कवि, निवन्धकार तथा उपन्यासकार भूपिन नेपाली साहित्यमा एक चर्चित नाम हो । सप्तगण्डकी बहुमुखी कयाम्पसका उप – प्राध्यापक समेत रहेका उनको वास्तविक नाम भुपेन्द्र खड्का हो । नेपाली कविता, निबन्ध तथा उपन्यासका अलवा गीत, गजल लेखनमा समेत उनको विशेष योगदान छ। राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका दर्जनौँ पुरस्कार र सम्मानले सम्मानित खड्काको क्षतिग्रस्त पृथ्वी र मूल सडक (कविता संग्रह)- २०५३, हजार वर्षको निद्रा कविता संग्रह)- २०६६, चौबिस रील, ( निबन्ध संग्रह)- २०६९, सुप्लाको हवाइजहाज, (कविता संग्रह)- २०७२ , मैदारो, (उपन्यास)- २०७५ प्रकाशित छन् ।

हालै उनको कविता सङ्ग्रह भूपिनका कविता प्रकाशित भएको छ । उनको नयाँ कविता सङ्ग्रह भूपिनका कविताको सेरोफेरोमा रहेर सम्पादक जीवन खत्रीले सोधेका पाँच प्रश्न र जवाफ :

 

 

 

१, नया कविता सङ्ग्रहको नाम भूपिनका कविता । किताबको नाम नभेटिएको कि अल्छि गरेको ? वा कविलाई आफ्नै नाम प्रिय भएको?

-नयाँ कविताहरूको सङ्ग्रह नभएकाले नयाँ नाम राखेर पाठकलाई झुक्याउन मन लागेन । यो सङ्ग्रह मेरा पूर्वप्रकाशित कविताकृति ‘हजार वर्षको निद्रा’ र ‘सुप्लाको हवाइजहाज’मा समाविष्ट कविताहरूबाट आफूलाई मन परेका कविताहरूको नितान्त व्यक्तिगत चयन हो । बुकहिल प्रकाशनका बोस भूपेन्द्र खड्काद्वारा प्रस्तावित नामाकरण ‘भूपिनका कविता’ मेरो अन्तस्करणलाई जँच्यो । अन्य मुलुकहरूमा हुने प्राक्टिस पनि यही हो । मैले स्वीकृति दिएँ ।

लाग्दैछ, मैले बिल्कुल ठिक निर्णय गरेँ । नयाँ शीर्षक दिएको भए पाठक झुक्याएको अब्यक्त अपराधबोधले मलाई हृदयको कुनै कुनाबाट जीवनभरि ठुँगीरहने थियो, डसिरहने थियो ।

२, हजार वर्षको निद्राको कल्पना गरेर सुप्लाको हवाइजहाज उडाउने कवि भूपिनको यस सङ्ग्रहमा पाठकले कस्ता कविताहरू पाउलान् ?

-विषयगत हिसावले फुटकर कविताको विशेषता अनुरुप विविधता छ यस कृतिमा पनि । समाज, समय, मानिस र माटोका दुख र संघर्षका कथाहरू छन् । केही व्यक्तिगत मनोविज्ञानका अभिलेखिकरण पनि छन् । शैलीगत विविधता छ । प्रयोगप्रतिको मेरो प्रेम स्पष्ट महसुस गर्न सक्छन् पाठकहरूले । सर्वेश्वरदयाल सक्सेनाको लु शुन और चिडिया, कुआनो नदी पढेर प्रभावित भएपछि लेखेको ‘आवाजहरूको बन्दीगृह’ जस्तो ‘प्रोज पोयट्री’ हुँदै कवितामा स्थानिय स्वाद र लवज भएका खडेरी, ट्राफिक दाइजस्ता कविता पनि छन् । यस्ता कविता लेख्न रुची लाग्छ मलाई ।

३, युवा पुस्तामा ल‍‍ोकप्रिय कविहरू आख्यानतिर जान्छन् अनि उतैको राम रमाईलोमा हराएर यता कवितालाई चटक्कै भुल्छन्, सङ्ग्रह त परै जाओस् । तपाईँ र कुशल निवन्धकार र सफल उपन्यासकारको परिचय बनाएर पनि कवितामै रमाउन फर्किनुभो । के रहेछ कविता?

-कवितासँग सम्बन्ध बिच्छेद गरेर निबन्ध र आख्यानमा गएको लेखक होइन म । मेरो जीवनमा यो सम्भव छैन । न म केही पाठकले ठट्टामा सोधेजस्तो कवितामा असुरक्षित महसुस गरेर नै अन्य विधातर्फ लहसिएको हुँ । मलाई सिर्जनाका हर विधाप्रति प्रेम थियो, छ र हुनेछ । मन लागेका हर विधामा लेख्नु मेरो प्रिय लत हो । कविता त जीवनको प्रथम सिर्जनात्मक लत भै हाल्यो । पहिलो प्रेम । कविता मेरो आदत बनिसक्यो । अवचेतनमा कविताको उछलकुद छ आफ्नै रफ्तारमा, जुन अत्यन्त प्रिय छ । एकाधपटक सपनामा देखेर विपनामा हतारहतार कविता सारेको छु । सबै दुरुस्त सम्झिन नसकेर हैरान भएको छु । ‘देब्रे हात’ मेरो यस्तै कविता हो । यसको अर्थ अवचेतनमा कविता प्रवेश गरिसक्यो भन्ने हो । यस्तो सुखद अनुभव मैले पटकपटक गरेको छु ।

