कैलालीलाई कर्मथलाे बनाएर लेखनमा सक्रिय खेम बतास कविका रुपमा परिचित छन् । त्रिभुवन विश्वविद्यालयबाट नेपाली साहित्यमा स्नातकोत्तर गरेका बतासका काेदाे,मनरख्नी, किर्नाहरु,कालाे रङ्ग र पूर्ण राेक्काकाे पत्र बहुचर्चित कविताहरु हुन् । छकालै संयुक्त कथा सङग्रह प्रकाशित गरेका बतास हाल प्रध्यापन पेशामा संलग्न छन् । बुढीपाेल्ली उनकाे पहिलाे कथा सङ्ग्रह  हाे ।

यसै कथासङ्ग्रहमा रहेर सम्पादक जीवन खत्रीले उनलाई गरेका पाँच प्रश्न र जवाफ प्रस्तुत छ ।

१. नयाँ कथा आउँदैछ । शुभकामना छ । सङ्ग्रहको नाम बुढीपोल्ली । अलि पृथक नाम लाग्यो । नामको बारेमा बताईदिनुस् न ।

हजुर ! आउँदै तर आउन अलि ढिलो नै पो भयो कि ! हजुरलाई धेरै धेरै धन्यवाद !
द्वापरयुगमा मथुराका राजा उग्रसेन । राजकुमार कंस । उग्रसेनलाई कैदी बनाएर कंसले राज्य आफ्नो हातमा लियो । बहिनी देवकीको विवाह वासुदेवसँग गराइदियो । तिम्रो हत्या आफ्नै भान्जाका हातबाट हुनेछ, बचेर रहनु भनि एकदिन दरबारमा भविष्यवाणी भयो । यस्तो अकल्पनीय भविष्यवाणीबाट कंसको सातो गयो । रातमा निन्द्रा र दिनमा भोकप्यास हरायो । उसले आफ्नो पक्षमा साम, दाम, दण्ड र भेद लगाउने भगिरथ प्रयत्न गर्‍यो । दरबारमा सुरक्षित बन्दोबस्तको व्यवस्थापन गर्‍यो । देवकी र वासुदेवलाई पनि मथुरा राज्यमै कैदी बनाएर राख्यो । देवकीका बच्चा जन्मिदै जान्थे । कंसले तिनको हत्या गर्दै गइरहेको थियो । आफ्नै दाजुबाट काख रित्तिदै गएकाले देवकीका आँखा ओभाना थिएनन् । गर्भिणी भए पनि नभए पनि कुनै मतलब थिएन । तर बच्चा जन्मिनेक्रम जारी थियो । फलस्वरूप आठौँ सन्तानको रूपमा कृष्णको जन्म भयो । यसपल्ट कृष्णलाई अन्तै लुकाएर त्यसको ठाउँमा नन्द राज्यबाट यसोदाकी छोरी सुभद्रालाई ल्याइएको थियो । कंसले मार्ने उद्देश्यले बालिकालाई आकाशमा फाल्यो । आकाशवाणी भन्यो, ‘तेरो हत्या कृष्णकै हातबाट हुनेछ ।’
कंस अत्याचारको बाउ थियो, त्यसैले खुरापाती नहुने कुरै थिएन । उसले सैनिक दलबल सहित कृष्णलाई खोज्न लगायो । सेनाहरू प्रत्येकपल्ट निराशा मात्र बोकेर दरबारमा फर्किन्थे ।
धेरैदिनपछि कृष्णलाई बृन्दावनमा लुकाएर राखेको खबर विशेष दूतबाट उसले पत्ता लगायो । आफ्नी महिला मन्त्रीलाई पूतनाको भेषमा कृष्णलाई मार्न पठायो । कृष्णले पूतनाको विषमिश्रित दुध चुसे । दुध मात्र होइन रगत समेत चुसेर पूतनाको हत्या गरिदिए । पुतना  कंस) को पराजय र कृष्ण गोठाला)को विजय भएको अवसरमा डोटी राज्यमा असोज एक गते बुढीपोल्ली मनाउने परम्परा रहेको छ । बुढीपोल्ली सुदूरपश्चिमको मौलिक पर्व हो ।
समग्रमा भन्नुपर्दा बुढीपोल्ली अहिलेको पुत्ता पोल्ने परम्पराको आदि रुप हो ।

२. पहिलो किताब । उत्साह नयाँ होला । यो कस्तो खालको किताब हो ? कति र कस्ता कथा समावेश छन् ?

