केदार श्रेष्ठ प्रतिवद्ध रङ्कर्मी हुन् । उनले सिनेमाकर्मी, नाटककार, बालसाहित्यकार तथा कथाकारको रुपमा पनि पनि पहिचान बनाएका छन् । उनी थिएटर मल र थिएटर सेन्टर फर चिल्डेनका संस्थापक र कला निर्देशक हुन् । हाल उनको लेखन र निर्देशन रहेको नाटक ढुकढुकी ७२ मेगाहर्ज मण्डला थिएटरको प्रस्तुतिमा मण्डला थिएटरमा मञ्चन भइरहेको छ । यही नाटकको सेरोफेरोमा लेखक तथा निर्देशक श्रेष्ठसँग सम्पादक जीवन खत्रीले सोधेका पाँच प्रश्न कुराकानी ।
१, ढुकढुकी ७२ मेगाहर्ज हाल मण्डला थिएटर अनामनगरमा चलिरहेको छ । तपाईँ यसको लेखक निर्देशक पनि हुनुहुन्छ । यस नाटकको बारेमा बताईदिनुस न ।
यो नाटक मनले धेरै समय मनमा र दिमागमा लेखेर अक्षरमा लेखेको नाटक हो । जुनलाई अहिले आफ्नै निर्देशनमा मञ्चन गरिरहेको छु । यो घटनाभन्दा पनि घटनाको प्रभावमा जन्मिएका मानवीय संवेदना, सहअस्तित्व र प्रेमको कथा हो । सन्तान चाहनाको उत्कट उत्साह सङ्गालेका दम्पत्तिको जीवनमा आइपरेका जटिलता, आकांक्षा, आशा, वाध्यता, विवशता, विकल्प र विश्वास नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’को आवाज हो ।
नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’ मेरा लागि धेरै कुरा हो । यो मेरो लेखन, परिकल्पना, निर्देशनमा बिलकुल मेरो आफ्नै लागि एउटा थेसिस हो । संवाद र घटनाले मात्र नभई भाव र प्रस्तुतिमा भावना, संवेदना, विम्व, ध्वनि, प्रकाश, मञ्च र रङ्गले कथा भन्ने प्रयत्न हो ।
२, तपाईँ नाटकमा वर्षौँ बिताईसकेको मान्छे । आफैँले थिएटर सञ्चालन पनि गरिरहनु भएको छ । एउटा नाटक लेखन पश्चात थिएटरमा पुग्नलाई के के कुराले रोकीरहेको हुन्छ?
नाटक सुरुमा पाठ्य विधा हो अनि मञ्चमा पुगिसकेपछि दृश्य विधा हो । त्यसैले यो पाठ र मञ्च दुवै साहित्य हो भन्छु । तर सबै नाटक मञ्चमा पुग्छ वा मञ्चन गर्न सकिन्छ भन्ने होइन । मञ्चको आफ्नै विधि विधान हुन्छ, त्यसमा लिखित पाठ वा नाटकलाई मञ्चमा लैजाँदा मञ्चीय रुपमा दृश्यहरु बन्न सक्छन् कि सक्दैनन्, कसरी बन्न सक्छन्, कस्तो बन्न सक्छन् भन्ने कुराको हेक्का निर्देशकले राख्ने कुरा हो । तर लेखक पनि यो रुपमा सचेत भएर नाटक लेखेमा यसको पाठ्य प्रभावकारी हुन सक्छ । मञ्चमा त झनै यसले थप प्रभाव जमाउन सक्नेछ । पहिला यसरी नाटकको पाठ छनौटसँगै यही किन छनौट गरेको, यही समयमा किन छनौट गरेको भन्ने कुरामा विश्लेषण गरिन्छ । यसलाई थिएटरमा कुन रुपमा लैजान सकिन्छ भनेर परिकल्पना गरिन्छ । यसको पात्रको स्वरुप निर्धारण, संवाददेखि, मञ्चको परिकल्पनादेखि, प्रकाश, ध्वनिले कसरी कथा भन्न सकिन्छ भनेर खोजी गरिन्छ । किनकी मञ्च श्रव्य–दृश्यमा हुन्छ, जहाँ दर्शकले प्रत्यक्ष रुपमा त्यसलाई महसुस गर्दछ । त्यसपछि यसका निर्माण प्रक्रियामा जान्छ त्यसमा रिहर्सलदेखि मञ्च निर्माण, भेषभुषादेखि प्रकाश, ध्वनि तयार पार्ने प्रक्रियाहरु सबै समानान्तर चल्दछ । यसमा पनि अनेक चरण र विधि प्रक्रियाहरु हुन्छन् ।
