सुनिल अधिकारी नेपाली मुक्तकको विकास र विस्तारका लागि पसिना बगाईरहने एक सर्जक हुन् । चर्चित कलाकार स्व. सुभद्रा अधिकारीका सुपुत्र उनी आफू मुक्तक पनि लेख्छन् र मुक्तकका लागि विभिन्न कार्यहरू पनि गरिरहन्छन् ।

केही वर्ष यता उनले सामाजिक सञ्जालमा मुक्तकको विकास लागि महत्वपूर्ण योगदान दिएका छन् । हरेक हप्ताजसो बिभिन्न शिर्षक र तस्बिरहरूमा मुक्तक आव्हान गरेर प्रतियोगिता गर्दै पुरस्कार बाँढ्दै गरेका उनले त्यहीँबाट उत्कृष्ट ठहरिएका मुक्तकहरूको संकलन गरी विजयोपहार संयुक्त मुक्तक सङ्ग्रहको संकलन र सम्पादन गरे र पुस्तक प्रकाशन पनि भयो । जसको केही दिन अघि मात्र तेस्रो संस्करण बजारमा आएको छ ।

यसै कृतमाथि रहेर सर्जक सुुनिल अधिकारीसँग सम्पादक जीवन खत्रीले सोधेका पाँच प्रश्न र उत्तर ।

१, विजयोपहार कस्तो खालको किताब हो? यसमा समावेश मुक्तकहरूको छनोट प्रकृया के हो ?
‘विजयोपहार’ एउटा संयुक्त मुक्तकसङ्ग्रह हो; जसमा ‘फोटोमा मुक्तक प्रतियोगिता’को शृङ्खला – १ देखि १०० सम्मका २७० जना (नाम नदोहोरिने गरि) विजयीहरूका ६५८ वटा सर्वोत्कृष्ट मुक्तकहरू (विषयगत फोटोहरू सहित) समावेश छन् l शृङ्खला – १ देखि १०० सम्म प्रतियोगीका रूपमा आएका लगभग साढे १२ हजार मुक्तकहरू मध्येबाट छनोट प्रक्रियाका विभिन्न चरणहरू पार गरेर/छानिएर आएका थिए l छनोट प्रक्रियामा मूलत: विषय (दिइएको फोटो/चित्र) भित्रै रहेर मौलिक तथा सरल शब्दमा चोटिलो, घुमाउरो र कलात्मक प्रस्तुतीकरण सहितको प्रभावमूलक विशेषतालाई ध्यानमा राखेर लेखिएका मुक्तकहरूलाई आधार बनाइएको थियो l

२, रातदिन मुक्तक मुक्तक भनेर हिँड्ने सुनिल अधिकारीले विजयोपहारसम्म आईपुग्दा मुक्तक के रहेछ?
बुझिने/थोरै शब्दमा भन्ने हो भने मनमा उर्लिएका भावहरूलाई व्यक्त गर्ने एउटा माध्यम हो मुक्तक l तर यसको वाह्य एवम् भित्रि संरचनाका कुराहरूको पाटो भने अलग्गै छन् l

३, मुक्तकलाई राष्ट्रिय मिडियामा खासै स्पेस दिएकोजस्तो लाग्दैन् । सुनिल अधिकारी एक्लै समाजिक सञ्जालबाट भए पनि मुक्तक अभियानमा लाग्नुभाछ । तपाईँलाई मुक्तक पठाउने र विजयोपहार पढ्ने पाठकले तपाईँलाई कसरी सम्झिन्छन्?
लेख्न त साढे २ सय बर्ष अघिदेखि नै मुक्तक लेखिंदै आएको इतिहास छ र पनि अन्य विधाको दाँजोमा यो विधा अलि पछाडि परेको सत्य/तथ्य मुक्तकमा विशेष रुचि राख्ने हरेकले महसुस गरेकै कुरा हो l यसको लागि पहिले हामी आफैं एकजूट भएर हामीमै रहे/भएका कमीकमजोरीहरूलाई केलाएर दोषमुक्त भएपछि अनि मात्रै अरूको कुरा गर्नु उचित होला l
मुक्तक उन्नयनको अभियानमा लागेको सुनिल अधिकारी मात्रै/एक्लै छैन l यसमा विभिन्न व्यक्ति तथा संस्थाहरूको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण छ l बाटो बेग्लै होला, हिँड्ने तरिका फरक होला; तर हाम्रो गन्तव्य एउटै छ “मुक्तकको समूचित विकाश सहित यसले साहित्यिक जगतमा अन्य विधा सरह पाउनुपर्ने सम्मान” l
कसैलाई देखाउन वा आफू विशेष रूपले चिनिन म मुक्तक उन्नयनको अभियानमा लागेको होइन l मुक्तकलाई थोरैमात्र माया गर्नेले पनि मलाई ‘मुक्तककार/मुक्तक अभियन्ता’को रूपमा चिन्नुहुन्छ र मेरो खास परिचय पनि यही र यत्ति नै हो; म यसरी नै चिनिन चाहन्छु l