हजुर पहिलो । निकै उत्साहित छु  । महाकाली तर्न सक्ने तर कर्नाली तर्न नसक्नेहरुको जीवन गाथाको किताब हो । अलि लामा १२  बाह्र) कथाहरु छन् । वर्षौदेखि राज्यको आँखामा नपरेको भूगोल, सदियौँदेखि मान्छे भएर बाँच्न नपाएका तर आत्मसम्मानको लडाइँमा होमिएका मान्छेहरुको दैनिकी हो । जातीय विभेद, लैङ्गिक अमानता र कुरीतिको चपेटामा परेका मान्छेको नियति हो –बुढीपोल्ली ।  सङ्ग्रहमा डोटेली भाषा र मौलिक संस्कृतिलाई विसंरचना गर्ने प्रयास गरिएको छु ।

३. कम उमेरमा सुन्दर कविताहरु लेख्ने कवि तपाईँ किताब चाहिँ कथाको आएछ । अब आख्यानतिरै हराउने हो कि ? कविताका पाठकलाई के जवाफ छ ?

इमान्दार भएर भन्नुपर्दा, सङ्ग्रहको लागि कविताहरु पुगेकै छैनन् । कनिकुथी सङ्ख्या पुर्‍याएर कविताको सङ्ग्रह निकाल्ने आँट मसँग भएन । मेरो विचारमा सबै विधाहरुको माउ विधा कविता हो । कविता जतिको सुन्दर चिज दुनियाँमा विरलै छन् कि ? सुन्दर चिज बन्न निश्चय नै समय लाग्छ कि ? तर यसो भनिरहदा कथाप्रतिको मेरो सम्मान यथावत छ, रहने छ । मैले कवितामा भन्न नसकेका केही विषय थिए । भाषाको मितव्यता, विम्ब र प्रतीकको उचित प्रयोग, भाव र शिल्प विधानको संरचनाले मलाई कवितामा मेरा कुरा भन्न कता कता असहज भएको जस्तो अनुभूति भयो तसर्थ कथा लेखेको हुँ । आख्यान पनि लेख्छु, कविता त झन् मेरो प्राण जस्तै हो ।

४.यस सङ्ग्रह भित्रका कुनै कथाको पृष्ठभूमि भन्न मिल्छ भने बताइदिनु न जसकारण कथा लेख्न रहर /कर लाग्यो ?

मेरा प्रायजसो कथाको पृष्ठभूमि छन् नै । छोटोमा म चाहिँ ओल्के शीर्षकको कथाको पृष्ठभूमि भन्छु, भदौ एक गते सुदूरपश्चिममा मनाइने पर्व हो – ओल्के । ओल्केको शाब्दिक अर्थ मोहि वा रैतिहरुले तल्सिङ्लाई दिने ल्याउने कोसेली भनिन्छ । भदौ महिनामा तथाकथित उपल्लो वर्ग/जातका मान्छेलाई दलितले आफ्नो तर्फबाट बहुमूल्य कोसेली दिने परम्परा छ । केही नभए पिडालुका पात दिने गरिन्छ । मैले एकजना दलित बुढी आमाले गाँउमा ओल्के दिँदै हिँडेको देखे । संयोग भनौ त्यसै बेला रुकुममा नवराज विकको हत्या भएको खबर चर्किएको थियो देशभर । मेरा गाँउकी बुढी आमाको नियति र नवराज विकको हत्याले मलाई आक्रोशित र भावुक बनायो । अनि लेखे –आल्के अर्थात कथा ।

५. किताबका अलवा थुप्रै माध्यम छन् पाठकलाई । पढ्नै मन गर्ने पाठकले पनि विभिन्न स्रोतबाट प्राप्त गर्न सक्छन् । किताबको भविष्यको बारेमा के भन्नु हुन्छ ?

उत्तरआधुनिक समयमा भूमण्डलीकृत पूजिँवादले वस्तु तथा सेवा छनौटको दायरा फराकिलो बनाएको सत्य हो । तर अर्को सत्य पाठकको सङ्ख्या पनि दिनानुदिन बढिरहेकै छन् । होइन भने किन प्रकाशन गृह खुल्ने क्रम जारि छ त ? पाठकले किताब नै पढ्नुपर्छ भन्ने अनिर्वायता स्वीकार नगरे पनि । किताब पढ्नुको आनन्द विस्थावित हुन सक्दैन । किताब पढ्नु केवल भाषासँगको प्रेम, पात्र, देश काल र परिस्थितिसँगको साक्षात्कार मात्र होइन । किताब पढ्नु ध्यान गर्नु हो । ध्यान जो कोहिलाई आवश्यक छ । त्यो किताबले मात्र दिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर