– रूपक अलङ्कार
दसैँ सकिन लाग्दा नलाग्दै हामीलाई तिहारको व्यग्र प्रतीक्षाले ग्रस्त बनाउँथ्यो । दसैँका नयाँ लुगा फुकालेर पुरानैले ज्यान बेरेको दिन तिहारका गुरुयोजनालाई पूरा कसरी गर्ने भन्ने विषयमा हामी बिहान बेलुका जुनबेला भेट हुन्छ त्यहीबेला सर्वदलीय बैठक बसिहाल्थ्यौँ । पूmल बटुल्न कहाँसम्म जाने ? देउसी भैलो कुन कुन टोलमा खेल्ने ? पोहोरको भन्दा अहिलेको हिसाबकिताबलाई पारदर्शी कसरी बनाउने ? पटाका र मटितेलको व्यवस्थापन कसरी गर्ने ? भैलो खेलेर आएको धान मकैलाई कसरी नगदमा बदल्ने ? अनि चामल लिएर वनभात खान कहिले जाने ? जस्ता प्रस्तावमाथि घनीभूत छलफल भइरहन्थ्यो । अरू कुरामा ठोस निर्णय आउने कुरा भएन तर भैलो खेल्न जाने कुरा निर्णयको अधीनमा थिएन । जाने भनेपछि जाने ।
दसैँ र तिहारका बिचमा पनि विद्यालय खोलेर सरहरूले नचाहिँदो काम गरिदिन्थे । अहिले आफैँ सर भएर सोच्दा पनि दसैँ तिहारका बिचमा विद्यालय खोल्ने कुरा रसिलो होइन रहेछ भन्ने नै लागिरहेको छ । जे होस् स्कुल खुलेको दुईतीन दिन आजै को आउँछ र ? भनेकै भरमा घरमा बसिदिन्थ्यौँ । राजमार्ग छेउको स्कुलमा विकृति पनि गाडी चढेर आउने हो कि के हो । विद्यार्थीहरूले बारूद पड्काएर स्कुललाई नै युद्धग्रस्त बनाइदिन्थे । त्यसरी हामीले चाहिँ बरुद पड्काएनौँ, पड्काउन हुँदैन भन्ने ज्ञानले होइन आर्थिक कमजोरीले । दसैँमा जम्मा भएको सुकामोहोर अहिल्यै खर्च गरेर तिहारलाई साँच्चै औँसीको रात बनाउने पक्षमा हामी हुन्नथ्यौँ । तिहार नजिकिैँदै गर्दा पटाकाको आतङ्क यति बढेर जान्थ्यो कि छात्रा तथा सज्जन विद्यार्थीहरू विद्यालय जान छोडिदिन्थे । र हामी कति सज्जन थियौँ भन्नै परेन ।
तिहार सुरु भएको दिन हामी पूmल खोज्ने बहानामा घुमिहिँड्थ्यौँ । खोज्नु भनेको मान्छे देखे माग्ने नदेखे चोर्ने भन्ने नै बुझ्नुपर्छ । पूmल लगाउने चलन त थिएन । आँगनमा पुग्ने बाटातिर र बारीका पाटातिर हँसिया कोदालोको प्रहारबाट जोगिएर ठूलो सङ्घर्षमय जीवन काटेर पूmलेका पूmलहरू नै ढोकामा झुन्डिनका लागि निमोठिन्थे । त्यसरी बचेका फूलले तिहार नथेग्ने देखेरै हामी सयडाँडातिर उक्लिन्थ्यौँ । त्यतातिरका मान्छे हामीलाई देखेपछि अगुल्टाले हानेको कुकुर जस्ता हुन्थे । पालीमा सिउरिएको लौरो निकालेर हामीलाई नै कुकुर खेदाइ गर्थे ।
दसैँमा पिङ हाल्नका लागि बाबियो बटुल्ने नाममा पालीमा सुकाएको बाबियोसमेत थुतेर भागेको चलचित्र उनीहरूका आँखामा नाचिरहेका हुन्थे । चोर्नु पाप हो भन्ने त हामीले पनि जानिसकेका थियौँ । यो काम खराब हो भन्ने जान्नेबित्तिकै त्यो काम गर्न छोड्ने हो भने त यो देश भ्रष्टाचारमा किन यसरी डुब्थ्यो र ?
