– दामोदर श्रेष्ठ

“चार लाखमा सहमति भयो” रमेशको काका फुसफुसाउदै प्रतिक्षालयमा आईपुगे । प्रतिक्षालयमा झोक्रयाएर बसेको रमेशले टाउको ठाडो पार्दै भन्यो- “हो काका?”

“जे जति लएनि अब हाइसन्चो भओ बाबु, अब बाटो नि  फुक्यो” रमेशको छेउमा बस्दै काका बोले । खै काका” रमेशले संशय ब्यक्त गर्यो । सबैजना कोठाबाट बाहिरिए रमिताका दाजु दिदि उसको छरछिमेकका काकाहरु  पनि निस्के अन्त्यमा रमिता निस्की । उसले रमितालाई हेर्यो । रमिताका आँखाभरि आँसु भरिएको थियो । रमेशले उनीहरु गेट बाहिर निस्कँदा सम्म हेरीरह्यो, पर पुगेपछि रमिताले पनि फर्केर हेरी ।

रमेशका आँखा रसाए । उसले रमितालाई भएभरको माया दिएको थियो । खुसी दिने प्रयत्न गरेकै थियो ।  तर पनि रमिता उसको घरमा अट्न सकिन । घरमा रहँदा सम्म रमिता र रमेशकी आमाको सम्बन्ध कहिल्यै राम्रो भएन ।
बिहे गरेको ३ महिनामै रमेश बिदेशिएको थियो । रमेशलाई विदेश नजान भनेर रमिता निक्कै रोएकी थिई । तर सधै घर बसेर पनि नहुने देशमा कुनै रोजगारी उपलब्ध नहुने । रमेश विदेश जान बाध्य भएको थियो । रमेश बिदेश गए पछि रमिता केही महिना त  घरमा बसी, माईतमा खासै काम नगरेकी रमिताले जानी नजानी सोध्दै सिक्दै जेनतेन घरको काम गरी । केही महिना पछि सासुको टोकसो र कचकच सहन सकिने अनि माईत बस्न थाली

रमेशकी आमालाई रमिताको काम गराई कहिल्यै मन नपर्ने सधै यो भएन त्यो भएन भनेर कराई रहने, जे काम गरे पनि आलोचना मात्र गर्ने अथवा जस नदिने गर्थिन । रमितालाई सासुको व्यवहार पटक्कै मन पर्न छोड्यो । रमेशकी आमा अलि कडा स्वभावकी थिईन् बोली भने निक्कै मिठो थियो ।
रमिता माईतीमा बस्न थालेको चार महिना भई सकेको थियो । रमेश बिदेशबाट घर फिर्यो र माईतीमा बसेकि रमितालाई लिन ससुराली गयो ।

तर रमिताले एउटा अनौठो प्रस्ताव गरि । घरमा बाउआमा संगबाट छुट्टिएर बसे मात्र रमिता घर फर्कने नत्र नफर्कने अड्डि लिई । रमिताका दाजु भाउजुले पनि त्यस्तै सुझाव दिए आफ्ना ज्वाइँ लाई । रमेशले घरमा बुवा आमा संग यस बारे कुरा गर्ने वचन दिएर जनतन रमितालाई फकाएर घरमा ल्यायो ।

रमितालाई रमेशको सबै बानी व्यवहार मन पर्थ्यो उसको हरेक कुराको केयर गर्थ्यो अथाह माया गर्थ्यो मनको कुरा बुझ्थ्यो । उ प्रति गुनासो थियो  त केवल उसको आमा प्रतिको वफादारीको । बाहिर जे कुरा गरे पनि आमाको कुरा कहिल्यै काट्न सक्दैन थियो । आमाले उठ भने उठ बस भने बस । रमेश मात्र होईन रमेशका बाबु पनि रमेशकी आमाको सामु टिक्न सक्दैनथे ।

घरमा आएर उसले छुट्टिने कुरा आमाको सामु राख्न सकेन । उसकी आमाले रमितालाई नराम्रो सङ्ग झपारिन तथानाम गाली गर्न थालिन ।

