-खेम बतास 

बाले बरोबर आँखा देख्न छोडेको चानचुन एकमहिना भयो । टाढाका वस्तुहरू देख्दैनन् । नजिकै आए मात्र ठम्याउन सक्छन् । त्यसैले म बालाई चस्मा लिन गेटा आँखा अस्पताल पुगेँ । काउन्टरमा टिकट काटेर लाइन लागेँ । चार नम्बरबाट माइक्रोस्कोपले हेरेर डाक्टरले पानामा के के लेखेर भन्यो, ‘यो चिट लगेर सात नम्बर कोठामा जानुहोस् ।’
कोठ नं :७
बाले हातको चिट डाक्टरलाई दिए । डाक्टरले पढे । बाको अनुहारमा हेरे । तर केही बोलेनन् । अलि परको सोफामा म बसेको थिएँ । उनले मलाई पनि हेरे । मुस्कुराउँदै भने, ‘तपाईँका बुबा ?’
‘हजुर ।’
‘पढ्न आउँछ बा तपाईँलाई ?’
‘आउँछ ।’
डाक्टरले एउटा मोटो किताब बाको हातमा राखिदिए ।
किताब खोलेर एउटा अध्याय देखाउँदै ‘एउटा आँखा एकहातले बन्द गर्नुस् र यो पढ्नुस् त’ भने । बा दायाँ आँखा दायाँ हातले बन्द गरेर किताब पढ्न थाले ।)

‘बेलीबासा अनौठो खबर सुनियो लौ बरे ! साँचोझुटो कसो हो भन्ना गोसी ?’ दोकानमा नुन किन्न आएकी साइँली बौजूले काल्चेलाई भनिन् ।
‘के खबर ?’
काल्चेले बुझेर पनि बुझ पचायो । उसले आयोडिनको प्याकेट साइँली बौजूको हातमा राख्दै भन्यो, ‘मेरा त एकफेर पनि हात खाली नै हुना । काँ के भयो, केइन था पाउनो लाउ बौजू ।’ साइँली बौजूले दिएको पचासको नोट समातेर गल्लामा राख्यो र  आशालाग्दा नजरले उनीतिर हेर्यो ।
‘साँच्ची था नपाइबरका ब हौ कि, बुझिबर लै बुझ पचाउने हौ ?’ उनले भनिन्, ‘सीताले देलीबाट गोडो गाड्यो भन्यो लाऊ, धौ तक ! के उपद्दर गर्यो तै स्वाहानीले ? तीन जत्काल बसेकी सहेनी मान्छ ! यै लाउँलाउँ, खाउँखाउँ भन्ने उमेरमा, माइतीपोइली सबैको नाक गाड हाल्यो ।’
काल्चेले कृत्रिम आश्चर्य मान्दै निधार खुम्च्यायो । निधारमा देखिए केही गाँठाहरू । उसले तीस रुप्पे साइँली बौजूका हातमा राखिदियो ।
‘स्वाहानीकी बुद्धि पछा मुख हुन्छ भन्नाहान्, साँच्ची रैछ बौजू ।’ उसले भन्यो, ‘स्वाहानीको भर नै, स्वाहानीबिना घर नै भनेको यै हो । महतारी छनाइका मुले भए जयजात्क ।’
‘है भने’–साइँली बौजू रुप्पे समातेर घरतिर हिँडिन् ।
सीता दुर्गालक्ष्मी क्याम्पसमा स्नातक पढ्थी । पढाइमा तेज । गायनमा ठूलो सोख थियो उसको । क्याम्पसका अतिरिक्त क्रियाकलापमा सधैँ प्रथम । एकदुईपल्ट त जिल्लाबाट ट्रफी नै जिती । समाजको शिर सगरमाथा पुग्यो । इजाबा खुसीले गद्गद् भए भने क्याम्पसमा उसलाई बधाई दिनेको लस्करै तयार भयो । गायनमा नेपाली तारा बन्ने उसको एक मात्र सपना थियो । घरको आर्थिक अवस्था कमजोर । तसर्थ आफ्नो बारेमा सोच्ने यथेष्ट समय नै पाइन ।
त्यो बेला गाउँमा कलेज जाने ऊ मात्र थिई । जात्की खुब मेहनती । स्कुलदेखि कलेज पुगुन्जेल कहिल्यै पछाडि फर्किनु परेन । ‘देउवा जीले बम्बईमा चौकीदारी गरेर भएपनि चेलाचेली त पढायो ।’ चोक, चौतारा र चिया पसलमा प्रसङ्गवश तारिफ गर्थे । गाउँमा पनि कसैसित उच्चो स्वरमा नबोल्ने । उसको मुखबाट निस्किन्थ्यो सधैँ – सत्यमात्र । ज्ञान र शीलस्वभावकी सीताको हाँस्दा गालामा खाल्टो पर्थ्यो । त्यसैले केटाहरूका आँखाको सुकुन बनेकी थिई । बाटोमा भेट्दा जिस्काउँदै कतिले डिम्पल क्विन पनि भन्थे । कुनै तारिफको मतलब गरिन । उसलाई आफ्नो कामसँग मात्र मतलब थियो ।
एकपल्टको प्रेम दिवसमा रावणले रातो गुलाब दिँदै प्रेम प्रस्ताव पनि नराखेको होइन । कुनै प्रतिक्रिया जनाइन । बरु आफ्नै दिल–दिमागलाई भनी, – ‘हेर केटी यो समय तैँले लभ गर्दै डेटिङ जाने होइन, बरु पढेर ज्ञानी बन् । ज्ञान नै जीवनको ज्योति हो । ज्योतिले संसार उज्यालो देखिन्छ । उज्यालोका चिजवस्तु सुन्दर र प्रेमिल लाग्छन ।’ हो, उसले गरेको आत्मनिर्णयले काम गर्यो । रावणको प्रस्तावलाई मुसुक्क मुस्कुराइ र टारिदिई । उसले भनी, ‘तिमी राम्रो छौ, मभन्दा उत्तम केटी पाउँछौ, चिन्ता किन गर्छौ ?’
