– शारदा खनाल
हरिभक्त उपाध्याय अहिले जीवनको तिरासियों वर्षमा चलिरहेका छन् । पाँच वर्षअघि श्रीमती गुमाएका उनलाई अहिले नन्दबहादुर पुन (नन्दु)) ले लौरो बनेर सेवा दिइरहेको छ । तलब खाएर काम गरे पनि उसले बुढालाई आफ्नै बाबुलाई जस्तै माया दिएको छ । श्रीमतीको मृत्युपछि उनी शारीरिक रूपमा पनि गल्दै गएर धेरै कमजोर भएका छन् । उनी सुतेको कोठाको भित्तामा श्रीमती र छोराछोरीका फोटा झुण्डिएका छन् । बिछ्यौनामा पल्टेर दिनभरि तिनै फोटामा आँखा पुयाउँछन् । घरिघरि गहभरि आँसु बनाउँछन् । श्रीमती र छोराछोरी साथमा हुँदा मन खुसी थियो। झ्यालबाट देखिने प्रकृति पनि मनमोहक र सुन्दर लाग्थ्यो । आज त्यही प्रकृति विकराल लागेको छ । मुटुमा गाँठो पर्छ । एकदिन बढी बाँच्न पनि दिग्दार लागिरहन्छ । भएका सबै सन्तान विदेशमा छन् । वृद्ध बाबुलाई फोनबाट सम्झन पनि भ्याउँदैनन् ।
लाखौं पर्ने पलङमा सुत्दा पनि बुढाको आँखामा निन्द्रा आउँदैन । रातभरि आफ्नो विगत र वर्तमानको तुलना गरी बस्दा उनको मन भतभती पोल्छ । विरक्तिएर अब त मर्न पाए हुन्थ्यो नि भन्ने वाक्य दोहोऱ्याइरहन्छन् । बुढेसकालमा सन्तानको माया नपाउनुको पीडा कति दर्दनाक हुन्छ । त्यो भोग्नेलाई मात्र थाहा हुन्छ । पीडा के हो उनले राम्रोसँग भोगिसकेका छन् । पैसाले शान्ति नदिँदोरहेछ । सबैभन्दा ठुलो सुख नै सन्तान सुख रहेछ भन्ने कुराको राम्रो अनुभूति भएको छ । आफ्नो त तक्दिरमै खास सुख लेखेको रहेनछ भनी उनी रातदिन भुतभुताइरहन्छन् ।
पहिले हरिभक्त उपाध्यायको आफ्नो गाउँमा छुट्टै रौनक र दमदमी थियो । गाउँमा उनी सम्पन्न वर्गमै पर्दथे । खानपान, जीवनशैलीमा पनि गाउँमा म अरुभन्दा उपल्लो दर्जामा छु भन्ने अभिमान थियो । पुख्र्यौली सम्पत्ति नै उनको जिवीकोपार्जनको आधार तथा मेरुदण्ड थियो । उनको आफ्नो कमाइ एककौडी पनि थपिएको थिएन ।
हरिभक्तका तीन भाइ छोरा र एउटी छोरी छन् । सबै वैदेशिक रोजगारीमा । सुरुमा त उनका छोरा अध्ययनका लागि अमेरिका, अष्ट्रेलिया, बेलायत गएकाले उनी चलाइनसक्नुका, बोलिनसक्नुका भए । गाउँमा अरुलाईसम्म छोराछोरीको कमाइ डलरमा बुझ्ने भए विदेश पठाऊ । यहाँको कमाइले त पेटभरि भात खान पनि पुग्दैन भनी पेलेर बोल्थे । हुन पनि त्यस गाउँका धेरै मानिसले उनका छोरा पुगेका देशका नामसम्म सुनेका थिएनन् । छोराछोरी विदेश पठाउने कुरा त परै रह्यो । नाम सुन्नेलाई पनि बाहिर जाने प्रकृया नै थाहा थिएन ।
हुन पनि जेठो छोरो प्रताप अमेरिका, माहिलो प्रशान्त अस्ट्रेलिया, कान्छो प्रवीण बेलायत र छोरी प्रजीता क्यानडामा थिए । चारै ओटा छोराछोरी संसारका उल्लेख्य देशमा हुनु हरिभक्तको गौरवकै कुरा थियो । उनले आफन्त तथा इष्टमित्रसँग भन्थे “म जस्तो भाग्यमानी मान्छे यो गाउँमा अरु को छ ? चाहना मात्रै गरे मेरा छोराछोरी तिनै देशका नागरिक बन्न सक्छन् । तिनै देशमा घर किनेर बस्न सक्छन् । हामी बुढाबुढी पनि इच्छानुसार तिनै देशमा घुम्न सक्छौं । बस्न सक्छौं । यति भए मलाई अरु नै के चाहियो र !”