यो सब रमिताले सहन सकिन र घर फर्केको दुई दिनमा नै माईती फर्की । रमेशले उसलाई रोक्न सकेन ।
रमेशका साथीहरुले उसलाई “कुनै हालतमा घरबार विगार्नु हुन्न, रमिता घर बस्न सक्दिनन भने तिमी घरबाट आमा बाबु बाट छुट्टिएर भए पनि रमिताको पक्षमा लाग र रमिता लाई लिन जाऊ” भनी सुझाए। बरु टाढा शहरमा गई व्यापार गरेर बस्न या अरु कुनै काम गरेर बस्न सुझाव दिए ।

रमेशले फेरी रमिता लाई फकाएर ल्यायो । रमेशकी आमाले आफ्नो व्यवहार दोहोर्याईन । रमिता घरमा टिक्न सकिन । फेरी माईतीमै हिडि। यो क्रम थप दुई पटक दोहोरियो । रमेशले बाबु आमा त्याग्न सकेन अथवा आमाको अगाडी उसको केही पनि चलेन ।

माईती बस्न थालेको एक वर्ष पछि रमिताले सम्बन्ध बिच्छेदको मुद्दा हालिछे अदालतमा । अदालतले दुवै पक्षलाई मिलेर आउनु भनी मेलमिलाप केन्द्रमा पठायो । पटक पटक गरी चार दिनको छलफल पछि आज बल्ल सहमति भएको थियो ।

रमेशले चार लाख रुपैया सङ्गै बिहेमा रमिताले ल्याएको दाईजो फिर्ता गर्नुपर्ने र रमिताले रमेशले दिएका गरगहना फिर्ता गर्नु पर्ने ।

सबै अदालती प्रकृया पुरागरी रमेश र रमिता कानुनी रुपमा नै अलग भए । त्यस दिन रमेशकी आमाले अब बाजा बजाएर धुमधाम संग रमेशको  बिहे गर्ने हुँकार दिईन् ।
रमेश विदेश गयो एक मै फर्कियो फेरी गयो एक वर्षमै फर्कियो । उसलाई विहे गर्नकै लागी विदेशबाट घर बोलावट हुन्थ्यो । हरेक पटक आउँदा उसलाई घरपरिवार मा विहे गर्न चर्को दवाव आउथ्यो तर उसको बिहे भएन । गरेन । अथवा चाहेर पनि गर्न सकेन ।

रमिताले पनि बिहे नगरी नै बसेको र एक गैरसरकारी संस्था मा काम गर्न थालेको भन्ने हल्ला रमेशलाई कसैले सुनाएको थियो कुनै बेला । यो भन्दा बढी जानकारी थिएन ।
रमेश यस पटक विदेश आएको पनि दुई वर्ष भई सकेपछि । रमेश निकै उत्साहित छ  दुई वर्षमा जो घर फिर्दै छ । घर लैजाने सामान हरु सबै झोलामा प्याक गरेर राम्रो संग डोरिले बाँध्यो । मन सबै घरतिर दौडिरहेको छ । घरमा रहेका बाबु आमा बहिनी आशा भाञ्जी सबैजना आखा अघि घुमीरहन्छन ।

प्यारि भाञ्जी आयुश्माले “घरमा आउँदा मलाई के ल्याई दिनुहुन्छ मामा” भनेको मिठो ध्वनी एक पटक फेरी उसको कानमा गुञ्जायमान हुन्छ । उसले आयुश्माको लागी केही मिठाई र कपडा किनेको थियो ।

