सर्लाहीको हरिवनमा जन्मिएका साहित्यकार नारायण निरासी नेपाली छन्द कविता लेखनका दर्बिला स्तम्भ हुन् । राष्ट्रिय कविता महोत्सव २०६२ लगायत दर्जनौँ पुरस्कार र सम्मानले पुरस्कृत / सम्मानित निरासीका तुसारोमा फुलेका फूलहरू (गजलकाव्य २०६४) , निबन्ध र रचनाशिल्पा (निबन्धसङ्ग्रह २०६८) , आँखाभरि तुसारो (खण्डकाव्य २०७० ), आरोहण ( महकाव्य,संयुक्त २०७४ ) , स्वप्नभङ्ग (खण्डकाव्य , २०७७ ) लगायतका साहित्यिक कृतिहरू प्रकाशित छन् । निरासीको निर्धरा उपन्यास भर्खरै प्रकाशनमा आएको छ । यसै उपन्यासको सेरोफरोमा रहेर सम्पादक जीवन खत्रीले सोधेका पाँच प्रश्न र निरासीको जवाफ :

१, निर्धरा उपन्यासको बारेमा छोटकरीमा परिचय गराईदिनुहोसन्, जुन पढेर पाठकलाई यस पुस्तक छनोटका लागि आफ्नो धारणा बनाउन सकुन ।

– निर्धरा उपन्यासमा किनाराकृत नागरिकको जीवनको ऊहापोहको चित्रण गर्ने प्रयत्न गरिएको छ ।   सशस्त्र द्वन्द्व, बेपत्ता परिवारका उत्पीडन, सुकुम्बासीका समस्या, तराईको बाढीको समस्या, छुवाछुतको समस्या, निम्नवर्गका नागरिकको नारकीय जीवनको उतारचढावलाई यस उपन्यासले सम्बोधन गर्ने प्रयत्न  गरेको छ । राष्ट्रियताप्रतिको  चिन्ता ,द्वन्द्वकालीन नेपालको कहालीलाग्दो अवस्था आदिको प्रतिबिम्ब  उपन्यासले खिचेको छ । खासमा यो उपन्यास भुइँमान्छे र श्रमजीवी वर्गको जीवनीमा आधारित छ । प्रस्तुत उपन्यास माया पब्लिकेसनले बजारमा ल्याएको हो ।

२, यहाँको बिशेष छन्द कविता र गजल वाचनमामा आफ्नो चम्किएको नाम थियो । नेपाली भाषाको राम्रो ज्ञाता । यसअघि गजल कविताक‍ो मात्र नभई पाठ्यपुस्तक समेत लेखीसकेको लेखक । के कुरा भन्न पुगेन र फेरि उपन्यासको अंगालोमा आईपुग्नुभो ?

– फुटकर कविता भनेको बगैँचाको एउटा फूलजस्तो हो भने उपन्यासलाई  सिङ्गो  बगैँचा नै मानिन्छ ।  जीवनाख्यानलाई फुटकर कवितामा उन्न सक्ने अवस्था हुन्न  । फुटकर कविता र गजलका आफ्नै सीमा हुन्छन् । खासगरी छन्दकविता र गजल लेख्ने सर्जकहरूलाई एकाथरी बुज्रुक जमातले साहित्यकार नै मान्दैनन् । अधिकांश दैनिक पत्रपत्रिका,अनलाइन पत्रिका,रेडियो, टेलिभिजन  आदिले गजल र छन्द कवितालाई सौतेनीको व्यवहार गर्छन् । समकालीन पुस्तामा आख्यान धेरै लेखिन्छ । धेरैभन्दा धेरै कृतिहरू नवयौवनाको ओठ, वक्षस्थल र सर्वाङ्गको चित्रणमा केन्द्रित देखिन्छ । समकालीन  नेपाली साहित्यको औपन्यासिक बजारमा एकाध पुस्तकबाहेक  ओठको वर्णन र अश्लील शब्दको प्रयोग  नभएका उपन्यास कम चर्चामा हुने गर्छन्  ।  यस्तो तितो यथार्थलाई चिर्न मैले प्रस्तुत उपन्यास लेखनको मार्ग पहिल्याएँ ।

३, कवितामा सफल कविहरू, आख्यान लेखन र प्रकाशनमा पुगेपछि असफल भएका उदाहरणहरू प्रशस्तै छन् । उपन्यास सोच्ने बेलादेखि र हालसम्म यो कुराले मनमा डेरा जमाएको छ, छैन् ? अझ यसो भनौँ, निर्धरा सफल हुने कुराहरू के के छन् उपन्यासमा?

