– भूमिराज पौडेल

भनिन्छ नि, ‘जननी जन्मभुमिश्च स्वर्गद्वारी गरियासी’
जन्म दिने आमा र आफू जन्मेको जन्मभुमि सबैका लागि उत्तिकै महान हुन्छ, अनि उत्तिकै रमाइलो पनि।

नेपाल को चौथो सानो जिल्ला पर्वत।अनि तेहि पर्वत जिल्लाको बाजुङ भन्ने गाउँ मेरो जन्मगाउँ। जतिसुकै सानो भयता पनि सौन्दर्यले भरिपूर्ण भएको गाउँ हो मेरो बाजुङ गाउँ। आफ्नो जिन्दगीले बिच बाटोमै प्रश्न चिह्न खडा गरेर बसिरहेको बेला मेरो जन्मभुमीले जीवन सहजै कटाउने गरि सम्मान गरेको छ। गाउँघरका खोलानाला, हरिया पहाड, भिराला पाखा पखेरा,मेरो गाउँमा आउने सबैका उपहार बनेका छन्। तिम्रो सहर जस्तो सेवा सुबिधाले सबै कुरा मा भरिपुर्ण नहोला मेरो गाउँ तर मेरो गाउँको सौन्दर्य ले सबैको मन जितेको छ नि।

९.६ बर्ग किलोमीटर क्षेत्रफल मा फैलिएको मेरो गाउँ आफू जन्मेको गाउँ भएर होला प्राण भन्दा पनि प्यारो लाग्ने गर्छ। मेरो लागि मेरो गाउँ स्वर्ग को एक टुकुरा नै हो।

मेरो जन्मभुमिमा ठूला ठूला महल नहोलान् ! तर ठुलाठुला पहाड अवस्य छन्। महासागर जस्ता गहिरा गहिरा ताल नहोलान्, तर, माछा भ्याकुता चेपा पौडी खेल्ने पोखरी छन्। ठूलो अस्पताल नहोला मेरो गाउँ मा, तर, बिरामी पर्दा निको पारिदिने जडिबुटी छन्।

गाउँका मानिस शिक्षित नहोलान, तर गाउँलाइ कसरी बिकास गर्न सकिन्छ भनेर रातदिन नभनी सबै जात सबै पेसाका मानिसहरू खटेर काम गरिरहेका छन्। सहरमा जस्तो सयथरी मानिसका सयथरी सस्कार छैन मेरो गाउँमा। आफ्नो धर्म सस्कृतीअनुसार आफ्नो रितिरिवाज सबै मिलेर मनाउने सस्कार छन् ।

यस्ता झिनामसिना कुराहरू पढिरहदा छ्या कस्तो पाखे, दुःखी गाउँ रैछ। न त राम्रो बाटोघाटो,न त शिक्षित मानिस रहेछन् भनेर मेरो गाउँ लाई अपहेलना नगर्नु है ! तपाईं ले मेरो गाउँ लाई अपहेलना गरेको देख्दा मलाई दुःख लाग्छ। अनि अर्को कुरा राम्रो हुदैँमा सबै कुरा सम्पन्न हुदो रहेनछ नि। चारैतिरबाट डाँडाकाँडाले घेरेको मेरो उपत्यका जस्तो गाउँ, उपत्यका काठमाडौँँ जस्तो बिकसित पो छैन ।

मेरो गाउँले जीवन पनि यस्तै नै हो बिकसित नभएको बिकट जस्तै जस्तैः सहरका ठूला ठूला महल जस्ता चिला घर छैनन् मेरो गाउँमा, गोलो आकारमा बनेका, मनलाई लोभ्याउने खालका, ढुङ्गा, माटो, काठ र जस्ता को पाताहरू राखेर बनाइएका फुस्रा झुपडी छन। तिनै झुपडी लाई प्रत्येक दिन रातो माटो र सेतो कमेरोले पोत्ने गर्छन।

कति फरक छ नि है सहर र गाउँ मा तिम्रो सहर ले कुकुर डोर्याएर हिडने लाई मालिक उपनाम दिन्छ अनि मेरो गाउँमा भैँसी चराउनेलाई गोठालो ! हुन त सहर ठूलो भयो कुकुर चराउछन् ।

अनि मालिक बन्यो मेरो गाउँ भैसि चराउँछ र गोठालो भयो तिम्रो सहरमा चराए जस्तै कुकुर छैनन् नि मेरो गाउँमा । मेरो गाउँमा त मालिगाई छ, तारे, चम्रे, राते, सिन्दुरे, खैरे, गोरुहरू छन् ।

बुढी घोर्ली बाख्री छे, उसका सुन्दर पाठाहरू छन्। काल्लामा उफ्रदै अनि आँगनीमा केटाकेटीसँग रमाउँदै खेल्छन्। अझै मेरो गाउँमा त लोप हुन लागेका ढिकी जातोहरू पनि छन प्रत्येक घर घरमा संरक्षण गरेर राखेका ।

मलाई मेरो गाउँको अनुपम सौन्दर्यले हरक्षण तान्छ। गाउँ जतिसुकै बिकट भए पनि आफ्नो गाउँप्रतिको माया बिकसित हुँदै जाने रैछ। हुन त आफू जहाँ जन्मियौ त्यो ठाउँ सबैलाइ प्यारो नै लाग्छ । गाउँमा जन्मिनेलाई गाउँ अनि सहरमा जन्मिनेलाई सहर। तर, सहरका ठूलाठूला महलहरू मेरो गाउँको पहाड देखेर मन्त्रमुग्ध हुन्छन्।