रमेशले घरमा रहेका सबै परिवारजनहरुलाई सम्झदै गर्दा निष्ठुरी रमिता लाई पनि सम्झन भ्यायो । जसले उसको मायालाई लत्याएर गएकी थी, उसको मन टुक्र्यायर उसलाई छाडेकी थिई, उसको सुन्दर परिवारलाई लथालिङ्ग पारिदिएकी थिई । उसलाई सम्झदा रमेशको मन भक्कानिएर आयो । सङ्गै  बाँच्ने सङ्गै मर्ने कसम खाएर तीन वर्ष लामो प्रेमलाई सार्थकतामा बदल्दै धुमधाम सङ्ग घर भित्र्याएकी रमिताले उ सङ्ग सम्बन्ध बिच्छेद गरेर माईतीमै बस्थी । घरमा आमा बा मात्र थिए । यो सब कुरा सम्झदा केही अघि प्रफुल्लित मन कुँडिएर आयो ।

तर अब रमेशको जीवनले कोल्टे फेर्न खोजीरहेको थियो । किनकी उ यो पटक विदेश बसाईको दुई वर्ष मध्य करिव एक वर्ष एक युवतीको प्रेम अनुभव गरिरहेको थियो । उ प्राय त्यस युवती संग कुराकानी गर्थ्यो जिस्कन्थ्यो भावनाहरु साट्थ्यो प्रेमालाप गर्थ्यो- फेसबुकमा टेलिफोनमा  । फेसबुकमा त्यो केटीको नाम रोमी थियो फ्रम अर्घाखाची लिभ्स इन बुटवल,  घरमा बाबु आमा र एक दाजु मात्र छन भनेकी थिई  म्यासेन्जरमा । यत्ति थियो उसको बारेमा रमेशलाई जानकारी । फोनमा फेसबुक च्याटिङ्मा घण्टौं कुराकानि  भएपनि उसको विगतको बारेमा रोमी ले खासै कुरा गर्दिनथी अरु अरु कुराहरु नै हुने गर्थे- मायाका, जीवनका उतार चढावका, सुखदुखका, अनि जीवन भोगाईका ।

रोमी ले उ सङ्ग कहिले पनि दुखका अनुभव बाडेकी थिईन । केवल कुरा गर्थी भविष्यको आउने दिनहरुको । उसले भन्थि विगत कोट्याएर पछुताउनु भन्दा भविष्य राम्रो कसरी बनाउने भनेर सोच्नु पर्छ । रमेशलाई पनि हो जस्तो लाग्थ्यो किन की उसले धोका पाएको थियो कसैबाट विगतमा । उसलाई विगत सम्झन मन  थिएन ।

रोमी  कुरा गर्न निक्कै सिपालु थिई, रमेश संग कुरा गर्ने  कुनै विषय नहुँदा पनि रोमीले नै अनेक अनेक कुरा सोधेर हैरान पार्थी ।

फ्रेन्ड्स रिक्वेष्ट बाट सुरु भएको उनिहरुको सबन्धलाई गहिरो प्रेम सम्बन्धमा रुपान्तरण गर्ने काम पनि रोमीले नै गरेकी थिई । भलै बिहे गर्ने प्रस्ताव रमेश ले राखेको थियो । अथवा रमेशलाई बिहेको प्रस्ताव राख्न बाध्य बनाएकी थिई रोमीले, बाध्य बनाएको थियो उसको मिठो बोलीले, उसले रमेश प्रति देखाएको मायाले, आशक्तिले,  रोमिको कुरा गर्ने ढङ्गले,  रोमीले ब्यक्त गर्ने जीवन भोगाईका दार्शनिक अभिव्यक्ति ले रमेशलाई साच्चिकै उसले नयाँ जीवन सुरुवात गर्ने हौसला दिएकी थिई । जीवन जीउनुको अर्थ सिकाएकी थिई । रमेशको विक्षिप्त पारिवारिक मनस्थिती लाई नयाँ रुप र उर्जा दिएकी थिई  । त्यसैले त रमेश रोमी प्रति आशक्त भईसकेको थियो,  रोमी प्रति मन लोभिएको थियो । उ सोच्थ्यो यस्ती जीवन सङ्गिनी पाए पो जीवन जीउनुको मज्जा हुन्छ अर्थ हुन्छ जीवनमा केही गरेर देखाउन सकिन्छ ।

रोमिले एक दिन म्यासेन्जरमा भनेकी थिई-“ रमेश, तपाई कस्ती केटी संग जिवन विताउन चाहनुहुन्छ?”
रमेशले अनायसै जवाफ फर्काएको थियो “तिमी जस्ती”
रोमीले हाँसेको स्टिकर पठाई ।  लेखी “साँच्चै?”