कहिलेकाहीँ रावणको याद पनि आउँथ्यो उसलाई । याद भनेको आदत हो, आदतलाई इन्द्रियको वशमा ल्याउन सके संसार जित्न कसो नसकिएला ? यही देव वाक्यलाई शिरोधार्य गरी ।
त्यसै सालको मंसिरमा जिम्दार बाजे उसको हात माग्न आए ।
‘चेलीको जोवन तोरीको फूल जस्तो हो । उमेरका चेलाचेली र बखतको बाली सप्रन्छ । मित्र निका छन् । कमी भन्ने केइ हुने होइन ।’ धनवीरे देउवाले छोरीलाई सम्झाउँदै भने ।
उसकी आमाले यसैमा थपिन्, ‘हामरा लागि त लेख्दुपढ्डु कालो अक्षर भैँसी बराबर हो । तेरा त आँखाकान उगडि ग्ये । अब पढाउन सक्ने हाम्रो ताकत छैन । चेलीको जातले एकदिन पराइघर जानु त छ, छ । नाइँ नभन बा, मेरी चेली !’ आमाको विनयशीलताका अगाडि केही बोल्न सकिन । उसको मौनतालाई सबैले स्वीकृति सम्झिए ।
उसको बोलीको माधुर्यता, मुस्कानको सरलता र बानीको स्पष्टताको अघि रामचन्द्र पहिलो भेटमै फिदा भयो । उसले भन्यो, ‘तिमीलाई रानी बनाएर राख्छु ।’ वाचाकसम भनेको झुटको खेती हो । मान्छेले कतिबेला रंग बदल्छ ज्ञात नै हुन्न । तर उसले रामचन्द्रको अघि एकशब्द बोल्न सकिन ।
रामचन्द्रको मधेशमा पाँच एक बिगाह जमिन थियो । सबै जमिन अधियाँ दिएको थियो । त्यसैले गाउँमा रामचन्द्रका परिवारलाई जिम्मुवाल भन्थे । उसका बाको नाम जनक भए पनि गाउँलेले जिम्मुवाल बाजे भनि बोलाउँथे ।

छत्तिस सालसम्म नुन किन्न भोटे आउँथे मलवारमा । नुन, चिनी र अनाजको बोजो बोक्थे, घर फर्किन्थे । भोटेका च्याङ्ग्रा देखेर डोट्याल पनि कहिलेकाहीँ आउने गर्थे – मधेस । घिउ, चुक, भक्मीलाको धुलो र खुर्सानी बेच्थे । हाटबाट नुन, चिनी, लत्ताकपडा किन्थे । मालाखेती, वनवासा र टनकपुर त्यतिबेलाका प्रसिद्ध हाटहरू । डोट्यालहरू मलवार आउन थालेपछि तिनको संगत थारूसँग बढ्यो । कुपिन्नी मात्र लगाएका कालै शरीर भएका नाङ्गा मान्छे देख्दा सुरुसुरुमा त डोट्यालहरू अचम्मले हेर्थे । उनीहरूलाई यी कुनै अर्को लोकबाट आएका मान्छेजस्ता लाग्थे । न भाषा मिल्ने, न लवाइखवाइ नै । न भेषभूषा मिल्ने, न उठबसको तरिका नै । सायद उनीहरूलाई थारूहरू एलियन जस्तै लाग्दथे होलान् ।
सधैँ देखिने थारूहरूसँग डोट्यालको चिनापर्ची भयो । कहिले चुक बेच्ने निहुँमा, कहिले घिउ र मह बेच्ने निहुँमा दोस्ती बढ्दै गयो । कहिलेकाहीँ रात पर्दा तिनै थारूका घरमा बास बस्थे – डोट्यालहरू । सँगै हाँसखेल, उठबस र खानपान भएपछि विश्वास र माया भन्ने चिज जन्मिने न भयो । त्यसै भयो मलवारका थारू र पहाडका डोट्यालको पनि ।
एकखेप जनक शाही पनि आएको थियो विनिमयको लागि । नुन, चुक र मह बेच्यो । आफूलाई चाहिने सबै वस्तु किन्यो । अझै नगद रुप्पे बचे उसका झोलामा । घरजाने बोजो ठूलै भयो । चाँदीका रुप्पेको जमानामा चौवनी र अठन्नीको भाउ पनि धेरै थियो । जनक बाटोमा मदन जस्तै एक्लै भयो – साथीले छोडेर हिँडे । रात परेकोले उसले टाढा आगो बलेको उज्यालो देख्यो । त्यो उज्यालोको मालिक थियो, गुच्छे थारू । गुच्छे भयो – उसको सहारा । उनीहरूको माछापानीको जस्तो भयो – सम्बन्ध । जतिपल्ट जनक मलवारमा आउँथ्यो, उसको बस्ने घर भनेकै गुच्छेको घर हुन्थ्यो । भल्मन्सालाई साँची राखे र बाँडे – दुबो हल्दो । भए एकअर्काका मित ।