मुख्य कुरा समय र अर्थ लगानी आउँछ । समय र आर्थिक लगानीका हिसाबले रङ्गमञ्च आफैमा खर्चिलो विधा हो । यो खर्चको चाँजोपाँजोले पनि नाटकको मञ्चनको स्वरुपमा असर पार्दछ ।
अब तपाईंले भनेजस्तै लेखिएका नाटक थिएटर पुग्न रोक्न त कसैले सक्दैनन्, तर मञ्चनीय पाठ अर्थात् टेक्स्ट नभएको खण्डमा वा यसले दृश्यको स्वरुपहरु प्रभावकारी पार्न नसक्ने अवस्थामा वा मञ्चको लागि उपयुक्त नभएको अवस्थामा, समायुनुकुल नभएको अवस्थामा वा नाटक निर्माणको खर्चको चाँजोपाँजो गर्न नसकेको अवस्थामा वा लेखिएका नाटक कुनै निर्देशक वा नाटकघरसम्म नपुगेको अवस्थामा रोकिन्छन् ।
३, तपाईँ चलचित्र क्षेत्रमा समेत फरक स्वाद पस्किने व्यक्ति हुनुहुन्छ । र त्यसको अनुभव पनि लामै छ तपाईँसँग एउटा नाटक र चलचित्रमा प्राविधिक पक्ष बाहेकको फरकपन के हो?
म चलचित्रमा थोरथोरै मात्र काम गर्छु तपाईंले भनेजस्तै धेरै नगरेको हुनसक्छु । पछिल्लो समयमा चलचित्रमा कास्टिङ निर्देशकको रुपमा बढी काम गरेको छु । साथै लघु चलचित्रमा भने मैले निर्देशन गरेको ‘जुनुको जुत्ता’ले धेरै प्रशंसा पायो । चलचित्र र थिएटर दुवै दृश्य विधा भएकोले धेरै कुराहरु समान छन् । तर माध्यमको हिसाबले थिएटर र सिनेमा बिलकुल फरक कुरा हो । थिएटरको मूल धर्म प्रत्यक्ष प्रदर्शन र प्रत्यक्ष अवलोकन र महसुस हो भो सिनेमाका क्यामेराको माध्यमबाट कथा उतारिन्छ र त्यो पर्दामा देखाइन्छ । माध्यम नै फरक भएपछि यसको अभिनयको विधि तथा तरिका, निर्माणको प्रक्रियाह स्वाभाविक रुपमा फरक हुन्छन् ।
नाटक त्यही कथा सिमित र थोरै दृश्यहरुमार्फत् भन्नुपर्ने हुन्छ, अनि यो दर्शकले वाइड भिउमा हेर्छन् । सिनेमाको दृश्यको कुनै पावन्दी छैन, सिनेमा धेरै दृश्यहरुको माग हुन्छ र त्यही अनुसार दृश्यांशहरु प्नि असिमित हुन्छन् । त्यसैले सिनेमा मूल रुपमा निर्देशकको माध्यम हो, जहाँ निर्देशकले चाहेको मात्र दृश्यहरु र अन्य कुराहरु राखिन्छ । तर थिएटरमा निर्देशक मञ्चनअघिसम्म मात्र हावी हुन्छ । मञ्चमा पुगेपछि त्यो मूल रुपमा कलाकारको माध्यम बन्छ्, अनि त्यसलाई बढवा दिन प्राविधि र कलात्मक परिचालनको सहयोग हुन्छ ।
सौन्दर्य चिन्तन र कलात्मकताको सन्दर्भमा दुवै विधा निकै उम्दा विधा हो । नाटकको महसुस अलि बढी जीवन्त हुन्छ कि जस्तो चाहिँ लागिरहेको हुन्छ । तर सिनेमाको महसुसमा पनि आफ्नै जीवन त छ नै । सिनेमा नाटकभन्दा अलि बढी प्राविधिक हो, नाटक सिनेमाभन्दा अलि बढी प्राकृतिक हो जस्तो लाग्छ ।
४, नेपाली चलचित्र र नेपाली नाटकको दर्शकलाई हेर्ने हो भने हलमा भीड हुन्छ तर नाटकघरमा त्यसको तुलनामा कमजस्तो देखिन्छ । यसमा नेपाली दर्शकको कमजोरी कि नाटक टिमको?
