– बोनम प्रताप

आज मलाइ
जाबो हावाको झोक्काले हैरान बनाएर गयो
कहाँ हो कहाँ मैले सुँघेको
कहिले हो कहिलेको यादहरू
कस्तो कस्तो बास्नाले सम्झाएर गयो ।

बनझाँक्री
सुनको लौरो
बनझाँक्रीको पछाडि फर्किएको पैताला
बनझाँक्रीको ठूल -ठूला फाँचो भएकी स्वास्नी
साँझपख खुब दगुर्थेँ म जङ्गलको बाटो
बनझाँक्री स्वास्नीको डरले
यो बास्ना त्यति बेलै जङ्गलबाट आएको डरलाग्दो गन्ध जस्तो पनि छ ।

हामी मधेस बसाइँ झर्दा
बेचेको घरलाई फर्की फर्की रुँदै हिड्नु भएथ्यो आमा
गाउलेहरू आँगनमा निक्लिएका थिए हामीलाइ हेर्न

तल खोला पुगे पछि
अघिल्लो बर्षझैँ बनभोज खाँदै थिए मेरा संगीहरू
यो बास्ना त्यतिबेलै बनभोजबाट आएको मीठो
तर बिरमाइलो बिरमाइलो पनि छ ।

यो बास्ना त्यतिखेरको पनि हुन सक्छ
काउकुती लाग्दो उमेरमा
उनी र म
जिस्किदा जिस्कदै /चल्दा चल्दै
बिना योजना
अनुभव गरेथेँ कहिल्यै नगरेको सम्बन्धको
उनको भिजेको केसबाट निक्लिएथ्यो आलो मदहोसी बास्ना
हो यो बास्ना अलिअलि त्यस्तै मदहोस मदहोस पनि छ

खल्तीमा पैसा नहुँदा भोकले लखतरान भएर
डेरा फर्कँदै गर्दा
मिठाइ पसलबाट आएको मीठो बास्ना जस्तो
दसैं आउने बेला सबेरै निद्रामै हावाले ल्याएको मालश्रीको बास्ना जस्तो
प्रियजनको मलामी जाँदा अगरबत्तीबाट निक्लिएको
दर्दनाक गन्ध जस्तो पनि

ए अँ त
आज बाटोमा हिड्दा हिड्दै
हावाको झोँकाले लिएर आएथ्यो कस्तो कस्तो बास्ना
कहाँ हो कहाँ सुँघेको
कहिले हो कहिले
ठम्याउनै नपाइ हावाले नै लिएर गयो
मलाई आज जाबो हावाकै झोकाले हैरान बनएर गयो

 

प्रतिक्रिया

सम्बन्धित खवर