दसैँमा हामीले गर्ने किनमेल केही हुँदैनथ्यो तर तिहारको सपिङ भने सबै हामीले नै गर्नुपथ्र्यो । सपिङ नगरे पनि व्यवस्थापन त आफैँले गर्नुपथ्र्याे । सामूहिक लगानीमा हामी माल्टा बारुद किन्थ्यौँ त्यति हो अरू पटाकाको त हामीलाई नाम मात्र थाहा थियो; रकेट, आलुबम, भुइँचम्पा आदि आदि । अनि यो माल्टा बारुद कसको आँगनमा, कुन गौँडामा, अनि कुन खोल्चामा पड्काउने भन्ने कुराको नक्सा बानाउने र रेकी गर्ने काम पनि पहिले नै गरिहाल्थ्यौँ । जुन घरमा मान्छे उठ्दैनन् त्यही घरमा पड्काउने भन्ने सामान्य विधि हो तर उता मान्छे नउठेर सुकामोहोर गुम्थ्यो भने यता बारुदको नाश हुन्थ्यो । यसरी खर्च र आम्दानीको तादात्म्य नमिलेर हाम्रो अर्थतन्त्र डामाडोल पनि भइजान्थ्यो ।
मटितेलको जोहो हाम्रा लागि ठुलो मुसिबत थियो । मटितेलमा लगानी गर्ने हाम्रो हैसियत थिएन । ‘ब्याटरीवाला टचलायेट’ किन्ने औकात थिएन । हजुरबा हजुरआमा जस्ता गृहप्रशासनका उच्च निकायमा दसैँ लगत्तै मटितेलका लागि मौखिक फाइल पेस गरिदिन्थेँ तर फाइल टेबुलको टेबुलमै । फाइल आघि बढ्ला कि भनेर म पानी जोड्न जान्थेँ । साग, काउली र बकुल्लाका फेदमा पानी हाल्थेँ । बाख्रा सारिदिन्थेँ नभनीकन पनि तर पनि मटितेलको कुरो जहीँको तहीँ । लगभग भोकहड्तालको स्थिति सिर्जना भएपछि एक भाँडो मटितेलको आश्वासन पाउँथे । त्यतिबेला सम्म एक भाँडो मटितेल आँखा छलेर करेसातिर लुकाउन भ्याइसकेको हुन्थेँ । यसरी म दुईभाँडो मटितेलको राजा हुन्थेँ । विश्वमा पेट्रोलियम पदार्थको राजनीति, कालाबजारी, उत्खन, चोरीका बारेमा जुन दगाबाजी हुन्छ त्यति त हामीले उहिले नै गरेको हो । तैपनि जीवनमा इन्धनको मूल्य के रहेछ भन्ने कुराको आभास सय मिलिलिटर मटितेल चोरीको झल्कोले गराइरहेछ ।
सानिमा, दिदीहरूको भैलेनी टोलीमा सहाभागी भएर हामीले देउसी भैलोको तालिम पायौँ । दाइहरूसित पछि लाग्यो भने त बारीको पाटाबाट खसालिहाल्थे । भैलो खेल्न निस्किएको दुईतीन वर्ष त हामीले दिदीबहिनीकै पँखेटामुनि साँझ बितायौँ । तर हामी आपूm पुरुष भएको बुझ्न खासै समय लागेन । त्यस अहङ्कारले सताएपछि अर्काे वर्ष नारीटोलीलाई छोडेर आफ्नै साम्राज्य विस्तार गर्न हामी सफल भयौँ । आआफ्नै घरमा भैलो खेल्दाखेल्दै रातको भूतले तर्साएर हामी सुत्यौँ । त्यस वर्ष मेरो भागमा नगद तीन रुपियाँ तीन सुका पर्यो । हामी आफैँ भाग लाउन सक्ने अवस्थामा भने थिएनौँ ।
डरछेरुवा कायरको पगरी भिरेर हामीले पूरै वर्ष बिताउनुपर्यो । सबैतिर जान नसकेको, आँट नभएको जस्ता लाञ्छनाको सिस्नाले हामीलाई हानिरहे हामीभन्दा अलिकति जेठाले । कसैले मलाई चाहिँ तानेर माथिल्लो समूहमा लगिदिए नि हुने भन्ने चाहना हामी सबैलाई भयो तर घटना भएन । त्यसकारण अर्काे वर्षको भैलोलाई व्यापक बनाउनु हाम्रो अहङ्कारको विषय भयो त्यही अनुसार तयारी पनि थालियो ।
कहाँसम्म जाने ? कतिओटा राँको बनाउने ? कतिओटा बाल्ने ? कति जोगाएर राख्ने ? झोला ककसले बोक्ने ? पैसा कसले राख्ने ? हिसाब कसले राख्ने ? कहाँ बसेर भाग लाउने ? कहाँ सुत्ने वा तास खेल्ने ? यस्ता समस्याको समाधान गर्न सके हाम्रो टोलीको सम्मान उँचो हुनेमा शङ्का थिएन ।
देउसी भैलो खेल्नलाई बाजागाजा चाहिन्नथ्यो । स्पिकर त कल्ले देख्नु ? भट्याउने र स्वर ढाक्नेभन्दा अरू कुनै दक्षताको जरुरत थिएन । हाम्रो समस्या भनेको भट्याउनेमै थियो । हामीले माथिल्लो भनिएको टोलीको एउटा होनहार व्यक्तिलाई हाम्रो टोलीमा ल्याएर भट्याउने नेता बनाउन प्रयत्न गर्यौँ । ऊ ससर्त राजी पनि भयो । तर उसको सर्त यति भयङ्कर थिए कि हाम्रो होस उड्यो ।
सर्तहरू ः
१. देउसी भैलोमा हुने खर्चमा उसले हिस्सा नलिने,
२. उसले भट्याउने मात्र गर्ने, झोला बोक्ने तथा सिदा उठाउने आदि काम मरे पनि नगर्ने,
३. दक्षिणा चाहिँ उसैले राख्न पाउनुपर्ने,
४. अरू सर्वसाधारणले पाएकोभन्दा पाँच रुपियाँ एक मोहोर उसले बढी पाउनुपर्ने,
यस किसिमको निर्लज्ज विदेशी हस्तक्षेप सहने अवस्थामा हामी थिएनौँ । हामीलाई आफ्नो स्वाभिमान नै प्यारो भयो । उसका ब्वाँसे सर्तहरूलाई हामीले बहिष्कार ग¥यौँ र समूहमा त्यस्ता स्वार्थी र दलालहरूको प्रवेश गराउने प्रस्तावलाई खारेज गर्यौँ ।
तैपनि समस्या त ज्युँका त्यूँ नै थियो भट्याउने कसले ?