अनि रोमी कतै व्यस्त भई , रमेशले जवाफ फर्काउने हिम्मत गरेन । उसलाई लेख्न मन थियो “हो साँच्चै, तिमी जस्ती संग घरवार जोड्न चाहन्छु, तिमी संग बिहे गर्न चाहन्छु”

तर उसले केही नलेखीकनै अफलाईन भयो । रमेशको मनले ढ्याङ्ग्रो ठोक्न थाल्यो । रोमीसंगको कुराकानीहरु सम्झ्यो, उसलाई निद्रा लागेन भोक लागेन तिर्खा लागेन । केवल रोमीकै बारेमा सोच्न थाल्यो । अगुल्ठोले हानेको कुकुरले बिजुली चम्कदा तर्सिन्छ भने जस्तै रोमी पनि रमिता जस्तै महिला त हो छाडेर हिड्ने हो की भन्ने संशय रहन्छ रमेशमा । अर्को मनले सोच्छ ‘होईन रोमी रमिता जस्ती छैन उसको विचार रमिताको भन्दा भिन्न छ,  रोमीमा विश्वास गर्नु पर्छ।’
फेरी सोच्छ “यदी कोही केटीलाई विश्वास नै नगर्ने हो भने अब घरजम कसरी हुन्छ?” एक दिन पछि रमेशले रोमीलाई अफलाइन म्यासेज लेख्छ “हो रोमी, म तिमी जस्तै केटी संग बिहे गर्न चाहन्छु, म तिमी संग बिहे गर्न चाहन्छु, I Love You Romi”

रोमीले बेलुका जवाफमा लेखेकी थिई “रमेश, तपाईले कति सजिलै विहे गर्छु भन्नुभयो, म अहिले नै पुर्ण रुपमा स्वीकार गर्दिन, तर यो निर्णय लिनुभन्दा अघि राम्रो सङ्ग सोच्नुहोला सम्बन्ध भनेको कुहिएको खरको पिङ जस्तो हुनुहुन्न दुई झड्कामा नै चुडिने, सम्बन्ध तोड्नलाई होईन जीवनलाई सही दिशा दिएर लक्ष्य हासिल गर्नको लागी हो, यो अजम्वरी हुनु जरुरी छ” ।

यसपछि दुबैजनाले संगै जिउने प्रण गरेका थिए कहिल्यै नछाड्ने  एक अर्कालाई साथ दिने कसम खाएका थिए ।
रमेशले घर फर्कने खबर रोमीलाई पनि दिएको थियो । यो खबरले रोमीपनि निक्कै उत्साहित थिई । रमेश पनि घर फर्केपछि रोमीलाई भेट्न पाउने कुराले झनै रोमाञ्चित थियो । सम्बन्ध जति नै अघि बढे पनि रोमीको तस्वीर देखेको थिएन उसले । देखेको थियो त केवल रोमीका मर्मस्पर्शी शब्दहरू सुनेको थियो केवल उसको मनै लठ्याउने आवाज। त्यसैले रमेश रोमीलाई हेर्न आतुर थियो । रमेशले रोमीलाई फेसबुकमा फोटो पठाउन आग्रह नगरेको पनि होईन तर रोमीले अनुहारमा आकर्षित हुनेहरुले मनले माया नगर्ने मनको भावना संग नभई शरिरलाइ माया गर्ने हुनाले पछि एकैपटक भेटघाट गर्ने कुरा गरेकी थिई । रमेशले कर गर्न सकेको थिएन । रोमीले फेसबुकमा प्रोफाईल पिक्चर पनि लालीगुराँसको फूल राखेकी थिई । त्यसैले रमेश रोमीलाई भेट्न निकै आतुर थियो ।

