– सुदन लुँइटेल

गजल १,
सबैलाइ एकएक गरेर राम्ररी चिनेको छु मैले
धारिलो सिसा माथि कष्टसङ्ग हिनेको छु मैले

ढाटेर पनि कति दिन ढाट्न सक्छौ र
पर्दा पछाडि को को थिए गिनेको छु मैले

लेखेर बोलेर मात्र परिवर्तन नहुने रहेछ
आज कलमसङ्गै तरबार पनि किनेको छु मैले

तिम्रै दरबारको दलालहरु नदेख्ने आँखालाई
उपचार गर्न खुर्सानीको धुलो पिनेको छु मैले

झुट्टा मुद्दामा अड्डाअदालत जता जता झुलाउन
फलामे साङ्ग्लो आफ्नै हातले छिनेको छु मैले

गजल २,
धन थुपार्न सके दुनिया पछि लाग्दो रहेछ
सम्पत्ति नभए साथ नदिइ टाढैबाट भाग्दो रहेछ

ब्यापार गर्न पनि खासमा पैसा चाहिन्छ
ऋण लिन भुमिहिनसङ्ग जग्गाको पुर्जा माग्दो रहेछ

क्रान्ति क्रान्ति भनि खोइ कति क्रान्ति भए
समस्या जिउँको तिहुँ समाधान नभै थाक्दो रहेछ

देखेर पनि नदेखेको नाटक गर्ने भएसी
दिनदहाडै देश लुटिदा खोइ को जाग्दो रहेछ

काम जान्ने पौरखी जवानहरुको वास्ता छैन
येस्तै भएसि युवा जमातले देश त्याग्दो रहेछ
***

प्रतिक्रिया

सम्बन्धित खवर