सहरका भलादमीहरूको व्यवहार ले आजित भएका चराचुरुङ्गीहरू मेरो गाउँ प्रवेश गरे भने तिनै सहरिया लाई कुहुँ कुहुँ र काफल पाक्यो भनी स्वागत गर्दै हिड्छन्।

साँच्चिकै मेरो गाउँ प्रकृतिले अनुपम छ। गाउँमा मठमन्दिर मनग्य छन्। खोलानाला चौतारीहरू पनि धेरै छन्। गाउँका डाँडा काँडामा रहेका चौतारामा बसेर माछापुच्छ्रे, अन्नपूर्ण, अनि धौलागिरी, जस्ता चाँदी टल्के झै टल्कने हिमालको दृश्य अवलोकन गरिरहँदा कोहिलीको कुहुँकुहुँ स्वरले मन नै लोभ्याइदिन्छ। गाउँमा ठूला ठूला मैदान अनि चौर छन् जहाँ चाडबाडका बेला म लगायत मेरा साथिहरूको जम्काभेट त्यहीँ ठाउँमा हुने गर्छ ।

प्यारो गाउँ म सहर् मा बस्दा पानी खान नपाएर पसिना पिउथेँ। अनि शितल नपाएर कृतिम छहारीको ओतमुनी बस्थेँ। बेला बेला भोकमरीले खुम्चिरहेको हुन्थेँ ।

अनि तिमीलाई नै सम्झदै सोच्थे म आज जति अभागी कहिल्यै भइनँ । त्यसैले तिम्रो छातीमा सधैँभरी हाँस्न खेल्न उफ्रन रुन पाउँ। म तिम्रो बालसत्यलाई कुल्चिएर सहरिया जीवनको झझल्कोमा तन्किन चाहान्न। बाल्यकालमा लुकामारी खेल्दा होस् या काफल खाँदा होस् म तिम्रो छातिमै टेकेर सबै कृयाकलाप गर्थेँ। अनि आज मैले तिम्रो सांसरिक बन्धनलाई तोड्न मिल्छ र ?

प्रिय् जन्मभुमि म हरेक दिन तिमीलाइ सम्झिरहेको हुन्छ । हरेक पल सोधिरहेको हुन्छु । मेरो हृदयका हरेक तरङ्गमा तरङ्गित भैरहने तिमी नै हौ ।

मेरो मस्तिष्कका मन्दिर मा तिमिलाई नै पुजिरहेको हुन्छु, कतै हराए भने तिमीलाई नै खोजिरहेको हुन्छु, मनमा राखे पनि बिझाउँदैनौ, मुटुमा राखे पनि दुखाउँदैनौ, तिमी यति प्यारो हुदा पनि मैले किन चिन्न सकिरहेको छैन गाउँको हार्दिकता ?? किन पढ्न सकिरहेको छैन तिम्रो सौन्दर्यता ?? अनि किन लेख्न सकिरहेको छैन गाउँको विश्वसनियता ?

आजकल त निकै सुनसान छ मेरो गाउँ । किनकी घर एक्ला एक्ला छन् । एक्ला एक्ला छन् आँगन पनि । आँगनीमा बसेर निदाउने बाजेबजै छैनन्।

दिउरोमा तेल तताएर थाप्लोमा लगाउदै बढ नानी बढ भन्दै गीत गाउने आमा र शिशुहरू पनि छैनन्। घर पुग्दा घर छेउमा नाच्ने केराका पातहरू छैनन। अनि पधेँरोमा दुःख–सुखका सुस्केरा छाडिदिने भाउजु बुहारी छोरीहरू पनि छैनन्।

नागरीहरू त्यहीँ छन् । गोठाला छैनन्। चौतारा त्यहीँ छन् । चौतारामा दुःख बिसाउने भरिया दाइ छैनन्। देउराली त्यहीँ छन् । देउरालीमा फुलपाती चढाउने बटुवा छैनन्। अहिले मेरो गाउँ गाउँ जस्तो छैन। गाउँका सबै मानिस बजार झरिसकेका छन।

फेरि पनि भन्न चाहान्छु प्यारो गाउँ !! मैले सहर को गल्ली गल्ली मा हिड्दा धेरै नै आँसु खसालेको छु किनकी मैले तिम्रो काख मा बसेर मातृऋण तिर्न सकिरहेको छैन र सकु पनि कसरी ? अनि सक्दिन पनि। तर, हे प्रिय् ठाउँ !! मलाई हेला नगर,मलाइ नथुक,मैले मेरो मनभरीको बात्सत्य तिमीलाइ सुम्पदै छु।

प्राकृतिक सुन्दर्तालाई भेलबाडी बोलाएर कुरुप नपार। म आउने बाटाका रुखहरू नढाल्देउ। तिम्रो छातीमा खेलिरहेका प्रत्येक पसुपंक्षी मानवलाई दुःख नदेउ। तिम्रो बारेमा लेखेर म कहिल्यै पनि सक्दिन।म तिमिलाइ जसरी भएपनि जहाँबाट भए पनि चिनारी दिइराख्नेछु प्यारो बाजुङ गाउँ ।

***

प्रतिक्रिया

सम्बन्धित खवर