-डा. विप्लव ढकाल

कक्षाकोठाभरि हल्ला छ
किन पढ्दैनन् नानीहरू ?
म इतिहास पढाउन खोज्छु
उनीहरू जङ्गली चराजस्तै
हल्ला गर्छन् !

म गणित पढाउन खोज्छु
उनीहरू पहाडी खोलाजस्तै
हल्ला गर्छन् !

म भाषा पढाउन खोज्छु
उनीहरू भाषा नै लाटो हुनेगरी
हल्ला गर्छन् !

म ‘हल्ला नगर’ भन्छु
उनीहरू फेरि हल्ला गर्छन् !

सायद म बाँचेको समयमा नै
कुनै गम्भीर त्रुटि हुनुपर्छ !
नत्र यो हल्ला कसरी ‘हल्ला’
हो र ?

यो हल्ला आफैँमा एउटा विचार हो
यो हल्ला आफैँमा एउटा जीवन हो
यो हल्ला आफैँमा एउटा सपना हो !

नानीहरू !
म पनि अब तिमीहरूसँगै बसेर
हल्ला गर्छु !!

***

प्रतिक्रिया

सम्बन्धित खवर