रमेश घर फिरेपश्चात रमेशका घरपरिवार निकै खुसी भए । रमेशकी बहिनी पनि माईती आएकी थिई आयुश्मालाई सङ्गै  लिएर । उसो त आशा घरमा भन्दा धेरै माईतीमै बस्थी । रमेशले आयुश्मालाई निकै माया गर्थ्यो सानै देखी उसलाई बोकेर हिँड्थ्यो  रमेश  । उसको सिगान पुछिदिने कपडा फेरिदिने खेलाउने सबै गर्थ्यो। त्यसैले त रमेशलाई पनि खुबै माया गर्थीन आयुश्माले । रमेश घर आए देखी ठुलाबा ठुली आमा लगायत छरछिमेकमा भेटघाट गर्न जाँदा आयुश्मा रमेशको हात समायरै संगै हिडेकी थिई ।

रमेश घरमा आए पछि रमेशको मामाले रमेशलाई अब बिहे गरम  भाञ्जा सधै एक्लो जीवन जीउन सकिदैन गाह्रो हुन्छ  भनी सम्झाए । रमेशका बाबु आमा पनि बिहे गर्नुपर्छ भन्ने थाले । छरछिमेकको  पनि उही गुनासो रह्यो । रमेशलाई पनि लाग्यो “बिहे त गर्नुपर्छ ।”

घरमा आएपछि रमेश र रोमीको फोन सम्पर्क भएको थिएन गाउँघरमा ईन्टरनेटले राम्रो काम नगर्ने भएकोले म्यासेन्जरमा पनि कुरा हुन सकेन । रमेश ले नेपाल टेलिकमको नया सिम कार्ड किनेर ल्यायो र रोमीलाई फोन गर्यो ।

रमेशले फोनमा आफुलाई घरपरिवारले बिहे गर्ने प्रश्ताव गरेको कुरा बतायो । रोमीले पर्सी मङ्गसीर २५ गते सन्धिखर्कमा भेटौन भनी ।

रमेश रोमीलाई भेट्ने उसको सुन्दर अनुहार लाई पहिलो पटक दर्शन गर्ने, बिहे गर्ने कुरालाई मन भरी लिदै रातभर निदाउन सकेन । मनभरी उ संगका कुराकानी हरु मनभरी खेलिरहे । उ संग एउटा सुन्दर जीवन सुरुवात गर्ने परिकल्पना गर्यो। रमितासँगको सम्बन्ध टुट्नुमा आफू विदेशिनुलाई दोषी पायो र अब विदेश नगई स्वदेश मै केही गरेर रोमीसँग जीवन बिताउने योजना बनायो । उसको जीवनको सङ्क्रमणकालीन अवधीलाई पार लगाउँदै सुन्दर स्थायी जीवन जिउने प्रण गर्यो।

पर्सी पनि आजमा रुपान्तरण भईसकेको थियो । हिज‍ोसाँझ चाडै निदाउन नसकेकोले रमेश सिरक मुनि नै थियो । उसको मोबाईल घुर्र घुर्र गर्दै करायो । यति बिहानै कसले मिस कल गर्यो भन्दै ओछ्यानबाटै तन्किएर मोबाईल लियो र हेर्यो । कसैको मिसकल नभएर रोमीको म्यासेज थियो । लेखिएको थियो “गुड मर्निङ डियर, उठ्नुभयो त ?

सन्धिखर्क कतिबेला आउने, मलाई कसरी चिन्नुहुन्छ त?”
जवाफमा रमेशले लेख्यो “Gd Mrng Romi, खाना खाएर आउछु। तिमीलाई कसरी चिन्ने केही क्लु देउ न त । तिमी मलाई चिन्छ्यौ त?”