त्यो दिन जनकले गुच्छेको घरमा गुन्द्रीको भकारी बनायो । त्यसमा राख्यो बोक्न नसकिने नुन । त्यसको माथि चाँदीका रुप्पेले छोप्यो । ‘सात छ महिनामा म आइहाल्छु, एक भकारी छ मेरो माल । आगोपानी, किरोकमीलोबाट जोगाइदिनु । तमरा भरमा छ । सम्भार गरिदिनु मित ।’ जनकले भन्यो ।
ऊ छ महिना दश दिनपछि फेरि आयो – सामान बोकेर । गुच्छेको घरमा पुगेर मालको ढुकुटी हेर्दा आधाभन्दा पनि आधा भएको थियो । अशिव भएर कुर्लियो – जनक । ठूला ठूला आँखा बनाएर गुच्छेलाई खाउँलाझैँ गरेर हेर्न थाल्यो ।
उसले रिसको झोकमा भन्यो, ‘यो भकारीभरिको मेरो रुप्पे खै ? नुन कम रुप्पे धेरै थे । नुन छ तर रुप्पे कस्ले लग्यो भन् ? नत्र याँ क्वै बाँकी रहँदैन ।’ गुच्छे केही बोलेन । उसको डोटेली लबज थारूले राम्रोसँग बुझ्दै बुझेन । गुच्छे घोसेमुन्टो लाएर उभिमात्र रह्यो ।
उसले धम्कीको भाषामा फेरि भन्यो, ‘हेरविचार गर्नु भनेर विश्वासमा छोडेर गएँ । तम त सबै चोर रैछउ । मुसाका कालहरू । घोँगीका सौकारहरू । मेरो लाखौँको सम्पति म त्यसै काँ छोड्छु । अड्डा अदालतमा छन्, मेरा मान्छे । पुलिस बोलाएर सबैकी मुजी फुटाउने हूँ । ’
विचरा गुच्छेलाई नुन पग्लिन्छ भन्ने थाहै थिएन । चोरेको छैन, तिम्रो नुन पग्लिएर सकियो पनि उसले भन्न सकेन । मुखबाट बोली नै निस्केन ।
जनकले किचलो गर्दै धम्कायो । केही भन्न खोज्दा कठालो समात्थ्यो । गुच्छे उसको व्यवहारले आहात भयो । आँखा रसाएर आए । उसको भोकनिद्रा हरायो । जनकले घरका सबै जहानलाई काँ गयो याँको रुप्पे भन्दा कसैले केही जवाफ दिएनन् । सबै अनभिज्ञ थिए । सबैका लागि त्यो घटना अज्ञात थियो ।
जनक जति निर्मम व्यवहार गुच्छेलाई गथ्र्यो, त्यसको दोब्बर धुलाई उसले मौ जहानलाई गथ्र्यो । गुच्छेको शारीरिक र मानसिक हमला सहन सकेनन् । सबै सदस्य एक एक गरेर घर छोडेर अन्तै भागे । कोही घर छोडोस् कि मरोस् जनकलाई के मतलब ? ऊ छोड्ने पक्षमा थिएन । गुच्छेलाई यातना भारी भयो । अन्तमा गुच्छेले आफ्नो सबै जमिन जनकको भएको तमसुकमा सहिछाप ग¥यो । जनकले त्यसैदिन भनेको थियो, – ‘यो त साँवा भयो, अब व्याज को दिन्छ ? व्याजको हुनु तैँले यो जमिनमा हली बस्नुपर्छ । म वर्षको दुईपल्ट अनाज लैजान आउँछु । पछि म याँ बसाई सरेपछि तँलाई घरबास पनि दिन्छु ।’
गुच्छेसँग कुनै उपाय थिएन । उसलाई तातो दुध निल्नु न ओकल्नु भयो । यता घरखेत गुम्यो उता परिवारको बिचल्ली । नखाएको विष लागिरहेको थियो । गुच्छे केही बोलेन । हुन्छ भन्दै टाउको मात्र हल्लायो ।
अहिले उसका छोराहरूले अधियाँ बनाउँछन् जनकको जमिन ।

त्यही गुच्छे थारूबाट लुटेर बनाएको पाँच बिगाह जमिनको मालिक हो – जनक शाही ।
जिम्दार बाजेले त्यसैमा थप्यो, ‘तिमी मेरो घरको बुहारी होइनौ, चेली हौ ।’ जीवनको अनुभवले कपाल फुलेका जिम्दार बाजेको वाचालाई उसले शिरोधार्य गरी । वाचाकै भरमा विगत चार वर्षदेखिको निजी स्कुलको खाइपाइ आएको जागिर पनि छोडी ।
बिहे पक्का भएको दिन जिम्दार बाजेले धनवीरे देउवालाई भने, ‘धन खाने हौ कि हजुर गोडो धुने हौ ?’
