– ईश्वर पोखरेल
फेसबुक एकाउन्ट खोल्ने नै फ्रेन्ड बनाउनका लागि त हो; पहिले दाजुभाइलाई फ्रेन्ड बनाइयो, दिदीबहिनीलाई फ्रेन्ड बनाइयो र छिमेकीलाई बनाइयो । त्यसपछि सालासाली, ज्वाइँजेठान, फुपूफुपाजु, भान्जीदिदी, भानिजभाइ, छिमेकी दाजु, छिमेकी भाइ, छिमेकको भतिज भतिजी जेजति छन्; सबैलाई फ्रेन्ड बनाइयो; सबैको फ्रेन्ड भइयो । ससुराबाको पनि फेसबुक एकाउन्ट रहेछ । के गरौ; के गरौं भयो । त्यो लहरमा ससुराबा पर्नु भएन । फेसबुकमा फ्रेन्ड बनाउने पहिलो लहर समाप्त भयो ।
केही दिनदेखि फ्रेन्ड रिक्वेस्ट आउन थाल्यो । चिनेका मान्छेको पनि आयो, नचिनेका मान्छेको पनि आयो । चिनेका मान्छेमध्ये केहीलाई फ्रेन्ड बनाइयो । यसरी चिनेका केहीलाई फ्रेन्ड बनाएर फेसबुकमा फ्रेन्ड बनाउने दोस्रो लहर समाप्त भयो ।
छोरी र ज्वाइँले अस्ट्रेलिया बोलाएका छन् । हाम्रो गाउँमा अस्ट्रेलिया जान बाँकी हामी मात्रै हो कि जस्तो भएको छ । मन फुर्फुर् छ । अस्ट्रेलिया घुम्न जाने हो । घुमेको ठाउँको फोटो नखिच्ने कुरा भएन । फोटा खिचेपछि फेसबुकमा राख्नै परी हाल्यो । लाइक र कमेन्टको ओइरो लागेन भने फोटो पोस्ट गरेको के मज्जा भयो र ! त्यसैले अस्तिको दिन फेसबुकमा कनफर्म गर्न बाँकी जति पनि फ्रेन्ड रिक्वेस्ट थिए, ती सबैलाई कनफर्म गरें । चिनेजानेका मान्छेको नाम खोजेर फ्रेन्ड रिक्वेस्ट पनि पठाएँ ।
अहिले फेसबुकमा फ्रेन्ड बनाउने तेस्रो चरण चालु छ । तेस्रो चरण केही लामै समय चालु रहने देखिएको छ ।
***
प्रतिक्रिया
-
४