उनका छोराहरू सबै पढाइका सिलसिलामा विदेश गएका हुन् । छोरी प्रजीता विवाहपछि श्रीमान्का साथमा क्यानडा पुगेकी हुन् । आर्थिक रूपले सम्पन्न भए पनि हरिभक्त फटाहा, शोषक, सामन्त भने थिएनन् । बाबुबाजेले आर्जेको सम्पत्तिमा बसेर गाउँमा सबैभन्दा अग्रस्थानमा छु भन्ने दम्भ भने उनमा थियो । सुरुसुरुमा त छोराहरूले बाबुआमालाई टेलिफोन गर्ने, बचेको पैसा आधुनिक सुविधा जुटाएर बस्नोस् भनी पठाइदिने, सामाजिक काममा खर्च गर्नुहोस् भन्ने गर्थे । बारबार स्वास्थ्यमा पहिलो प्राथमिकता दिनुहोला है भन्थे । छोराहरूका यस्ता मायालु व्यवहारले हरिभक्त दम्पतिका खुट्टा भूइँमै थिएनन् ।
तीन भाइ छोरा र छोरीको पढाइ पनि पूरा भयो । सबैको क्रमशः विवाह पनि भयो । प्रताप र छोरीको विवाह हरिभक्तले आफैले जानेबुझेका कुटुम्बकहाँ कुरा चलाएर गरिदिए । माहिलो प्रशान्त र कान्छो प्रवीणले आफू उतै पढ्ने नेपाली केटी मन पराएपछि विवाह गर्ने स्वीकृति दिए । माहिलोको विवाह अष्ट्रेलियामै भयो भने कान्छोले नेपालमै आएर विवाह गन्यो ।
विवाहपछि छोराबुहारी, छोरीज्वाई आ-आफ्नै सपनाका संसारतिर गए । घरबार जमेपछि छोराहरूको बाबाआमालाई गर्ने टेलिफोन पनि अलि पातलो हुँदै गयो । कुरा पनि छोटिन थाले । नेपालमा जस्तो एक जनाले कमाएर छसात जना पालिने देश ती परेनन् । सबैजना काममा कस्सिनुपर्ने, यन्त्र जस्तै चल्नुपर्ने यान्त्रिक जीवनमा उनीहरू अलि व्यस्त पनि हुँदै गए । अब उनीहरूको उद्देश्य जतिसको धेरै पैसा कमाउनु थियो । विदेशमा सेटल हुनु थियो । पकाउन नभ्याएर प्याकेटको खाना खानुपर्ने, हरबखत पैसाकै लागि कुद्नुपर्ने बाध्यता थियो ।
खुट्टामा बल हुँदासम्म त छोराछोरी बाहिर भए पनि हरिभक्तका बुढाबुढी अत्यन्त खुसी थिए । छोराहरूले टेलिफोन गरेर सञ्चोविसञ्चो सोधिरहन्थे । पैसा चाहिए भन्नुहोला हामी पठाउँछौ भन्थे । पालैपालो दसै तिहारमा घर आउँथे । जग्गाजमिन भए पनि हामीले पढ्दा हजुरसँग भएको नगद सकियो । कुनै सामाजिक काम गर्ने चाहना छ भने गर्नुहोस् । हामी पैसा पठाइदिन्छौं भन्थे । आमालाई थप गहना लगाउने मन छ कि भनेर सोध्थे । तर विवाह गरेको डेढ दुई वर्षमा उनीहरूका भर्सन यसरी नै बदलिए- “बाबा अब त्यहाँका जग्गाजमिन हामीलाई चाहिने होइन । यता पनि बालबच्चा भए । खर्चका बाटा थपिँदै गए । यसर्थ जग्गा बेचेर त्यताका काम चलाउनुपर्यो ।”
