदेखेको झैँ गर्छन् ।कतिपय त आफूलाई उचालेर माथि उठाउने मेरा हात काट्न पनि पछि परेका छैनन् ।मेरो मर्निङ वाकको इमान्दार साथी गान्तुकेले भने मैले बिस्कुट दिएर लगाएको गुन आजसम्म पनि भुलेको छैन भन्ने कुराको जानकारी जानुले बेलाबेलामा मोबाइलबाट दिन्छिन् ।ऊ अहिले पनि बिहानको चारबजे मैले छोडेको घरको गेट अगाडि आएर मलाई पर्खिरहेको हुन्छ रे!
***
प्रतिक्रिया
-
४