‘यै जमानामा पनि के चेलीका ऋण डुबु हजुर, अझै त सालका पात छनाइछन् ।’ देउवाले सालको पातमा गोडो धोएर बिदा गरे । बिहेको दिन खुब रोई – सीता । दुईतीन पल्ट त मुर्छा नै परी । ऊ रोएको देखेर जन्तीले झिँजो मान्दै भने, ‘सबै केटीमान्छे रुन्चे मात्र हुने रैछन् ।’
समय बित्दै गयो ।
पहिलो सन्तानको रूपमा उसको घरमा लक्ष्मी भित्री । शाही परिवार खुसीले गद्गद भयो । तर रामचन्द्रका लागि त्यो घटना अप्रत्याशित जस्तै भयो ।
त्यो साँझ रामचन्द्र अरु दिनभन्दा बढी मात्तिएर आयो । खुट्टा भुइँका थिएनन् । आमाचकारी गाली गर्दै कोठामा पस्यो । उसले हेरफेर नगरी सीताका गालामा एक थप्पड हान्यो । सीताले वरपरको कुनै वस्तु देखिन । कान बन्द भए । सुत्केरीले थिलथिलो भएको शरीरमा रामचन्द्रको आक्रमण सहिनसक्नु भयो । रिँगटाले भाउन्न चल्यो । थुचुक्क बसी भुइँमा । घाइते शेर जस्तै बनेको रामचन्द्रले भन्यो, ‘कस्को हो बच्चा ? मेरो त नाकमुख मिल्दैन । को कोसँग सुत्छेस् भन् ? नत्र आज यो घरमा कि तँ बस्छेस् कि म ।’ लास हुन्जेल कुट्यो । कसैले सीताको आँसुको अघि एकशब्द सहानुभूति पोखेनन् । जिउज्यानको भिक मागिरहेकी सीतालाई कसैले करुणाको नजरले हेरेनन् । शक्तिको अघि मान्छे कति लाचार छ । कायरताको कुनै जात र धर्म नहुने रहेछ । उसले त्यो दिन राम्रैसँग बुझी । कुटेर लाश बनाई छोड्यो । पसिना पुछ्दै उसले भन्यो, खुट्टा भए जुत्ता कति आउँछन्, आउँछन् । मर्दको जातले चार स्वास्नी फटाएन भने, त्यो केको मर्द ।’
दैनिक कुटाइले उसको शरीर सुकेको काठ जस्तो भएको थियो । बिहानै उठ्यो, घरमा झाडूपोछा गर्यो । खाना पकायो, खुवायो । भान्सामा जुठोपिठो गर्यो । काखे बच्चाको स्याहार ग¥यो । चियापानी बनायो । लत्ताकपडा धोयो । लख्खिमीको न्यार पर्सोँ गर्दैमा साँझ हुन्थ्यो । साँझ फेरि उही दुःख । दैनिकी चार दिवार भित्रै नियतिले बन्धक बसेको कैदीको जस्तो थियो । आज तिमीले जे गर्छौ त्यसले तिम्रो भविष्य निर्धारण गर्छ भन्ने थाहा हुँदाहुँदै पनि ऊ वर्तमानको दास बनेकी थिई । दासको न भविष्य हुन्छ न विगत । उसको विगत स्मृतिका पानामा हराइरहेको थियो भने भविष्यको अन्धकारले जिस्काइरहेको थियो ।
छिमेकीले उसको वर्तमानलाई कटाक्ष गर्दै भन्थे, ‘रामचन्द्र त सीतालाई जारी लाउँछ भन्यो । क्याम्पसमा कुन नाठोसँग सल्केकी थि रे । धनसम्पतिकी मालिक्नी भएर के उद्विधि गर्ने खालकी आइमाई रैछ ? कुकुरलाई घिऊ पच्दैन भनेको यै हो ।’
कहिलेकाहीँ माइत जाँदा किन दुब्लाइस् भनि आमाले सोध्दा ऊ मुख छोपेर मनमनै रुन्थी । तर मनको बह कहिल्यै पोखिन । मन बिरक्तिएर कहिलेकाहीँ लाग्थ्यो, खोलामा हाम फालेर मरुँ अथवा रुखमा झुण्डिन जाउँ । तर त्यो गर्न सम्दिनथी । आफ्नो भन्दा धेरै छोरीको माया लागेर आउँथ्यो ।
घरको गति दिनका दिन बिग्रिदै गइरहेको थियो । रामचन्द्र सधैँ रक्सी खाएर आउँथ्यो । तथानाम गाली गर्थ्यो । प्रतिउत्तर फर्काउन खोज्दा दुईचार थप्पड हान्थ्यो । रुँदै निदाउन खोज्दा उसको शरीरसँग मनपरि गर्थ्यो।

सुत्नुअघि रामचन्द्र सधैँ दुर्वासा जस्तो बन्थ्यो । ‘तँ त सुहागरातको दिन पनि रोइनस् । खुब मज्जा मान्दैथिस् । एक थोपो रगत पनि झरेन । बच्चाइदेखि चालु रैछस् । कस्ले तोड्यो तेरो सिल ?’ भन्दै मुख मैथुन समेत गर्थ्यो ।
आकाशमा ताराहरू टिलपिल टिलपिल गरिहेका थिए । औँसीको रात भएकाले वातावरण पूरै अन्धकार थियो । सबै जना खाना खाएर आफ्नो कोठामा गइसकेका थिए । रामचन्द्र अझै घर पुगेको थिएन । ‘एक्लै तेरो भुँडी भरेर सुतिस्’ भनेर गाली गर्थ्यो। त्यसैले सीता भान्सा कुरेर बसेकी थिई । रामचन्द्रको बाटो हेरेर बसेकी थिई । रामचन्द्र आउने बाटो अँध्यारो थियो तर सीताले आशाको दियोमा तेल थपिरहेकी थिई । उसको धैर्यताको बाँध भत्केको थिएन । रामचन्द्र आएन । कालो बिरालो एक्कासि झ्यालबाट प्रवेश गर्यो । के के सोचेर बसेकी थिई । सीताको ध्यान भङ्ग भयो । ऊ आत्तिई । डरसँग अभ्यस्त भइसकेकी भए पनि आत्माको अतल गहिराइमा बचेको अस्तित्वले छोप्यो । डराउँदै मुख रातो बनाई । बिरालो म्याउँ म्याउँ गर्दै भान्साबाट बाहिरियो । बिरालो जाने बित्तिकै जिम्दार बाजे आए । उनले एकटकले सीतालाई हेरे । त्यो हेराइ चिलले चल्लालाई हेरे जस्तै थियो । धेरै बेर सीताले उनीसँग आँखा जुधाउन सकिन । लजाउँदै धोतीले टाउको छोपी । सकेजति सीताले सीता जस्तै बन्ने कोसिस गरी । जनक सीताको समीपमा आए । उनले लामो सास तान्दै कामुक स्वरमा भने, ‘मेरा गोडा कटकटी दुख्दैछन् । शान्तिले छोडेर गएपछि ज्यानले पनि शान्ति पाएको छैन । मालिस गर्न हेल्प गर न ।’ सीता केही बोलिन । केवल टाउको मात्र हल्लाई । जनकले त्यही टाउकोलाई स्वीकृति सम्झे ।