बुढाले भने – “गाउँका जग्गा बिके पो बेच्नु । बिक्ने बेलामा सबै बेचेर सुविधासम्पन्न ठाउँमा गएको भए हुने रहेछ । त्यतिबेला मनले आफ्नो गाउँ छोड्नै नहुने ठहर गयो । अहिले छोराछोरी विदेशिए । जग्गाजमिन सबै बाँझिए । दिनभरि हिँडेर नसकिने जग्गा छन् । बेचेर पैसा आउँदैन । बिक्ने जग्गा तिमीहरूलाई पढाउँदा नै बेचियो । नगद पनि सकियो। खुट्टामा रगत पनि सकियो ।”
छोरा विदेश गएको पाँचसात वर्षसम्म त बुढाका धाकै बेग्लै थिए । त्यतिबेला बुढालाई मैले भेट्दा पनि ठुल्ठुला कुरा गर्थे । उनी भन्थे- ” हेर विशाल यो गाउँमा म सबैभन्दा भाग्यमानी रहेछु । संसारलाई हाँक दिन सक्ने देशमा मेरा छोराछोरी पुगेका छन् । हजुरहरूलाई केके चाहिन्छ भन्नोस् भनेर सोधिरहन्छन् । हामी बसेका ठाउँमा आउन पासपोर्ट बनाउनुहोस् । भिसा पठाइदिन्छौं भन्छन् । सधै यतै बस्नेगरी आए पनि आउनुहोस् भनेर आग्रह गर्दछन् । चार ओटा देशमा त मज्जाले घुम्न र त्यतै बस्न पनि सकिने भयो । त्यतैबाट अन्य राष्ट्र पनि घुमाइहाल्छन् नि छोराछोरीले ।”
एकछिनपछि बुढाले मलाई पनि सोधे तिमी के गर्छौ बाबु ? पढाइ कति पुन्ययौ ? सकेसम्म तिमी पनि राम्रो देश हेरेर बाहिर जाऊ डलर कमाउन । मैले भने “मलाई त बुबा विदेशप्रति मोह छैन । आफ्नै देशमा रगत पसिना बगाउने हो । आधा पेट खाएर भए पनि आफ्नै माटोमा बस्ने हो । मलाई त बुवा पैसा मात्र सबैथोक हो जस्तो लाग्दैन । सुब्बाको जागिर खाइसकेको छु । शाखा अधिकृतको तयारी गरिरहेको छु। यो पटक सायद नाम निस्कला । नेपालमै बसे बुवाआमा र आफन्तसँग टाढा हुनु पर्दैन । बेलाबखत भेट्न पनि पाइन्छ । त्यसैले म विदेश जान्न ।”
मेरो कुरा सुनेपछि बुढाले भने “धिक्कार ! छ तिम्रो बुद्धि । अधिकृत होइन सचिवै भए पनि नेपालमा चालीस हजार तलब छैन । त्यति पैसाले त भात खान पनि पुग्दैन । मेरा छोरा हेर त कसरी सेटल भएका छन् । मैले भनेको मान्छौ भने बेलैमाथि बाहिर जाऊ । बरु मैले छोराहरूलाई सहयोग गर्न भनूँला ।”
बुढाका कुरा सुन्न दिक्क लागेर म उनीसँग बिदा भएर हिँडे । आफ्नै कुरा माथि पार्नेसँग लामो बहस गरिन। मैले मनमनै भने विदेश गएका कोही फर्केर आउँदैनन् । आफ्नो भाषा, माटो, संस्कृति, सभ्यता, मूल्य र मान्यता सबै बिर्सिसके । बुढेसकालमा पुर्पुरो समाउनु पर्दा बल्ल थाहा पाऊला बुढा !”
