✍️ खेम बतास

ए साथी !
चोली च्यातिएका, एसिडले होली खेलेका
नवजात शिशुका घाँटी रेटिएका, गाँस खोसीएका, बाँस लुटिएका
सित्तैमा धेरै खबर सुन्न पाइयो,
बाँकी के छ तेरो खबर ?
खोल मुखको मास्क
लौ सल्का यो – खुकुरी चुरोट !

जीन्दगी-जिन्दगी नभएर अरु नै केही भएको दिनदेखि नै हो
भारी हुँदै गएको यो हावा,
सम्बन्ध-सम्बन्ध जस्तै नभएर अरु केही भएको दिनदेखि नै हो
आँखामा देखिन थालेको आगो
र, माया-माया नभएर अरु केही भएको दिनदेखि नै हो
शंकाले सगरमाथा आरोहण गर्न थालेको,
निभाउ त्यो मुला सिग्रेटको ठुटो
बरु थपौ एक पेग रक्सी !

मेरो साथी
मर्छु भनी हिँडेको दिनदेखि
मृगौलाको माया मारे र एक पेग बेशी पिए
उनको बासस्थान बिर्से र एक खिल्ली बढि उडाए
बाँच्नु बेकार हो भनेकै दिन
किन किन उनको यादले सताइरह्यो
आज संयोगले तँसँग भेट भएछ।

इतिहासको गर्वबाट
बिस्फोट भएर खसेको बारुद जस्तो देखिने
सबैभन्दा कोमल चिज केवल उनैको मुस्कान रहेछ,
त्यही मुस्कानको कोखिलाबाट बग्यो याङ्सीको पुरातन सभ्यता
कसरी कसरी भएछ प्यार पत्थरसँग
र त, मूर्तिहरुमा इश्वरको छाँया देख्छु
मन्दिरमा आस्थाको जिर्ण आकृति भेट्छु।
मौनताको आदत परेका पत्थरहरुको प्यारमा परेको
भक्तजन जस्तो फूल, अबिर र प्रसादमा
केवल याचनाको निलगीरि बगेको देख्छु,
रित्या त्यो जाबो एक गिलास
त्यो कुखुराको फिलापनि चपा
आज संयोगले तँसँग भेट भएछ।

कलेज ताका कोहि साथी भेटिदैनन् अहिले
कोहि नख्खुको जेलजस्तो कोठामा पसिनाको व्यापार गर्दै
लड्दैछन् नवउदारवादी शासकसँग,
कसैले लगनगाठो कसेर किन्दैछन् बेलुन र आइसक्रिम,
कोहि ब्रोकर बनेर हिड्दैछन्– हटकेक शैलीमा,
कसैलाई भ्याइनभ्याइ छ – नगर, प्रदेश र सर्वोच्चमा,
बाँकी सबै कालका दिन पूरा गर्दैछन् हामी जस्तै।

कलेज ताका कोहि साथी भेटिदैनन् अहिले
आज संयोजले भेट भएछ,
एक बोतल थपौ कि ?

यतिन्जेल बेसोमत बनेर
सिहंदरबारको मुल गेट अघि उभिएर
बेकारमा श्रीमती, जयजात्क (केटाकेटी) र परिवारलाई गाली गरियो
गालीपर्नुपर्ने मान्छे अर्कै रहेछ,
यतिन्जेल बेकारमा समाजको जेब्राक्रसमा हिडेर नियमको
पालना गरियो,
थुक्नु, कुल्चनु र हिड्नुपर्ने थुप्रै अन्य घोरेटा–बाटाहरू रहेछन् ।
यतिन्जेल बेकारमा गिलास रित्याइयो र खिल्ली उडाइयो।

घुडाँका फाटेको जिन्स पाइन्टस् जस्तो
जिन्दगीमा टालो जस्तो तँ आफन्त भेटिन्छस्
र, बाँच्न मिल्ने भएको छ।

मर्न त एक गिलास, एक खिल्ली र देशको खराब राजनीतिले मात्र पुगेको छ
मर्न त नैसर्गिक ऋण र बन्द बाकसमा फर्केको पासपोर्टले मात्र पुगेको छ
बर्खाको बाढी, हिउँदको तुषारो र जेठको गर्मीले पुगेको छ
सिहदरबार, शितल निवास र बानेश्वरको कचकचले पुगेको छ

साथी संयोगले आज भेट भएको छ,
एक बोतल थपौ !
मर्नु त छ छ।

प्रतिक्रिया

सम्बन्धित खवर