त्यो मालिस, मालिस थिएन । ती गोडा, गोडा थिएनन् । जिम्दार नाग बनेर बसेका थिए । नागले सीतालाई डस्यो । कोठाबाट बाहिर निस्किने बेला उनले सिरानको भरुवा बन्दुक समातेर खुब सुम्सुम्याए, अनि भने, ‘अबदेखि मेरा गोडा सधैँ दुख्ने छन् । मालिस लाएको कुरा कसैलाई भनिस् भने ……!’ बन्दुक छेउमा राखे । बन्दुकको नालजस्तै हात बनाए, अनि निकाले आवाज । डुङ…डुङ…डुङ । सीतालाई आफ्नो भन्दा सानी छोरीको माया लागेर आयो । केही नबोलेर आफ्नो कोठामा आई । झ्यालढोका थुनेर रोई । छरपस्ट भएका कपालहरू मिलाई । लुगाहरू मिलाई । ऐनाको अगाडि उभिएर रुन थाली । ऐनामा अनुहार धमिलो देखियो । जोरले कराई । ऐनामा धमिलो मेटाएर आफ्नो निरिह अनुहार हेर्न खोजी तर ऐना स्पष्ट भएन । अनुहार धोई । आँशुहरू स्वतः पानीमा अनुवाद भए । फेरि ऐनामा हेरी । ऐनाको धमिलोले अनुहारको भाव पढ्न सकिएन ।
उसको आवाज सुन्ने अबोध छोरी बाहेक कोही थिएन । नियतिले लोग्नेमान्छेको चरित्र र स्वास्नीमान्छेको भाग्य बनाएको रहेछ । कति कमजोर हुन्छ चरित्र ? यो चरित्र पनि इन्द्रिय जस्तै देखाएर हिँड्न मिल्ने भए मान्छेका हैसियतहरू ज्ञात हुने थिए ।

पुलबाट धेरै पानी समुन्द्रमा पुगिसकेको थियो ।
तेस्रो सन्तान फेरि छोरी पाई । त्यो दिन नर्सले रुँदै गरेकी शिशुलाई उसको हातमा राखिदिई । मुस्कुराउँदै भनी,– ‘बधाई छ ! तपार्इँको घरमा लक्ष्मीको आगमन भएको छ ।’ उसले नर्सको कञ्चन मुस्कान सहितको आतिथ्यताको वास्ता गरिन । रामचन्द्रको धम्कीले उसलाई पिरोल्यो । झटपट बच्चाको टाङमुनि हेरी । शिशुसँगै रुन थाली, शिशु बनेर । सुत्केरी व्यथाले च्याप्दा त्यति पीडा भएको थिएन जति उसलाई बच्चाको टाङमुनि हेर्दा भयो । सुत्केरी व्यथा लाग्नु दुई दिनअघि रामचन्द्रले भनेको थियो, ‘यो पल्ट पनि छोरी पाइस् भने, तेरो खुन पिएर पनि मेरो रिस मर्ने होइन । यत्रो श्रीसम्पत्ति छ । भोलि यसको उत्तराधिकारी चाहिएन ? एउटा छोरो पाउन नसक्ने तँ जाँठीलाई राखेर के काम ?’ एकातिर रामचन्द्रको श्रीसम्पत्तिको उत्तराधिकारी – अर्कोतिर वार्डमा कराइरहेको शिशु । चुनौतिका पहाडहरूको बीचमा थिई ऊ । एक्कासि रामचन्द्रको धम्कीको याद आयो । आँसु पुछी । सुत्केरी पीडालाई कुनै पीडा नै महसुस गरिन । तर अन्तिमपल्ट शिशुको अनुहारलाई चुमी । डाँको छोडेर रोई । शिशुलाई वार्डमा राखी । धोतीले कम्मर कसी । पटुकाले टाउको बाँधी । र, अस्पतालबाट थिलथिलो शरीर बोकेर सदाका लागि घर छोडी ।
(बाले पढिसकेर डाक्टरलाई हेरे । दायाँ हात दायाँ आँखाबाट हटाए । र, किताब डाक्टरतिर सार्दै भने, ‘किरिङ्मिरिङ देखियो डाक्टर साब । मैले राम्ररी पढ्नै सकिन । अक्षरहरू जम्मै कुरूप लागे । अर्थ पनि बडो अश्लील लाग्यो । आँखाले राम्ररी ठम्याउनै सकिन । )

(डाक्टरले बायाँ आँखा बन्द गरेर फेरि अघिकै अध्याय पढ्न भने । बाले बायाँ आँखालाई बायाँ हातले छोपेर फेरि त्यही किताबको पूर्ववत् पाठ पढ्न थाले । )
सावित्री अफिस बिदा भएर घर फर्की । उसले दोकानअघि स्कुटर रोकी । छोरालाई फलफूल किन्न दोकानमा गई । देवीरामलाई एक केजी स्याउ तौलिन भनी । देवीराम स्याउ तौलिन थाल्यो । दोकानको चारैतिर हेरेर उसले भनी, ‘बेलीबास अनौठो खबर सुनियो लौ बरे ! साँचोझुटो कसो हो भन्ना बाबु ? देवीरामले स्याउ पोलेथिनमा हाल्यो ।
‘के खबर ? मेरो त एकफेर पनि हातखाली नै हुनो । काँ के भयो केइन था पाउनो लाउ बौजू ।’ सावित्रीले दिएको पाँच सयको नोट समातेर गल्लामा राख्यो र सवित्रीतिर आशा लाग्दा नजरले हेर्यो ।
‘दोकानमा गाउँभरका मान्छे हुन्छन्, घरमा थाह नभएको खबर दोकानमा सुनिन्छ, खुब ! बुझेर बुझ पचाएका ।’ सावित्रीले ओठ लेब्राई । फेरि थपी, ‘तम त छिमेकी हौ के ? ’देवीरामले संकेत बुझिहाल्यो ।
उसले तीनसय रुप्पे हातमा राखिदिँदै भन्यो, ए ए त्यो खबर । हो त, हाम्रो गाउँमा लक्ष्मी भित्रिएकी छिन् । रावण पनि यो जुनीमा भिष्मपितामह नै बन्छ कि लाग्याथ्यो, तर केटाको गोडा अल्झियो ।’
‘काँबाट ल्याया रैछ ?’