छोराछोरीले पालैपालो छोटोछोटो समयका लागि बाबाआमालाई आफू बस्ने देशमा लगे । उनीहरू ढोगी नभएकाले जहाँ पनि सहज रूपमा बस्न सक्थे । कुनै छोराछोरीले पनि स्थायी रूपले यतै बसौं भन्न सकेनन् ।
छोराछोरीबाट नातिनातिना जन्मे । हरिभक्त दम्पत्तिलाई कतिबेला देखी र छातीमा टाँसौं जस्तो भयो। तर टाढा हुनाले देख्नसम्म पाएनन् । तडपिएर बस्नुपरयो । त्यतिबेला अहिले जस्तो भिडियोकल गर्ने सिस्टम थिएन । हातहातै मोबाइल पनि थिएनन् । टेलिफोनबाट बोलीसम्म सुन्न पाइन्थ्यो ।
गाउँमा मध्यमवर्गीय परिवारका छोरा, छोरी, बुहारी कति शिक्षक, प्राध्यापक भएर त कति निजामति कर्मचारी, वकिल, व्यावसायी भएर आफ्नै देशमा
बसेका छन् । बाबुआमासँग निकट रहेका छन् । यस्तो देख्दा हरिभक्तलाई औडाहा हुन लाग्यो । शिक्षक भएका छोराबुहारी घरमै हुँदा बुढाबुढीले नातिनातिना खेलाएर तिनैसँग रमाएको देख्दा उनीहरूले एक्लोपनको अनुभूति गर्न थाले । सहरतिर जागिर खाने, व्यापार विजनेस गर्ने छोराबुहारी पनि बेलाबखत गाउँ आउँथे । बुढाबुढीले नातिनातिना भेट्न र खेलाउन पाउँथे । गाउँमा आफूलाई सबैभन्दा भाग्यमानी ठान्ने हरिभक्तको यताउता हेर्दाहेर्दै मन बिग्रिन थाल्यो । अब उनले छोराछोरी नजिक हुने बुढाबुढीलाई सबैभन्दा भाग्यमानी देख्न थाले ।
नातिनातिना देख्न मन लाग्यो । यसो कहिलेकाँही त घर आओ न भनेर बुढाबुढीले बारबार भनिरहे । उनीहरूका कानमा बतास लागेन । कहिले आफ्नो छुट्टी मिलेन । कहिले छोराछोरीको स्कुल बिदा छैन । कहिले घर किनेको ऋणले थिचेको छ। लगभग सबैले बनाउने बहाना यस्तै-यस्तै थिए । केटाकेटीको बोली त सुन्न देऊ भन्दै टेलिफोन गर्दा बच्चाहरू कसैले नेपाली बोल्नै नजान्ने उनीहरू बोलेकै नबुझ्ने । दशैं तिहार जस्ता पर्व बुढाबुढीले सधै आँसुमा डुबेर बिताउनुपर्ने । अरुका घरमा छोराछोरी आएको र रमझम रमाइलो गरेको देख्दा झनै विरक्त लाग्यो। हुँदाहुँदा हरिभक्तले जीवनभर जोतेर आफ्नो जिवीका गर्ने एउटा हलीलाई भन्दा पनि आफूलाई गरिब ठान्न थाले ।
आफ्नो भाषा र संस्कृतिको संरक्षण जहाँ बसेर पनि गर्न सकिन्थ्यो । मातापिता र आफ्नो मुलुकभन्दा ठुलो संसारमै कोही र केही हुँदैन । ती नै बिर्सेर विदेशमा बस्न सक्ने विवेकहीनलाई केही बोल्नु भनेको शब्दको नाश मात्र हो । छोराछोरी त आफूले पनि जन्माएका छन् । यिनी सधै अहिले जस्तै बलिया पनि नरहलान् । यस्ता बाबुआमाबाट छोराछोरीले कस्तो संस्कार सिकेर बुढेसकालमा सेवा गर्लान् । यस्ता सन्तान हुनुभन्दा नहुनु नै बेस भन्दै बुढाबुढीले लामो सुस्केरा फाल्थे ।
