– रविन्द्र कार्की
गजल १
बिर्सन्छु भनेपनि तपाई सधैँ सम्झनामा आउनुपर्छ
हाम्रो सम्बन्ध तिहार जस्तै झिलिमिली बनाउनुपर्छ
पिर नगर्नु दिदि पिर नगर्नु बहिनी यो साल यस्तै भो
अर्को साल निधारमा टिका गलामा माला लगाउनुपर्छ
कसम हुन नदिउ देउसी भैलोको रौनक जसरी भएपनि
हाम्रो संस्कार हाम्रो परम्परा हामीले नै बचाउनुपर्छ
आज जोसिएकै कारण भोलि ऋणमा पर्नु नपरोस्
लाग्छ चाडपर्वमा पनि अवस्थाअनुसार रमाउनुपर्छ
सायद यहीँ होला जिन्दगीको भोगाइ भनेको धेरैको
यहाँ बाध्यताको अघि कति रहरहरू लुकाउनुपर्छ
गजल २,
हुन त हरेक वर्षमा दसैँ हुन्छ अनि तिहार हुन्छ
भए पनि त कयौँ परदेशीको खाली निधार हुन्छ
फुर्सद हुन्न एकैछिन हातमा कामै काम हुन्छ यहाँ
मनमा भने उहीँ गाउँघर, साथीभाई परिवार हुन्छ
पीडा के हो मुग्लानमा फसेको मान्छेलाई सोध्नुस्
चाडपर्व आउँदा तिम्रो मनमा कस्तो बिचार हुन्छ
तब साथीहरूले खुब सम्झना गर्दा हुन परदेशीको
जब साझ पर्छ अनि देउसी भैलोको सुरसार हुन्छ
***
प्रतिक्रिया
-
४