‘खै त्यो त था नै पाए । दुब्ली पात्ली भएपनि जात्की सहेनी छ । घर बनाइ खाहाल्ने हो ।’
‘ज्वानले ख्यास्स गर्यो ब्या । ब्या गर्नु नै त्यसरी हो । बिनाकामको दाइन दमाउ, बाजागाजाले जुनिभरिलाई के ऋण डुब्नु ।’
स्याउको पोलेथिन समातेर स्कुटरको डिग्गीमा राखी । स्कुटर स्टार्ट गर्दै भनी, ‘जिन्दगी उनको, निर्णय उनको, बनाउन्छन् खान्छन् । ’
उसको स्कुटर अगाडि बढ्यो । सीता र रावणको नयाँ जिन्दगीरूपी स्कुटर पनि अगाडि बढ्यो ।
सीताले घर छोडेर तीनदिन जङ्गल मै बिताएकी थिई । संयोग नै मान्नुपर्छ कुनै मान्छेको फेला परिन । मान्छेसँग विश्वास नभएरै त उसले घर छोडेकी हो । जनावरसँग त्यसकारण डराइन, जनावरले बलात्कार गरेको घटना उसले सुनेकी छैन । जनावरले त सक्दो सहयोग पो गर्छन । बाँदरले एक हाँगाबाट अर्को हाँगा हाम फाल्दा अमलाका दानाहरू खस्थे । अमलाले सास जोगियो । जङ्गली फलहरू मिठा थिए । जीन्दगीमा भोक नै सबैभन्दा शक्तिशाली चिज रहेछ । चाहे त्यो पेटको भोक होस् कि समयको ।
बाँदरले रुखका पात हल्लाउँथे । उसको हृदयका तारहरूबाट निस्किन्थ्यो–आलाप । चराहरू गाउँथे गीतहरू । उसलाई मानव बस्तीको सम्झना आउँथ्यो । हिँड्दै हिँड्दै बिताइ तीनदिन । जयमाया लिखापानी हिँडेजस्तै कठिन थियो सीताको यात्रा पनि ।
घनघोर जङ्गलमा हिँड्दा थकाइ लागेको थियो । ऊ एकछिन थकाइ मार्न बसी । बस्दा बस्दा कतिखेर निदाई । स्याल कराए, अनि उसको निन्द्रा बिथोलियो । चारैतिर हेरी, जङगल निर्जन थियो । भोकले आँखाको ज्योति कमजोर भएको थियो । उसले परपर हेरी, उज्यालो देखिन्नथ्यो । खुल्ला आकाशले धर्तीसँग संवाद गरेजस्तै दृश्य देखेर उसलाई लाग्यो यहाँ पक्का कुनै मानवबस्ती छ ।
नभन्दै चौथोदिन सीताले गाउँको मुख भेट्टाई । बस्तीले हातमुख जोर्न दिनभरि मेहनत गर्छ र साँझ अगेनो बल्छ । गाउँलेको अनुहार हेर्दा सजिलै थाहा हुन्थ्यो, गाउँ मिहिनेतको अर्को नाम थियो ।
त्यही बस्तीको एक छाप्रोमा भएको थियो – रावण र सीताको भेट । रावणले सीतालाई देख्दा स्तब्ध भएको थियो । कुनै शब्द नै निस्केन । जीवन भोगेर स्नातकोत्तर पास गरेको जस्तो बनेको थियो – सीताको अवस्था । आँखाका परेलाहरू सुन्निएका थिए । भोकले ओठहरू कलेटी परेका र शरीर एकदम शिथिल । जिङ्रिङ्ग परेका कपालले एकछिन त रावणलाई सीता चिन्नै मुस्किल पर्यो । यो सपना हो कि विपना छुट्याउनै गाह्रो भयो । बिरानो बस्तीमा क्याम्पसको साथी भेटिँदा सीतालाई रावण भगवानकै अवतार लाग्यो । कमजोर मनलाई थामिराख्न सकिन । रावणको अँगालोमा बाँधिई । डाको छोडेर रुन थाली । रावणलाई अब चाहिँ ज्ञात भयो – विपना नै हो भन्ने  । ऊ खुब रोई । आफूले भोगेको नारकीय पीडा पनि पोखी । आँशुहरू बरबरी खसाली । ती आँशु – आँशु मात्र थिएनन् । दुःखको पर्यायवाची रूप थिए ।
उनीहरू अँगालोमा बाँधिएको देखेर हावाको गति रोकियो । रुखका पातहरू हल्लिन बिर्सिए । वरपरका ढुङ्गामुढा पनि स्थिर थिए । हो, देख्ने मान्छेहरूले पनि एकछिन ढुङ्गा जस्तै बनेर हेरे । प्रकृति पनि त्यो बेला मानव मैत्री भएको जस्तो लाग्थ्यो । सीताले जीवनमा पहिलोपल्ट रावणको बाहुपासमा शान्तिको सास फेरी । उसको धड्कनको चाल रावणले महसुस गर्यो । आँशु पुछिदियो । अन्तिममा भन्यो, ‘सीते, नरोऊ ! स्वास्नीमान्छेले रोएको सुहाउँदैन ।’