उताबाट आयो “म त तपाई लाई चिन्छु, तपाई सधै म संगै त हुनुहुन्छ नि हजुर। दिउसो दुई बजे सिद्धेश्वर मन्दिर मा भेट्ने है त, निलो ब्लाउज निलै सारी लगाएकी पातली, ठिक्क अग्ली गहुगोरी केटीलाई पर्खिरहनु ।”
रमेश हतार हतार उठ्यो अनि नित्य कर्म गरी बहिनीलाई छिटो खाना बनाउन भन्यो । बाहिर घाम थापेर बसेकी आमाले कराउनुभयो-“ काँ जान्चस र कान्छा चाँडै खाना बनौन भन्चस ।”

रमेश माथिल्लो तल्लामा रहेको उसको कोठैबाट बोल्यो “चुत्रेसी जान्छु के आमा”
“अस्ति नि गईतिस हय आज केन जान परो फेरि”
“तिम्लाई कान्छी बुहारि ल्याउन के आमा” भन्न मन थियो रमेशलाई तर “त्यसै” भन्यो ।

आमा छोराको कुरा सुनेर बहिनीले भान्सा बाट निस्कँदै भनि “आयुश्मालाई पनि लैजानुस न दाई हात सुन्नाईछे तेस्ले”
दश बजे तिर रमेशले आयुश्मालाई साथमा लिएर सन्धिखर्क तिर हिड्यो । आयुश्मालाई चेक जाँच गराई औषधी लिएर सिद्धेश्वर मन्दिर तिर लाग्यो । आयुश्माले हात समाएर हिडेकी थिई मामाको।

भद्रीखोलाको पुल पार गरी सिद्धेश्वर मन्दिरको सिडी चढ्दै गर्दा आयुश्माले रमेशलाई रोक्दै भनी-“हेर्नुस त मामा माईजु”
“को माईजु”
“पछाडी हेर्नु न पुलमा, त्यो निलो साडी लगौनी हाम्रो रमिता माईजु होईन?”
रमेशले पछाडी फर्केर पुलमा हेर्यो, निलो ब्लाउज निलो साडी लगाएकी पातली पातली, ठिक्क अग्ली गहुँगोरी रमिता उनीहरु भएतिर आउँदै थिई । मोबाइलमा हेर्यो-दिउँसोको २:०० बजेको थियो ।

रमेशले आयुश्मालाई डोर्याउदै मन्दिरमा नरोकिएर जनज्योती उ.मा.वि. को गेटतिर निस्कियो । आयुश्माले रमिता भएतिर हेर्दै थिई ।

रमिता नै रोमी हो भन्ने थाहा पाए पछि रमेश छाँगाबाट खसेजस्तै भयो । उसले के गर्ने के नगर्ने सोच्नै सकेको थिएन । त्यस पश्चात रमिताले पनि फोन गरेकी थिईन न त रमेशले नै फोन गर्ने हिम्मत गर्यो ।

रमेशले फेसबुक खोल्यो । अफलाइन म्यासेज रहेछ रमिताको । उसलाई पढु की नपढु दोधार भयो तैपनि पढ्यो । रमिताले लेखेकी थिई – “ प्रिय रमेश, तपाई हिजो पनि प्रिय हुनुहुन्थ्यो आज पनिहुनुहुन्छ र भोलि पनि हुनुहुनेछ । मैले तपाई लाई भुल्न सकेको छैन । रमिता नै रोमी हो भन्ने थाहा पाएर सायद तपाईँमा बज्रपात भयोहोला । यदी तपाई ले मलाई माफ गर्नुहुन्छ भने बाकी जीवन सङ्गै बाँचौ । तपाईमा म प्रतिको मायाको अवशेष बाकी नै छ भन्ने मैले बुझेकी छु, र त तपाईले अरु कसैलाई श्रीमतीको रुपमा स्वीकार गर्नुभएन बिहे नगरी आज सम्म बस्नुभएको छ । म तपाई को साथको अपेक्षा गरेकी छु”

