– ऋतम्भरा सुमिरन
१,
हातमा मखमली माला बोकी पर्खिएकी छिन चेली
माईतिको यादमा दिनरात तड्पिएकी छिन चेली
परदेशी अब त घर आँउछ कि भन्दै यो तिहारमा
आशा बोकी माइती देश फर्किएकी छिन चेली
२,
चाडबाडमा छुट्दा मन रुदो रैछ भाइ
टाढा हुनेकै याद बढी हुदो रैछ भाइ
सबै छन मेरा वरिपरि मलाई हँसाउन
तर तिमी साथ भएझैँ नहुदो रैछ भाइ
३,
चेलीको लागि दरिलो खम्बा भईदिन्छन दाजुभाइ
चोट लाग्दा मेरो मल्हम बनी आईदिन्छन दाजुभाइ
दु :ख सुख निर्धक्क म पोख्न काँध पाएकी छु र त
खुशी लाग्छ मेरा हरेक बचपना सहिदिन्छन दाजुभाइ
४,
निधार खाली भएर के भयो र तिम्रो भाग्य खाली नहोस
आफ्ना चेलीप्रति माईतिको मन कहिल्यै जाली नहोस
दुख परे पनि मै सहुँला तिमीलाई सुख मात्र मिलोस
दुनियाको तिमीमाथि अपहेलनाको गाली नहोस्
५,
सप्तरङी टीका जस्तै जीवन रङ्गिन बनोस माईतीको
मखमली र दुबो जस्तै जीवन हरभरा रहोस माईतीको
संघारमा ओखर फोडी मागेकी छु आशिर्वाद भगवान
दु:ख कष्टले कहिल्यै दैलो टेक्दिन भनोस माईतीको
***
प्रतिक्रिया
-
४