४, मानौँ, सुनिल अधिकारीबाट कुनैदिन मुक्तक भन्ने चिजलाई, त्यसपछि के हुन्छ?
बडो अप्ठ्यारो प्रश्न छ यो l सामाजिक सञ्जालमा सुनिल अधिकारीको जुन परिचय छ त्यो मुक्तकले नै दिलाएको हो l म आज जे छु जहाँ छु, मुक्तककै कारण छु र मुक्तकलाई असाध्यै माया गर्नुहुनेहरूकै कारण छु l जसको भोक/निद्रा भन्नु नै मुक्तक भएको छ, उसैबाट मुक्तकलाई अलग्याउने होभने सामाजिक सञ्जालमा शायद मुक्तककार सुनिल अधिकारीको अस्तित्व पनि रहन्न होला l

५, विजयोपहारको तेस्रो संस्करण समेत अब आम पाठकको भैसक्यो । पाठकले यो किताब किन पढ्ने ? किनेर पढ्ने पाठकको पैसा मुक्तकहरूले असुली गर्छन्?
मुक्तकलाई माया गर्नुहुने कसैलाई पनि मैले अब बताईरहनै पर्दैन ‘विजयोपहार’ के हो ? भनेर l २ बर्षसम्म निरन्तर चलेको १०० वटा शृङ्खलाहरूमा आएका सयौं मुक्तककारका साढे १२ हजार वटा उत्कृष्ट मुक्तकहरूबाट छनोट भएका २७० जनाका ६५८ वटा सर्वोत्कृष्ट मुक्तकहरूको सँगालो हो ‘विजयोपहार’ l एउटै विषय (फोटो/चित्र) मा पनि फरकफरक भावमा कसरी उत्कृष्ट मुक्तकहरू लेख्न सकिँदोरहेछ त ? सिक्न/बुझ्न चाहनेहरूका लागि यो अभ्यासपुस्तिका हो; बुझ्नेहरूका लागि गहकिलो पठनीय सामाग्री हो भने नेपाली मुक्तक भण्डारको निम्ति सङ्ग्रहणीय ऐतिहासिक दस्तावेज हो भन्दा अतिशयोक्ति नहोला l
एउटा महत्त्वपूर्ण कुरा मेरो तर्फबाट जोड्न चाहें; ‘विजयोपहार’ मुक्तक सङ्ग्रहको प्रकाशनको सम्पूर्ण खर्च, मुक्तकलाई माया गरेर प्रायोजनको रूपमा विभिन्न व्यक्ति एवम् संस्थाहरूले पठाउनुभएको रकमबाटै भएको हो र यसको विक्री-वितरणबाट आर्जन भएको सम्पूर्ण रकम (खर्च कटाएर) एउटा अक्षयकोषमा राखेर त्यसको आम्दानीबाट हरेक वर्ष मुक्तकमै कलम चलाउने नव-मुक्तककारहरूलाई हौसला दिने तथा सम्मान गर्ने कार्यको निमित्त नै खर्च गरिने छ, धन्यवाद l
जय मुक्तक ! जय साहित्य !!

प्रतिक्रिया

सम्बन्धित खवर