रावण त्यसताका एउटा एनजीओमा जागिर गर्थ्यो । फिल्डमा गएर गर्भपतन, बन्ध्याकरण र गर्भनिरोधक साधनको बारेमा कार्यक्रम गर्थ्यो। गाउँमा निःशुल्क कण्डम बाँड्थ्यो । केटाकेटीले उसको नाम राखेका थिए, ढाल दाइ । जनसङ्ख्या रोकथामको लागि ढाल नै बनेको थियो । उसको कामले संस्थाको नाम समेत रोशन भएको थियो ।

सीतासँग बिहे गरेपछि पनि उसले सातवर्ष त्यही संस्थामा काम गर्यो । त्यतिन्जेल उसकी एक छोरी भैसकेकी थिई । छोरीको अनुहार हेरेर ऊ खुब खुसी भएको थियो । छोरीको निधारमा म्वाइँ खाँदै उसले भनेको थियो, ‘यो त सेम टु सेम आमा जस्तै पो भई त । छोरीको शीलस्वभाव पनि तिम्रो जस्तै बनाउ है सिते ।’ अर्को सन्तानको लागि उसले सितेलाई मजबुर गरेन । बरु भन्यो, ‘कामिलो सन्तान भए, एक पनि करोडौँको जस्तो काम गर्न सक्छ । किन चाहियो अर्को ?’ छोरीको नाम उनीहरूले शिरा राखेका थिए । शिराको अर्थ शरीरमा रक्तसञ्चार गराउने नसा हुन्छ । उनीहरूले शब्दकोशमा शिराको अर्थ खोजेनन् । सीताको पहिलो अक्षर र रावणको पहिलो अक्षरबाट राखेका थिए– शिरा । उनीहरूको शिरा नै बनेकी थिई, शिरा ।
एकदिन टाउको दुख्यो भनेर सीता सुतेकी थिई । छोरी रोइरहेको देखेर रावणले लोरी गाउँदै खेलाउन थाल्यो । पाइन्ट मै छोरीले आची गरी । सीताले टाउकोमा रुमाल बाँधी । छोरीको आची सफा गर्न खोज्दा रावणले भन्यो, ‘बाउहरू जिम्मेवारीका अर्को नाम हुन् रे । मलाई छोरीप्रतिको जिम्मेवारी पूरा गर्न देऊ । ’ हो, उसले धेरैपल्ट धोएको छ, छोरीका आची गरेका लुगाहरू ।
सीता गर्भवती भएदेखि सुत्केरी हुँदासम्म घरको काम सबै उसैले गर्थ्यो। एक महिना अफिसबाट बिदा लियो । सीतालाई कोठाबाट बाहिर आउनै दिएन । आफ्नै मनले केही काम गर्न खोज्यो कि रिसमा माया मिलाउँदै भन्थ्यो, ‘अरे सिते, दुईजिउ भएको बेला धेरै काम गर्नुहुन्न के, यो नक्कलीलाई कति सम्झाउने । शरीर छैन त दुनियाँमा केही छैन । आफ्नो ख्याल आफै गर्नुपर्यो । धेरैपछि मैले आमाले जस्तै माया गर्ने जीवनसाथी पाएको छु । तिम्रो ज्यानमा केही तलमाथि भए मैले एक्लै कसरी बाँच्नु ?’  सितेले गहभरि आँशु पार्थी । हर्षका आँशु पुछिदिँदै रावणले भन्थ्यो, ‘यी स्वास्नीमान्छेका आँखा आँशु पोखरी नै हुन कि क्या हो, निको फुचेरो जे भने लै रुन्छन् ।’
सीता उसकी अभिभावक नै थिई । रावण पाँच वर्षकै हुँदा आमाको छाउगोठमा सर्पले टोकेर मृत्यु भयो । बाले धेरै दिन श्रीमतीको यादमा रक्सी खाँदै बिताए । खरिदारको नोकरी पनि राजीनामा दिँदै भने, ‘छोरालाई पुग्ने सम्पत्ति जोडेकै छु । मेरो को छ र खाने ? अर्काको चाकरी गरेर हुन्छ ? राजनीति गर्छु ।’ माओवादी इलाका इन्चार्ज भए । भूमिगत जिन्दगी बिताएका कमरेड ठक्करले एकदिन सैनिकसँग ठक्कर खाए । उनको जीवनलीला समाप्त भयो । रावणले बाउको सानो हड्डी समेत भेट्याएन । शान्तिसम्झौता हुनुअघिसम्म त उसलाई आशा नै थियो, बा कतै आइ पो हाल्छन् कि भन्ने । माओवादी सत्तामा पुगेपछि उसको आशाको बत्ती निभ्यो । उसले त्यसैदिन बाउको क्रियाकर्म गर्यो जुन दिन माओवादीले सरकारलाई हतियार बुझायो ।
