– प्रकाश खनाल

१,
नसकेनि बनाउन पहिचान देशका निम्ति
हृदयबाट पैदा हुन्छ सम्मान देशका निम्ति
बस्ने वातावरण नहुँदा पनि देशमै बसेको छु
यो पनि त ठूलै हो नि योगदान देशका निम्ति

२,
गलत बाटो समाउन कहिल्यै नपरोस्
कृत्रिम सुखमा रमाउन कहिल्यै नपरोस्
बरू परोस् जिन्दगीभर नै गरीब भएर रहन
तर स्वाभिमान बेचेर धन कमाउन कहिल्यै नपरोस्

३,
दैनिकी व्यस्त त चराको पनि हुन्छ
जिन्दगानी मस्त त चराको पनि हुन्छ
अरूका निम्ति केही गरौं मान्छे भएपछि
आफ्नो बन्दोबस्त त चराको पनि हुन्छ

४,
बनाएर हेरेँ ठोस आकार मेरो जिन्दगीको
संघर्ष भेटियो मुख्य आधार मेरो जिन्दगीको
दु:ख,अभाव,बाधा र धोका एकै विन्दुमा भेट भए
यसरी भयो पिरामिड तयार मेरो जिन्दगीको

५,
कागजबाट बनेको पैसा मात्र बुझ्छ
बिटाका बिटा गनेको पैसा मात्र बुझ्छ
बुद्धि, विवेक, इमान कमाएर के गरौं ?
दुनियाले धन भनेको पैसा मात्र बुझ्छ ।

***

प्रतिक्रिया

सम्बन्धित खवर