– कविता लेखनमा अभ्यस्त  कविहरू आख्यानका क्षेत्रमा  असफल हुने कुरा तर्कसङ्गत र  मसासिब देखिन्न । विश्वसाहित्यलाई  अध्ययन गर्ने हो भने विन्स्टन चर्चिल,रुयार्ड किपलिङ, हर्मन हेस्सी, सलमान रुस्दी जस्ता विश्वविख्यात आख्यानकार तथा नोबेल पुरस्कार विजेताहरू कविताकै पृष्ठभूमिबाट आएका देखिन्छन् । उनीहरूको दर्बिलो उपस्थिति कविता र आख्यान दुवै क्षेत्रमा पाइन्छ । नेपाली साहित्यमा पनि कवितामा सिद्धि पाएका कविहरूले लेखेकै कथा,उपन्यास सुप्रसिद्ध छन् । विश्वेश्वरप्रसाद कोइराला, हरिभक्त कटुवाल,भुवनहरि सिग्देल, महेश पौड्याल,भूपिन, अमर न्यौपाने, बुद्धिसागर चपाई कविता र आख्यान दुवै क्षेत्रमा अब्बल  छन् । यसर्थ  कविले सिर्जना गरेका कथा, उपन्यास झन बलिया हुन्छन् भन्ने तथ्य प्रमाणित हुन्छ ।
उपन्यास लेखनको प्रारम्भिक चरणदेखि नै म भुवनहरि सिग्देल, नयनराज पान्डे,प्रभाती किरण, प्रोल्लास सिन्धुलीय आदिको सत् सङ्गतिमा थिएँ । म स्वयं नेपाली विषयको कखरा सिक्दै गरेको विद्यार्थी । म साहित्यप्रति  रुचि राख्ने पाठक पनि भएकाले उपन्यास लेखनीमा खासै अप्ठ्यारो अनुभूति  भएन ।  निर्धरा उपन्यास सफल हुने आधारहरू अनगिन्ती छन् । यो उपन्यास  क्षणिक लहडी र भावभङ्गीमा तयार पारिएको होइन । यसका लागि मैले एक दशक समय खर्चिएको छु । स्थलगत अध्ययन र विषयवस्तुको चिन्तनमनन गरी यो पुस्तक तयार पारिएको हो ।कविताकाव्य  लेखनमा  गरेजस्तै मिहिनेत यसमा पनि गरेको छु । प्रस्तुत  उपन्यास आस्वासन गर्दा निमुखा,श्रमजीवी तथा किनाराकृत वर्गका नागरिकहरूले आफ्नो जीवनको करुणा भेट्नेछ्न् । निर्धरा उपन्यासमा समाख्याताले कथा भन्ने शैलीशिल्प र प्रस्तुति पृथक् छ । किनाराकृत नागरिकको आवाज, बेपत्ता परिवारको क्रन्दन, द्वन्द्वपीडित आमनेपाली महिलाहरूको  कारुणिक जीवनको कथालाई यस उपन्यासमा सरल ढङ्गले उन्ने प्रयत्न गरिएको छ । यो उपन्यास सीमान्तकृत वर्गका नेपालीहरूको जीवनको दस्तावेज  हो भन्ने मलाई लाग्छ ।

४, गजल, कविता (अझ छन्दमा) लेख्ने कवि उपन्यास लेख्नुभो । बिधागत भिन्नता त छ नै । एउटा लेखकले बिधागत भिन्नता बाहेक के फरकपन महशुस गर्दोरहेछ ? साथै पाठकले कवि र उपन्यासकार पढ्ने/हेर्ने नजर फरक पो हुन्छ कि?