जसरी हुन्छ हुन्छ भैट्याउने मैले । म कापीका पानामा नोट उतार्न थालेँ । रेडियोमा आउने देउसीभैलो गीत सुनीसुनी लेख्न थालेँ । त्यति मिहिनेत त मैले आफ्नो पढाइमा कहिल्यै गरिनँ । जसोतसो एउटा घरमा पाँचसात मिनेट टिक्ने क्षमताको विकास भयो । अब ढुक्क ।
त्यस वर्षको देउसीभैलोका लागि हामीले छापामार युद्धको तयारी गरेका थियौँ । गोलीगठ्ठा, बारुद, रासदपानी सबैको बन्दोबस्त भयो । साँझ नपर्दै हामी भिडन्तका लागि तयार भएर सयडाँडातिर उक्लियौँ ।
लड्दै र पड्दै भैलो सुरुभयो । धान, मकै सेलपुरी नाङ्लामा दियो बालेर कार्तिकको दान हामीलाई सुम्पे घरबेटीहरूले । हामी बलिराजाका सच्चा दूत भएर औँसीको रातमा रातो माटो भएको चिप्लो बाटोमा राँके जुलुस निकालेर हिँडिरह्यौँ सुन्तलाको बोटतिर हात लामो पार्दै, काँक्राको झाल लतार्दै ।
एउटा हामीभन्दा अलि दुईतीन स्टेपमाथिको टोली भने देउसीरेका ठाउँमा हिकोला भनिरहेको थियो । तिन्ताका रेडियोमा “रङ्गीन फोटो हिकोला, धुलाईपिठाई हिकोला” भन्ने बजिरहन्थ्यो । त्यही सुनेको दादाहरूले पनि हिकोला भनिरहेका थिए ।
“ए ठुलो बन्ने यसरी रहेछ ।” भनेर हामीले पनि एकदुई घरमा त हिकोला नै भन्यौँ । मान्छेहरू हाँसे । पछि थाहा भयो त्यो त फोटो स्टुडियोको विज्ञापन रहेछ ।
एक जना बूढा थिए कन्जुस । देउसेलाई दिन भनेर चरीपैसा, गाईपैसा साँचेर राख्थे । हामी यतिले पुग्दैन भनेर कराइरहन्थ्यौँ । मटितेल सकिने डरले घरमा पुगेपछि राँको निभाएर अँध्यारोमा कराउँथ्यौँ । बूढा टुकी बालेर आउँथे । दिने बेलामा टुकी फुकिदिन्थे अनि एक रुपियाँको डबल हो भन्थे । चारपाँच पटक टुकी निभाउँदा पनि सफल हुन सक्दैनथे । हामी उनीबाट एक मोहोर उम्काउन सफल हुन्थ्यौँ ।
दुई रुपियाँ पाउने घरमा हामी दुई ग्रुप बनेर पनि जान्थ्यौँ । टोपीसोपी फेरर पनि जान्थ्यौँ । धान, मकै र चामलमा भन्दा पनि हाम्रा आँखा पैसामै जोतिएका हुन्थे । पैसा हुँदा लङ्गुबुर्जा र कौडामा च्याँखे थाप्न पाइन्थ्यो । मकैले के गर्नु ? धानमकैको आम्दानीले वनभातका लागि चाउचाउ र मस्यौरा किन्न पुगिहाल्थ्यो ।
***
प्रतिक्रिया
-
४