अल्जाइमर भयो भने भन्न सक्दिन, नत्र कवितालाई भुलाउन सक्ने ताकत दुनियामा कहीँ कतै छ भन्ने विश्वास लाग्दैन मलाई ।

४, यस सङ्ग्रह भित्रका कुनै एक कविताको पृष्ठभूमि भन्न मिल्छ भने बताईदिनु न जसकारण त्य‍ो कविता लेख्न रहर/कर लाग्यो ।

-हरेक कविताका फरकफरक पृष्ठभूमि हुन्छन् । छन् । केही कविताका जन्मकथाहरू पत्रकार साथीहरूको अनुरोधमा लेखेको पनि छु । कतिपय पृष्ठभूमि अत्यन्त सामान्य लाग्छन्, त्यसको जगमा उभिएको कविताले सन्तुष्टि दिन्छ । कतिपय विशिष्टजस्तो लागेपनि कविता लेखिसकेपछि झुर लेखेँ भन्ने लाग्छ ।

यस कृतिमा राखिएको पहिलो कविता ‘नदीहरू मान्छेजस्ता हुँदैनन्’ मैले गाउँको सल्लेरीबाट कालो पानी बग्ने कालीगण्डकी र सेतो पानी बग्ने मोदीखोलाको दोभान हेरेर लेखेको हुँ । पृष्ठभूमि यत्ति हो । यसलाई मैले रङ्गभेद अनि जातीगत, धार्मिक र वर्गभेदसँग जोडेँ । मानिस किन नदीको कालो पानी सेतो पानीसँग अनि नदीको सेतो पानी कालो पानीसँग मिलेजस्तो मिल्न नसकेको होला भनेर प्रश्न गरेँ । मानव सभ्यताप्रतिकै एक जब्बर कटाक्ष थियो त्यो । उक्त कविता पढ्दा अहिले पनि लाग्छ- २८ वर्षअघि लेखेको त्यो कविताको विचारबाट म अझै निर्देशित छु । सायद जीवनभरि भैरहने छु । मैदारो उपन्यास लेखनको मेरो विचारबिन्दु त्यही कविता थियो । माइला सार्कीले आफैले बनाएको मन्दिरमा प्रवेश किन पाएन भनि लेखेको पुजारीजस्तो सस्मरणात्मक निबन्ध लेखनको मेरो वैचारिक आधार पनि त्यही कविता नै थियो ।

५, किताबका अलवा थुप्रै माध्यम छन्, पाठकलाई । पढ्नै मन गर्ने पाठकले पनि बिभिन्न स्रोतबाट प्राप्त गर्न सक्छन् । पाठकले किताब किन पढ्ने? र झन् तपाईँकै किताब किन? पढ्ने पाठकले तिरेको मूल्य असुली होला?

-विशेषतः दुई कारण छन्, जसले मलाई किताब पढ्न प्रेरित गर्छन् । एक, किताबले सत्यान्वेषणको यात्रामा मलाई सहयोग गर्नेछ । मेरो दृढ विश्वास छ, किताबी ज्ञान र प्रकृति/जीवनका अवलोकन तथा अनुभवले नै हो मलाई सत्यको निकट पुर्याउने । सत्यलाइ यदि चुम्बक मान्ने हो भने त्यससँग आकर्षित भइ जोडिन आउने अर्को चुम्बकको विपरित ध्रुबजस्तो हो ज्ञान र विज्ञान । चुम्बकका समान ध्रुब बीच विकर्षण र असमान ध्रुबबीच आकर्षण हुन्छ । सत्यप्रति आकर्षित नभई ज्ञानको खोज हुँदैन । त्यसको विकल्प नै छैन । किताबी ज्ञान मात्रै पर्याप्त छ त त्यसो भए ? छैन । त्यसकारण मैले अनुभव र अवलोकन भनेको हुँ । यसका लागि मैले सही किताबको छनौट र त्यसप्रति आलोचनात्मक विश्लेषण गर्ने कला विकशित गर्नु जरुरी छ । म यही प्रयास गर्छु ।

दोस्रो किताबले मलाई सौन्दर्यको उच्चतम अनुभूतिको बोध गर्न मद्दत गर्छ । धरतीका हर सुन्दरता मेरो पहुँचमा छैन । यस्तो हुनु कसैका लागि सम्भव छैन । तर किताबले सौन्दर्यका/ मूल्यका/ सस्कृतिका/ संघर्षका/ मनोविज्ञानका धेरै सौन्दर्यबोध गर्ने सहज सुविधा प्रदान गर्छन् ।

फिजिकल किताब कि भर्चुअल किताब ?? पहिला अल्मलिन्थे, अब अल्मलिन कम हुँदै गएको छ । तर मेरो प्राथमिकता फिजिकल किताब नै हुन् अझै । कहिलेकाहीँ अडियो बुकहरू सुन्छु । डकुमेन्ट्री र मुभी हेर्छु । ती पनि ज्ञान र सौन्दर्य प्राप्तीका प्रभावकारी माध्ययम हुन् ।

पाठकले मेरा लेखनयात्रामा कमबेसी यी कुरा भेट्नु भएको भएर नै होला, सायद मेरा कृतिका नयाँ सस्करणहरू निस्किरहेका छन् । पाठकहरूको माया पाइरहने छन् । यही आशा गर्छु ।

प्रतिक्रिया

सम्बन्धित खवर