– एउटा  कविले आख्यान सिर्जना गर्दा विधागत भिन्नताबाहेक अन्य थप कुरा पनि अनुभूत  गर्न पुग्छन् । काव्यमहाकाव्य सिर्जना गर्ने क्रममा  कवित्व पक्षलाई जोड दिँदा प्रबन्ध /आख्यान दुर्बल बन्ने सम्भावना रहन्छ । यसैगरी  प्रबन्ध/ आख्यान पक्षलाई जोड दिँदा कवित्व पक्ष दुब्लो बन्न सक्छ । कवित्व र प्रबन्ध /आख्यान दुवैको सन्तुलन भएका कृति  नेपाली काव्याकाशमा न्यून छन् । भानुभक्त आचार्यको रामायण र कवि त्रयोदशको आरोहण महाकाव्य  कवित्व र प्रबन्धको सन्तुलन भएका कृतिका उदाहरण  हुन्  । उपन्यास वा आख्यान सिर्जना गर्दा लेखकले पक्कै पनि पृथक् अनुभूति गर्छ । काव्यमा विषयवस्तुलाई प्राञ्जल भाषामा वर्णन गर्दा कृति पठनीय बन्न सक्छ । कवितामा सूक्तिमय पद्य रचना गर्न फलामको चिउरा चपाउनुजस्तै गाह्रो हुन्छ  । काव्यमा प्रबन्धको सूत्र जोड्न कविलाई मुस्किल पर्छ । आख्यान सिर्जना गर्दा  घटना,परिवेश, पात्रानुसारको भाषा आदिको तन्तु उन्न गाह्रो हुन्छ । आख्यानमा विषयवस्तुको वर्णन ज्यादा भयो भने त्यो आख्यान निबन्धात्मक कृतिजस्तो बन्छ । आख्यान त रैखिक ढाँचामा हतारिएको यात्रीजसरी हिँडिरहनुपर्छ ।  यसमा कथावस्तु गुजुल्टिनुहुन्न । मेरो विचारमा लेखकले आख्यान र कविता लेख्दा अनुभूत गर्ने कुरा यिनै हुन् ।
कवि र उपन्यासकारलाई पाठकले हेर्ने दृष्टिकोण फरक हुन्छ ।वर्तमान समाजमा कविलाई भन्दा आख्यानकारलाई पाठकले उच्च तहमा राखेर हेर्ने गरिएको पाइन्छ ।

५, निर्धरा नपढ्दा पाठकले के चिज छुटाउला? जसको कारण यो उपन्यास पाठकले पढ्न परोस् । यो उपन्यासको लेखकका नाताले पाठकलाई भनिदिनुहोस्

निर्धरा उपन्यास आस्वादन गर्दा पाठकले फरक स्वादको अनुभव गर्न सक्छन् । किनाराकृत वर्गको त्यो पनि महिला पात्र अत्यन्त साहसी,सत् चरित्रवान् र स्वाभिमानी नै भनेर उपन्यासमा खोज्नुपर्‍यो भने निर्धरा उपन्यास रोज्नैपर्छ । यो पुस्तकको पान्डुलिपि भुवनहरि सिग्देल, प्रभाती किरण, लीलाराज दाहाल, विनयभूषण दत्त, कृष्ण बोहरा यात्री आदिले पूर्ववत् समयमै पढिसक्नुभएको  छ । उहाँहरूबाट मैले पहिले नै सकारात्मक प्रतिक्रिया पाएको थिएँ । यसर्थ प्रत्येक पाठकले निर्धरा उपन्यास  पढ्दा आफ्नै कथा पढेको अनुभूत गर्नेछन् । यो पुस्तक पढ्न दह्रो मुटु चाहिन्छ । पाठकहरू उपन्यासको आस्वाद्य विषयवस्तुमा चुर्लुम्म डुबेपछि कृति पूरै  नपढुन्जेल अडिन सक्तैनन् ।   उपन्यासका पात्र,परिवेश र घटनाले  पछिसम्म पनि  पाठकको दिमागमा झङ्कार सिर्जना गरिरहने कुराप्रति  म पूर्ण  विश्वस्त  छु ।

***

प्रतिक्रिया

सम्बन्धित खवर