रमेशले जवाफ लेख्न सकेन ।
रमेश फेरी विदेश जाने दिन आयो । आमाले रातो टिका निधारमा लगाई दिएर आशिर्वाद दिईन्, रमेशले आमा बाबालाई खुट्टामा ढोग्यो । अरु पटक भन्दा यस पटक रमेशको अलि भावुक अनि निन्याउरो देखिएको थियो । रमेशको आँखा रसायो । सायद पहिलो पल्ट आँसु झरेको थियो विदेश हिँड्दा ।

रमेश विदेश गएको तीन वर्ष वित्यो । रमेश घर फर्केन तर बेला बेला मा आमा बाबु सङ्ग फोनमा कुराकानी हुन्थ्यो । फोनमा अर्को वर्ष दशैमा घर आउँछु भन्थ्यो तर दशैमा खर्च आउथ्यो तर उ आउदैनथ्यो ।
उसकी आमाको उ घर फर्केपछि बाजा बजाएर कन्या केटी बुहारीको रुपमा धुमधाम संग भित्र्याउने चाहना पुरा हुन सकेन ।

रमेश विदेश गएको पनि पाँच वर्ष पुरा पुगेर छ लागीसकेको थियो । रमेशको फोन पनि पातलिदै गएको थियो ।
यसै वीच आमालाई पशुपतिनाथको दर्शन गर्ने रहर लागेर आयो र राती सुत्ने बेलामा बुढालाई बुढालाई यो कुरा सुटुक्क भनिन । बुढाले पशुपतिनाथको दर्शन पनि गर्ने आफ्नो घुँडा दुखेको उपचार पनि गर्ने, एक पन्थ काज हुने सोचेर सहमति प्रकट गरे ।
बुढाबुढी काठमाडौं हिँडे, विहान ९ बजे गाडी चढेका उनीहरु बेलुका ५ बजे तिर कलंकीमा ओर्लेका थिए । पछाडीबाट एउटा ठिटोले सोध्यो “बा आमाले होटल खोज्नुभएको”

बुढाले पछाडी फर्किदै बोले “हो बाबु”
त्यो ठिटोले उनीहरुलाइ एउटा होटलमा लग्यो । होटलको नाम थियो “पश्चिम नेपाल रञ्जना गेष्टहाउस” ।
बुढाबुढीले होटलमा आराम संग रात विताए। अर्को दिन बुढा बुढी बिहानै नुवाईधुवाई गरेर पशुपतिनाथ दर्शन का लागी तयार भए । विहानै हिड्ने लागेको देखेर होटलमा काम गर्ने केटाले सोध्यो ” बाआमा विहानै कता हिँड्नुभएको?”
“पशपति दर्शन गर्न जान लाईम बाबु” बुढीले जवाफ फर्काईन ।
केटा फेरी बोल्यो -“हाम्रो मालिक मालिक्नी पनि जान लाउनु भछ, संगै जानु न ”
यत्तिकैमा माथिल्लो तल्लाबाट एउटी चार पाच वर्षकी केटी उफ्रिदै सिढी ओर्ली, माथिबाट मसिनो आवाज आयो “रञ्जना, विस्तारै हिड् न, लडिन्छ”। बुढा बुढी त्यो काम गर्ने केटा सबैले माथि सिडी तर्फ हेरे । नुहायर चिसै कपाल त्यत्तिकै छाडेकी, रातो सारी लगाएकी रमिता हातमा पुजाको थाली लिएर टक टक तल ओर्ली, पछि पछि रमेश थियो ।

सबैले सबैलाई देखे हेर्या हेर्यै भए । रमेश र रमिताको पुनर्विवाह भएको कुरा सबैको सामु छताछुल्ल पोखियो ।
बुढाबुढी काठमाडौं गएको दुई महिना पछि रमेशको गाउँको घरमा जाँदा ढोकामा ताल्चा लगाएको थियो । आजकाल बुढाबुढी काठमाण्डौं मा बस्छन् रे ।

***

प्रतिक्रिया

सम्बन्धित खवर