विद्यार्थीकाल उसले होस्टेल मै बिताएको थियो । जब जागिर खायो, अनि बस्न थाल्यो गाउँमा । गाउँमा उसको सबैले प्रशंसा गर्थे । भन्थे, ‘ठक्कर धेगे सर्के (स्वर्ग) लोक पुग्यो, चेलो चैँ भगवान नै हो । त्यत्रो श्रीसम्पत्ति एक्लै सम्हालेको छ । हाम्रा जस्ता चेला भए । अगेनामा छार (खरानी) पनि राख्ने थिएनन् ।
रावण गाउँदेखि घरसम्म सबैको भगवान जस्तै बनेको छ ।
उसकी छोरी सात वर्षकी भइसकेकी थिई । गाउँकै सरकारी स्कुलमा पढ्छे तीन कक्षामा । ज्ञानी थिई केटी । स्कुलबाट घर पुगेर भन्थी, ‘मामु, म साग काट्छु तपाईँ पिठो मुछ्नुस् । सबै मिलेर काम गरे कम समय लाग्छ ।’
घरको काममा रावणले पनि बरोबर सघाउँछ । बिहान सीताभन्दा पहिले नै उठ्छ । मोर्निङवाकबाट फर्केर आफै चिया बनाएर कोठामा जान्छ । शिरा र सीतालाई उठाउँछ ।
‘के आपत प¥यो तमलाई यति ? चिया त म आफै बनाइहाल्थे नि ।’ सीताले भन्छे ।
रावणले भन्छ, ‘लोग्नेमान्छेलाई घरका साना साना काम पनि गर्न आउँदैन । मैले पनि आत्मनिर्भर बन्नुपर्यो नि डार्लिङ !’
आफ्नो ओछ्यान सधैँ आफै मिलाउँछ । मान्छेले आफ्नो ओछ्यान सधैँ आफै मिलाउनुपर्छ । ओछ्यानमा मान्छेका सपनाहरू झरेका हुन्छन् । सबैले आफ्ना सपना देख्ने ठाउँको आफै सम्भार गर्नुपर्छ । यो उसको जीवनदर्शन थियो ।
लुगा उसले आफै धुन्छ । उसलाई लाग्छ, मेरो लुगामा कस्ता कस्ता दाग लागेका छन्, कुन लुगालाई कति सावुन लगाउने, अर्को मान्छेलाई के थाहा, सबैले आफ्नो लुगा आफै धुनुपर्छ ।
‘ल्याउनुस् म धोइदिन्छु । छिमेकीले देखे रावण त जोइटिङ्ग्रे भयो भन्लान’ सीताले यसो भने उसले भन्छ,– ‘स्वास्नीमान्छेलाई किन पोइटिङ्ग्रे भन्दैनन् । भाष्य जसले पनि आफू अनुकूल नै बनाउँछन् । शासक र शासितको भाष्य कहिल्यै मिल्दैन – सिते ।’
रावणका अगाडि सीता सधैँ पराजित हुन्छे । तर पराजित हुनुमा पनि उसलाई विजयको भन्दा बढी खुसी प्राप्त हुन्थ्यो । सायद सीताले खोजेको प्यार त्यही थियो ।
(बाले भने, यो आँखाले प्रस्ट देखियो डाक्टर साब । सबै शब्द र अक्षर चिने । बाको अनुहारमा सय वाटको बत्ती बल्यो । उनले किताब बन्द गरेर डाक्टरतिर बढाए । डाक्टरले किताब टेबलमा राख्यो र एउटा चिटमा लेखेर बाको हातमा कागत थमायो । र भन्यो, ल काउन्टरबाट यो औषधी र चश्मा किनेर लगाउनुस् । आँखाको ख्याल गर्नुस् है । मैले डाक्टरलाई धन्यवाद सहित नमस्कार गरेँ। चश्मा किनेर हामी गेटबाट बाहिर आयाँै । बालाई चश्मा राम्रो सुहाएको थियो ।
आधा घण्टापछि बाले भने, ‘कान्छा, बायाँ आँखाले त अहिले बरोबर देख्दैछु । तर दायाँ आँखाबाट आँशु आउँदैछन् । पावर बढी भएर पो हो कि रिँगटा लाग्दै छ । म त यो चश्मा धेरै दिन लगाउन सकुँला जस्तो छैन ।’
के गर्ने, के गर्ने म दुविधामा परेँ । बायाँ आँखाले देख्ने भए पनि दायाँ आँखाले तकलिफ पाइरहेको थियो । मेरो दिमागमा एक्कासि आइडिया आयो । उसै पनि बाले धेरै दिन चश्मा नलाउने उर्दी दिइसकेका थिए । मैले चश्मा समातेर दायाँ आँखाको चश्माको सिसा निकाली दिएँ । मेरो हर्कत देखेर बा जिल्ल परे तर उनी केही बोलेनन् । मैले हाफ चश्मा बाको आँखामा लगाउँदै भने, ‘कस्तो देखियो बा ?’ उनले भने, ‘हो अब सन्तुलन मिल्यो । दृष्यहरू सफा देखिए ।’)

***

प्रतिक्रिया

सम्बन्धित खवर