मुख्य कुरा त हामी र हाम्रो समाजको कला साक्षरता हो । हाम्रो समाज कला, साहित्यको रुपमा त्यसरी साक्षर भइसकेको समाज होइन । अनि नाटक हाम्रोमा मात्र क्रेज मात्र हो, कल्चर बनिसकेको छैन । धेरैले रंगमञ्चको वास्तविक अनुभूति नै लिन पाउनुभएको छैन । सिनेमामा पनि यही हो सिनेमा हेर्ने कल्चरकै रुपमा हाम्रो विकास भइसकेको छैन । यसरी हेर्दा सिनेमामा पनि दर्शकको भीड छ भन्नेमा म विश्वास गर्दिन, एकाध फिल्ममा मान्छे ओइरिनु भनेको क्रेज मात्र हो । यो क्रेज मात्र हुन्जेल जसले मान्छे ओइराउन सक्छ त्यही फिल्म असल भन्ने भाष्य निर्माण हुन्छ, जुन ठिक कुरा होइन । यसलाई कल्चरको रुपमा कसरी विकास गर्न सकिन्छ खोज्नुपर्ने छ ।
अर्को कुरा सिनेमा र नाटक प्राविधिक रुपमा फरक माध्यम हो । नाटक सिनेमाजस्तो मास अडिउन्सको लागि होइन । जसरी एउटा सिनेमा बनिसकेपछि अनेक माध्यमबाट संसारका जुनसुकै कुनमा एकैपटक सम्पूर्ण मानिसलाई त्यो पनि बारम्बार देखाउन सकिन्छ । अझ कालजयी समयसम्म देखाउन सकिन्छ । नाटक त्यस्तो होइन, नाटक एक निश्चित समयमा एकै स्थानमा निश्चित दर्शकलाई मात्र देखाउन सकिन्छ । किनकी अघि पनि भने यो प्रत्यँ मञ्चन र महसुसको माध्यम हो । यो चाउचाउ उत्पादन गरेजसरी एउटै कुरा एकैपटक करौडौं उत्ािदन गर्न सक्ने कुरा होइन । यो हकमा सिनेमा सकिन्छ , एकपटक बनाएको फिल्म असिमति संख्यामा कपी गरेर संसरफर फैलाउन सकिन्छ ।
अर्को कुरा नेपाली रंगमञ्च नीेजी र संस्थागत स्तरबाट मात्र यति उपलब्धि हाँसिल सम्म आइपुगेको हो । राज्यले यसको महत्व र आवश्यकता अझै पनि गम्भीर रुपमा नलिएको सत्य हो । गणतन्त्र आएको यत्रो वर्ष भइसक्यो, अझैपनि हाम्रो साँस्कृतिक नीति के हो भन्ने अत्तोपत्तो छैन । त्यसैले राज्यले साँस्कृतिक रुपमै रंगमञ्चलाई निश्चित नीति भित्र राखेर यसको उपलब्धीको संरक्षण र थप विकास गर्न जरुरी छ । अनि मात्र तपाईंले भनेजस्तो होला ।
५, ढुकढुकी ७२ मेगाहर्ज मण्डलामा मंसिर १६ सम्म चल्दैछ । नाटकमा के चिज छ तेस्तो जसकारण यो नाटक हेर्नुपर्छ दर्शकले?
वस्तवमा नाटक वा रंगमञ्च एउटा वस्तु होइन, जसलाई यस्तो आकार प्रकार वा गुण छ भनेर भन्न सकिने । यो त प्रत्यक्ष महसुस गरेपछि मात्र रंगमञ्च भनेको यस्तो हुने रहेछ भन्ने थाहा पाउने हो । थिएटरको अनुभवले मात्र नाटकको अर्थ र महत्व थाहा पाउने ।
तैपनि यो नाटक म खुलेर मैले र हाम्रो समूहले सिर्जना गरेको नाटक हो भन्न सक्ने अवस्थामा छु । यसनाटकप्रति मलाई त्यति विश्वास छ । यसले सहअस्तित्व स्वीकार गरेको दम्पत्तिको कथा भन्छ जसबाट प्रेम र समाजको दार्शनिक रुपमा चिन्तन पनि गरिएको छ । अनि यो मात्र कथाका लागि भनिएको होइन । रंगमञ्चबाट कथा भन्ने शैलीमा के के कुराले कथा भन्न सकिन्छ ती माध्यमको सुन्दर प्रयोग गरिएको नाटक हो । यहाँ पात्र, संवाद, अभिनयले कथा भन्छ नै संगै, प्रकाश, ध्वनि, मञ्च, रंग धेरै कुराले कथा भनिएको छ । कलाको पारखस्ी हुनुहुन्छ र कला रुचाउनुहुन्छ वा अनुभव लिन चाहनुहुन्छ भने तपाईंलाई नाटक हेर्न आग्रह छ ।
***
प्रतिक्रिया
-
४