करिब बिस वर्षपछि मेरो भेट फेरि हरिभक्त बुवासँग भयो। हामी पहाडको जग्गा बेचेर तराई झरेको हुँदा र जागिरमा व्यस्त रहने हुँदा त्यता जाने अवसर जुरेको थिएन । बुवाआमाले आफू बसेको ठाउँमा जान रहर गर्नुभएपछि समय मिलाएर मैले गाउँ लिएर गएँ । म त्यतिबेला नेपाल सरकारको मुख्य सचिव भएको हुँदा कार्यक्रमकै आयोजना गरेर गाउँमा मेरो भव्य स्वागत र सम्मान भयो । त्यही मञ्चमा राष्ट्रका गहना बन्न सफल यति राम्रो छोरा जन्माउने र पढाउने अभिभावक भनी मेरा बाबाआमालाई पनि सम्मान गर्नुभयो ।
हरिभक्त बुवा पनि त्यही कार्यक्रममा आउनुभएको रहेछ । गाउँका जिम्मुवाल जनार्दन उपाध्यायका छोरा हरिभक्तले कुनै लाभको पदमा नबसी गाउँका समस्या मिलाउँदै आएका हुँदा गाउँमा उनलाई पनि सबैले इज्जत गर्थे। म अरुभन्दा माथि छु भन्ने अलिअलि खानदानी दम्भ भए पनि उनी शोषक सामन्त भने थिएनन् । संसारका नाम कहलिएका देशमा छोराछोरी पठाएर देशविदेश भ्रमण गर्ने सोच बनाएका हरिभक्तका छोराछारीले नेपालै बिर्सेर बसेपछि वृद्ध अवस्थासँगै उनको लुल खस्दै गएको थियो ।
बिस वर्ष पहिले भेट्दा मलाई विशाल तिमी पनि राम्रो देश हेरेर डलर कमाउन जाऊ । यो देशका जागिरले भात खान पनि पुग्दैन भन्ने हरिभक्त बुवाले कार्यक्रम स्थलमै मेरो घाँटीमा झुण्डिएर रुँदै भन्नुभयो “बाबु मैले मेरा छोरा विदेश पठाएर ठुलो भुल गरें । उनीहरू जुन देशमा छन् त्यही देशका नागरिक भए रे । हामी बाबुआमालाई पनि पूरै बिर्से । जेठो एघार, माहिलो तेह्र र कान्छो घर नआएको दश वर्ष भइसक्यो । छोराहरू सबै कपुत भए । छोरी पनि क्यानाडामा थिई । कहिलेकाँही आउँथी । ऊ पनि मिर्गौला फेल भएर बितेको चार वर्ष भयो। ज्वाइँले फेरि बिहे गर्नुभएको छ रे । उहाँले पनि नयाँ ससुराली बनाएर अर्कैका ज्वाइँ हुनुभयो । हामीलाई बिर्सनुभयो । अहिले मेरो मोबाइलमा फोनको घण्टी नै बज्दैन । पहिले आफूभन्दा भाग्यमानी कसैलाई देख्दिनथें । अहिले गाउँमा सबैभन्दा अभागी आफैलाई देख्छु । तिमी | धन्य छौ बाबु नेपाल सरकारको उच्च पदस्थ कर्मचारीमा | जन्मभूमि र आफ्नो माटोको इज्जत राख्यौ । तिमी जस्तै सपुतको यहाँ खाँचो छ । तिमी राष्ट्रको गहना हो । हाम्रो गाउँको इज्जत र प्रतिष्ठा हौ । आज तिमी जस्तो सपुतलाई काखमा राख्न पाएर यो गाउँ नै धन्य भएको छ ।”
हरिभक्तले भने -“तिमी आएका छौ भन्ने थाहा पाएर मात्र म यहाँ आएको हो बाबु होइन भने घरबाट बाहिर निस्कन मन लाग्दैन। मैले देखेको मेरा छोरासहितको भविष्य दिवास्वप्न मात्र भयो। तिम्रो उन्नति प्रगति सुनिरहेको थिएँ । गाउँमा सबैले तिम्रो तारिफ गर्छन् । मुक्तिरामका बुढाबुढ कति भाग्यमानी रहेछन् । छोरो कुलद्वीप बन्यो भन्छन् । आज तिमीले यो
