– आर.पि.सी. संगम
१,
पुज्दै थियौ कलश र दियो आँखा रसाइहाले
घाँटीमा दुबोको माला थियो आँखा रसाइहाले
सम्हालिन्छु सबको सामु आँसु झार्दिन सोचेँथे
नजर गई सिउँदोमा अल्झियो आँखा रसाइहाले
२,
विगत सम्झी पार्नलाई रूनी माईत आकी छन्
गा’की मान्छे नआइदिए हुनी माईत आकी छन्
नबोलाउँ मन मान्दैन,बोलाउँ के नाताले बोलाउँ
घरमै भित्र्याउँछु सोचेकी उनी माईत आकी छन्
३
दिनमै सन्नाटा थियो सेरोफेरो रात देखाएथ्यो
नाघेर विश्वासको चौघेरो लात देखाएथ्यो
अझै त्यही सम्बन्ध घुमीरहन्छ आँखा वरिपरि
जुन सम्बन्धले मलाई मेरो औकात देखाएथ्यो
४,
मन-मुटुमा देश छ,आँखा वरिपरि घरको याद छ
ओठहरू मौन छन्,हृदयमा चीत्कार छ आर्तनाद छ
एक परदेशी घर फर्कोस् अभावको तारेभीर छ अगाडि
नफर्कोस् पछाडि जवानी फाँसी चढाउने जल्लाद छ
५,
एउटा प्रश्न सोध्छु आमा! कसरी छिरे होलान्?
यति बिघ्न आँसु आँखामा कसरी छिरे होलान्?
टाउको ठोक्किएर फर्किन्छन् सधैं तिल जत्रा खुसी
पहाड जत्रा दु:ख हाम्रो दैलामा कसरी छिरे होलान्
***
प्रतिक्रिया
-
४