– लिला अनमोल

समयले फरक बनाएको छ
घरको आँगन फरक
आफन्तको मन फरक
सम्बन्धको धिपधिपे उज्यालोमा
हाँसो ल्याउन खोज्ने
ओठको मुस्कान फरक
यी फरकहरुको फरकमा
आएको चाड फरक
व्यहारले पन्पनिएको जिन्दगीको औपचारिकता फरक
मलाई फरक लागिरहेछ सबैथोकहरू
सम्झनाको बार्दलीबाट चिहाइरहेकी छु ती दिनहरू
जब आउँथ्यो चाड
खुसीको उमङ्ग आउँथ्यो
भेला भएर साथीसङ्गी
योजना बन्थ्यो देउसी भैलीको
आँगनमा दियोको उज्यालो यसरी फैलिन्थ्यो
कि मेरो अनुहारको चमक र त्यो उज्यालो उस्तै हुन्थ्यो
आँगनमा बाबरी र सयपत्रीको फूल जस्तै
फुलेको हुन्थ्यो आत्मियता
आमाले पकाएको सेल रोटीको मगमग पर कतैसम्म फैलिन्थ्यो
र म त्यही मीठो सम्झेर घरीघरी पुगिरहन्थेँ भान्सामा
अर्कै रौनक हुन्थ्यो पटाकाको
दाजुले राखेको ठाउँबाट चोरेर लगेको आलुबम पड्काउँदा आह कत्ति मजा!!!!!!
उफ्फ !!!
सपनाजस्तो किन भएर आउँछन् ती दिनहरू???
नसोध्नेहरूको आशा छ यहाँ
नखोज्नेहरूको भरोसा
विगत कोक्याउँछ यसरी कि मानौँ
अब भोग्न बाँकी सकियो सबैथोक।
सुन्छु,
पल्लो घरतिर ठूलो आवाजमा एउटा कालजयी गीत बजिरहेछ यतिबेला
दियो बाली साँझको फूल चढाई पूजाको…..
उच्च उच्च स्वरले म पनि गीतसँगै
गाउँदै बाल्थे दियो, आमाको पछिपछि
तर आज गीत बज्दा किन गाँठो परेको होला है छाती ???
छोराहरू आँगनमा खेलेको देख्दा
भुलाउन खोज्छु आफूलाई उनीहरूकै खुसीमा
जब कोठाको कुनामा पुग्छु
अँध्यारो लाग्छ किन यो साँझ ??
केही हराएको जस्तो भएको छ किन??
जिन्दगी नमिलेको चिज रहेछ
मलाई विगत खुब कोक्याइरहेछ।।।

***

प्रतिक्रिया

सम्बन्धित खवर