गाउँलाई नै स्वर्ग जस्तो बनायौ । मेरा छोराले आफ्नो घर पनि मसानघाट बनाए । देशै छोडेर अर्काको मुलुकको नागरिकता लिए। सन्तान नभएका भए बरु मेरो बेइज्जत त हुने थिएन । जिम्मुवाल जनार्दन उपाध्यायका नाति सबै विदेश पलायन भए भन्ने सुन्नु त पर्ने थिएन । कि त यी विदेश जानासाथ म नै मरेको भए हुन्थ्यो बाबु । मेरो जीवन बाँचे जस्तो भएन । ”
पालैपालो सबै छोरा उतैका नागरिक भए भन्ने कुरा सुनेपछि हरिभक्तकी श्रीमतीको भोकनिन्द्रा सबै हरायो । उनी निकै आकुलव्याकुल भइन् । धेरै माया गरेर हुर्काएका छोराछोरीले देशै बिर्सेका कुराले उनको मुटु छियाछिया हुन्थ्यो । बुढीले छोराहरूलाई फोन लगाउन भन्थिन् । बुढा मान्दैनथे । तिमीहरू नेपाली नै नरहेपछि अब हाम्रो किरिया पनि नगर्नु भनेर सबै छोरासँग आफ्नो पीडा पोखेका थिए । यसपछि फोन पनि आउन धेरै कम भएको थियो । आमा छोरा सम्झेर हुँक्कहुँक्क रुन्थिन् । त्यस्ता अपराधी छोरा सम्झेर पनि रुन्छेस् भन्दै बुढाले उल्टै बुढीलाई नै झपार्थे । एउटी भएकी छोरी पनि अल्पायुमा नै गएपछि हरिभक्तकी श्रीमती पिर पोख्ने ठाउँ नपाएर बगरको माछा जस्तै छट्पटिन्थिन् ।
रातदिन पिर गर्दागर्दा हरिभक्तकी श्रीमती बिरामी परिन् । जतिबेला पनि मुटु खायो भनेर कहराइरहन्थिन् । पकाएर खान दिने बुढी पनि बिरामी भएर ढलेपछि बुढालाई अझ समस्या थपियो। हरिभक्तले कान्छा बुवाको नातिलाई बोलाएर ठुलीआमालाई औषधि गर्न सहर लानुपयो बाबु भनेर रोए। हरिभक्त रोएको हेर्न नसकेको पवनले बुढीलाई उपचारका लागि काठमाडौं लग्यो । हरिभक्त पनि सँगै गए ।
काठमाडौंको मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रास्प्लान्ट सेन्टरमा लगेर चेकजाँच गरियो । मुटुमा गम्भीर समस्या भएकाले डाक्टरले ओपनहार्ट (बाइपास) सर्जरी गर्नुपर्ने बताए । पवनले यति गम्भीर अपरेसनमा दाजुहरूलाई बोलाऊँ बुवा भन्दा पनि हरिभक्तले मानेनन् । यो बाँची भने ठिकै छ । मरी भने पनि तिनीहरूलाई बोलाउने होइन बाबु भनेर बरर्र आँसु खसाले ।
हातमा धेरै नगद पैसा नएकाले मुख्यसचिव विशाल पौड्याललाई फोन गरे र भने -बाबु ! बुढीको बाइपास सर्जरी गर्नुपर्ने भयो । पैसाको बन्दोबस्त गरिदिनुपयो । बिक्यो भने खेत बेचेर दिऊँला। नबिके त्यही पास गरिदिउँला भनेर फोनमै भक्कानिए । विशाल दोडेर हस्पिटल गए। शल्यक्रिया राम्रोसँग हुनुपन्यो डा. साब भनेर हस्पिटल सुपरिटेन्डेन्टलाई भेटे । हरिभक्तलाई पैसाको बन्दोबस्त मैले गर्छु, चिन्ता नगर्नोस भनेर आश्वस्त पारे । हस्पिटलमा यताउता गर्न
