– किरण सिवा
बिरोधको भाषा बोल्न नजान्ने
म बिर्खे दमाई
आज हजुर सामु मेरो बाध्यताको भाषा बोल्न आएको छु
मलाई थाहा छ तपाई सबै सबै बुझ्नु हुन्छ

महाशय,
आफ्नै परिवेशको इतिहासमा आधुनिकताको फेरो समाएर उक्लिनु भएको तपाई
भनिदिनुस न
मैले टेकेको पाइतलाको डोबहरूले कसरी तपाईंको आगनको ईश्वर खल्बलिन सक्छ ?

भनिदिनुस न
मेरी श्रीमतीले गर्व भित्र हुर्काउदै गरेको शिशु
कसरी जन्मिन नपाउदै अलक्षिनाको नामले चिनिनु पर्छ ?
कसरी मेरि बहिनीले पँधेरोको पानी उघाउनु अगावै
पूरै मुहानै जुठो पर्न सक्छ ?

भनिदिनु सन महाशय
तपाईँ त सबै सबै बुझ्ने मान्छे
सपनाहरू आफ्नै आयुको हत्केलाबाट फुत्किएपछि
जिन्दगीको किताबबाट भोगाईका अक्षरहरू
किन मेटिदै मेटिदै जान्छ ?
किन बिभेदको रापमा
बाध्यताको बिस्कुन सुक्दै सुक्दै जान्छ  ?

महाशय
आँखाबाट खसेको आँशुले सधैँ दुखको भाषा मात्र बोल्दैन रहेछ
जसरी तपाईंको आँखाले सधैँ खुसीको भाषा मात्र बोल्छ  मेरो विवसताले
ओठबाट निस्किएको मुस्कानले सधैँ खुसीको संकेत मात्र दिदैन रहेछ
जसरी तपाईंको ओठले सधै हर्षको मुस्कान मात्र दिन्छ मेरो बनावटीले

यस्तै यस्तै अनेकौ ब्यथाहरु छन्
म जस्तै हजारौँ बिर्खेहरूको
जसले तपाईंलाई तपाईं जस्तै बनाउन आफै मेटिन बाध्य छन

हजुर
मलाई कहिलै बिरोधको भाषा बोल्न आएन
तर आज आफ्नै अस्तित्वको धरातलमा उभिएर
हजुरलाई भन्न चाहान्छु कि
मान्ने छैन मेरो इमानले तपाईंको सभ्यताको खाडलमा
आँशुको लास बनेर पुरिन

उसो त
मेरो स्वभाबले तपाईँ
दमन विरुद्धको तरबार उठाएको देख्नु हुन्छ भने
हो म एउटा योद्धा पनि हो

मेरो जिज्ञासाहरुले तपाईँ
परिवर्तनको आगो बलिरहेको देख्नु हुन्छ भने
हो म एउटा क्रान्तिकारी पनि हो

लाग्दैन तपाईंलाई
अब बद्लिनु पर्छ पलपलमा मान्छेकै बिभेदले बिथोल्ने सपनाहरुको आकार ?
यहाँ
परिवर्तनको पर्खाईमा
म जस्तै कयौं बिर्खेहरू भोगाईको चिहानमा
आफ्नै आयु मृत्यु सुम्पिएका छन्

भनिदिनुसन महाशय
तपाईँ त सबै सबै बुझ्ने मान्छे
फेरि तपाईंले सामानताको भाषा बुझ्न
अझै कति ओटा मृत्यु पर्खिनु हुन्छ  ??

***

प्रतिक्रिया

सम्बन्धित खवर