पवन छँदैथियो ।
शल्यक्रिया सफल भयो । धेरै तनाव लिएर यस्तो भएको भन्ने कुरा डाक्टरले गरे । बाह्र दिनमा डिस्चार्ज भयो । अहिले नै बिरामीलाई लामो बाटो लैजानु हुँदैन । केही दिन मेरो घरमा बसौं भनेर विशालले हरिभक्तका बुढाबुढीलाई आफ्नो घरमा लगे । त्यहाँ उनीहरूको राम्रो स्याहारसुसार तथा सत्कार भयो । खाना पकाउने, घर सफा गर्ने, कपडा धुने सरकारी मान्छे नैं रहेछन् । एक महिनासम्मको त्यहाँको सेवाले बुढाबुढी पनि पखिए ।
एक दिन बाबु अब हामी घर जान्छौं । पवनलाई बोलाएर जाने होला कि के गर्नेहोला भनेर सोधे । पवनलाई दुःख नदिऊँ । चिन्ता नगर्नू । त्यसको व्यवस्था मैले गर्छु भनेपछि बुढा ढुक्क भए । आफ्नै गाडीमा राखेर घर पुऱ्याइदिए । विशाल दुई दिन गाउँमै बसे । आफूले पढेको स्कुललाई नयाँ भवन बनाउन सात करोड बजेट छुट्टाइदिएर काठमाडौं फर्किए ।
उपचार गरेर फर्केपछि पनि हरिभक्तकी बुढीले चिन्ता गर्न छोडिनन् । मुक्तिरामको छोरा त्यस्तो हुँदा हाम्रा छोरा यस्ता गद्धार हुने कुन जन्मका पापले होला भनेर चित्त दुखाइरहन्छिन् । भित्तामा झुण्ड्याएका छोराछोरीका फोटा हेरेर भक्कानिन्थन् । काठमाडौं विशालको घरमा जस्तो स्याहारसुसार उनलाई घर आएपछि भएन । सकिनसकी आफै भान्सामा लतारिनुपर्ने भयो । कर लगाएर खुवाउने पनि कोही भएन । घरका अन्य धन्दा गर्न नन्दबहादुर छँदैथियो । वास्तवमा छोराले भन्दा नन्देले उनीहरूको सेवा गरेको थियो । लठेब्रो भएकाले उसको विवाह पनि भएको थिएन । अलिअलि हातगोडा चल्ने र गरिखाने भएपछि हरिभक्तकै घरमा बसेको थियो ।
बुढीको उपचार गरेर फर्केपछि हरिभक्तले गाउँका इष्टमित्रसँग मेरो खेत बेच्नुपर्यो भनेर सुनाए । कतारमा बसेर पैसा कमाएकाले पहिले उनकै खेतबारी जोत्ने हलीको छोराले बाइलाखमा उनको खेत किन्यो । पाँच लाख बुढीको उपचारमा लागेको खर्च विशाल पौड्याललाई बैङ्गमा राखिदिए । सात लाख पैसा आफ्नो खातामा राखे ।
मुटुको शल्यक्रिया गरेर करिब दुई वर्ष बुढीको स्वास्थ्यमा सुधार देखिए पनि सन्तानका पिरले रातदिन पिरोलिँदा उनी फेरि थला परिन् । कति अभागी रहेछु । मर्ने बेलामा एउटा सन्तानको मुख देख्न पनि पाइन भनेर वरपरका दिदीबहिनी भेट्न आउँदा रुन्थिन् । रोएको देखे भने बुढाले झपार्थे । निराशामा पनि मानिस कति दिन बाँच्न सक्छ र ? एकातिर रोगले पनि पेलेको पेलै । एक दिन बिहानै गाउँमा हरिभक्तकी श्रीमतीको मृत्यु भएको गाइँगुइँ हल्ला भयो ।
वास्तविकता बुझ्न गाउँलेहरू उनको घरतर्फ दौडिए । त्यहाँ पुग्दा हो रहेछ । बुढीको शव तुलसीको मठमा सुताइएको थियो । बुढा नजिकै बसेर रोइरहेका थिए । नन्दे पनि आँसु बगाउँदै टोलाएर उभिएको थियो । एकैछिनमा आँगनभरि मान्छे जम्मा भए । छोराहरूलाई खबर भयो कि भएन ? उनीहरू आउन्जेल पर्खने हो कि दाहसंस्कार गर्ने हो ? भनेर जम्मा भएका मान्छेले कुरा गरे ।
यस्तो कुरा सुनेपछि बुढाले पवनलाई बोलाए । बाँचुन्जेल नहेर्नेले मरेपछि काजकिरिया गर्नुपर्दैन । त्यसैले तिनीहरू कसैलाई बोलाउनुपर्दैन । पवनले आफ्नो बाबुको काजकिरिया गरिसकेको छ । उसले मेरी बुढीको पनि किरिया गर्न मिल्छ । दागबत्ती पनि उसैले देओस् । किरिया पनि उसैले गरोस् भन्ने उद्घोष गरे ।
कसैले खबर नगर्नु भन्दा पनि कान्छो प्रवीणलाई गाउँमा कुन चाहिँ साथीले टेलिफोन गरिदिएछ । आमा बितेको चौथो दिन हस्याङफस्याङ गर्दै आइपुग्यो । दाजुहरूलाई प्रवीणले खबर गरेछ । उनीहरू पनि पाँचौं दिनमा आइपुगे । घर आएर रोएको नाटक गरे । बुढाले कुनै छोराको मुखमा हेरेनन् । खास किरिया पवनले गरेको थियो । छोरा भनाउँदा पनि आएर मिसिए। डलर कमाउनेहरूले दुनियाँलाई देखाउन आमाका नाममा दानदक्षिणा गरे । तर तिनै छोरालाई सम्झदै, तड्पिँदै रोएर मरेकी आमालाई देखेकाले भने छोराहरूलाई धेरै नै धिक्कारे । तेह्रौं दिनको काम समाप्त भयो । बुढा कुनै छोरासँग पनि बोलेका
थिएनन् । पन्ध्र दिनको तिथि सकिएपछि जेठो छोराले मुख खोल्यो- “बुवा ! आमाले पनि छोडेर जानुभयो । अब हजुर यो घरमा एक्लै बस्न हुन्न । हामीसँगै उतै जाऊँ । पालैपालो सबै भाइकोमा बस्नुहोला ।”
छोराका कुरा सुनेपछि हरिभक्तले भने -“आमा वर्षादेखि तिमीहरूलाई भेट्न नपाएर तडपिएर मरी । देवी जस्ती आमाको मायालाई लत्यायो । हाम्रो लागि कत्रो के गर्नुपरेको थियो र ? बेलाबखत टेलिफोनसम्म गर्न सकेनौ । यतिका वर्ष हामी चाहिएनौं । मर्दोजिउँदोसम्म खोजी गरेनौं । अहिले लोकलाई देखाउन हामीसँग हिँड भन्छौ । बरु यहाँ गिद्ध कौवाले खाऊन् । आफ्नो माटो छोडेर तिमीहरू जस्ता अविवेकी अनागरिकसँग म जाँदै जान्न । यही नन्देसँग बस्छु । तिमीहरूले भन्दा त यसैले बरु माया गर्छ । सेवा पनि गरेको छ ।”
हरिभक्तका तीनै भाइ छोरा आ-आफ्नो कर्मथलोतर्फ लागे । हिँड्ने बेलामा बाबुसँग नजर जुधाउनसम्म सकेनन् । उनीहरू हिँडेपछि बस्ने घर र अलिकति बारी छोडेर बाँकी सबै जमिन हरिभक्तले आफ्ना बाबुकै नाममा विद्यालयको नाम रहने गरी दान गरिदिए । घरसहितको बाँकी जग्गा शेषपछिको बकसपत्रसहित जीवनभर आफ्नो सेवा गरेर मन जित्ने नन्दबहादुर पुनको नाममा गरिदिए ।
***
प्रतिक्रिया
-
४