रमेश सायन कविता र आख्यानमा उज्यालो नाम हो । जुन कुरा उनका पाठकले सहजै स्विकार्छन् । भागेर भूगोलभरि (कवितासङ्ग्रह), छुटेका अनुहार (निवन्ध सङ्ग्रह) प्रकाशित गरिसकेका उनको हालसालै अन्तर उपन्यास बजारमा आएको छ । छुट्का अनुहारले पद्मश्री पुरस्कार समेत पाएको थियो । उनको उपन्यास अन्तरमाथि सेतोमाटोका सम्पादक जीवन खत्रीको पाँच प्रश्न:

, अन्तर कस्तो किताब हो ? के के विषय समेटिएका छन्, पाठकले किन पढ्नु पर्छ अन्तर ?

• फरक लैङ्गिक विशेषता भएको युवाको कथा हो। मूल त समलैंगिक विषय माथि लेखिएको हो ।  समाजमा महिला, पुरुष बाहेक फरक लैंगिक विशेषता भएका मानिसलाई हेरिने दृष्टिकोण फरक भएको म पाउँछु। उनीहरू पनि प्राकृतिक पुरुष, महिला जस्तै प्राकृतिक रूपमै फरक भएका हुन भन्ने बुझाइ धेरैमा छैन। आत्मसम्मान र अधिकारकाे लागि उनीहरु समाज, परिवार र राज्यसँग लडिरहनु परेको छ । एउटा समलिङ्गी पुरुषकाे मनोदशा, आत्मसम्मानको लडाई र  अधिकारकाे कुरा अन्तरले गर्छ ।

, यहाँको पछिल्लो बहुचर्चित किताब छुटेका अनुहार पछि लामो समय लाग्यो यो किताब आउन । धेरै मेहनत गर्नुभएजस्तो छ, अनुभव पनि थपियो । थप नया कुराहरू के के छन् यसमा ?

किताब अक्षरमा लेखिन त तीन वर्ष जति मात्र लाग्याे तर, तर कथाको  पृष्टभूमि तयार हुन समय लाग्यो। आख्यान लेखन मेरो लागि नयाँ भयो ।  समलैंगिक विषयमा लेखिएको हुनाले चुनौती पूर्ण थियो लेखन। कथा हाम्रै समाजको हो । समाजको कथा भए पनि हामीले देखेको र अनुभूत गरेको सामान्य विषय हैन ।  मैले माथी भने जस्तै समलिङ्गी युवाको मनोदशाले कथा लाई अगाडी बढाउँछ। मलाई लाग्छ, मैले लेख्दा जति नौलो अनुभूत गरे  पाठकले पनि उस्तै नौलो अनुभूत गर्दै अगाडी बढ्न सक्नुहोला भन्ने लाग्छ।

३, असल लेखकलाई लेखनका लागि केही न केही कुराले कुत्कुत्याउनु पर्छ भन्छन्, यो किताब लेख्नु अघि तेस्तो केही छ कि ? केही प्रसङ्ग सम्झिन मिल्छ कि?

• मलाई समाजको निर्माण र यसको मनोविज्ञान माथी बडो रुचि छ । समाजमा थुप्रै वर्ग, समुदाय छन् । तिनको सामाजिक, धार्मिक, , सांस्कृतिक, आर्थिक, शैक्षिक जीवन भिन्न खालको छ । एकले अर्कोलाई हेर्ने र महसुस गर्ने कुरा पनि फरक छ । समाजमा लैंगिक विभेद छ। यस विषयले मलाई छुइरहेको थियो। के ही लेख्छु भन्ने पहिला देखिनै थियो। संयोग पात्रहरूले मलाई कथा भन्न तयार भए। मैले पात्र चिने र तिनको चरित्र बुझ्न थाले । अनि यो लामो लेखनकाे निर्माण भयो ।

४, आजका पाठकहरूसँग किताबको विकल्पमा धेरै कुराहरू छन्, ती किताब पठनमा तान्नेगरि लेखकले के गर्नुपर्ला ? अन्तरमा के के गर्नु भएको छ?

• वास्तवमै पढ्ने समय अब कम भयो। म आफैं धेरै किताब पढ्थें। अहिले कम भयो। मेरो जस्तै धेरैको किताब पढ्ने समय थोरै हुँदै गएको छ । मनोरञ्जनको साधन र तरिका फेरियो। जानकारी र सूचनाको माध्यम फेरियो। नयाँ नयाँ भर्चुवल दुनियाको निर्माण भयो । यसले मान्छेलाई व्यस्त बनायो। तर, पनि किताब पढ्नुको मजा भिन्नै छ । लेखकले राम्रो मात्र लेख्नुको विकल्प छैन। तर फेरि राम्रो भनेको के हो? यो झन कठिन प्रश्न हो।  मेरो “अन्तर” कसैलाई मनै परेको छैन, कसैलाई औधी मन परेको छ। लेखकलाई साच्चै चुनौती थपिँदै गएको छ।  “ए आई” ले लेखेको किताब वेस्ट सेलर सूचीमा गयो भनेर भर्खरै एक रिपोर्ट पढें। कस्तो खतरा कुरो क्या, अब किताब लेख्न श्वास फेर्ने मान्छे नभए पनि हुने दिन आउन थाल्यो।

“अन्तरमा के के गर्नु भएको छ?”  यो साच्चिकै गारो प्रश्न हो जीवन जी।
कुनै पाठकले भन्लान् कि! ” रमेश सायनले अन्तरमा यो गरेको छ।  अब मैले भनेको कुरा भन्दा पाठकले भनेको कुरा आधिकारिक होला! किताब मेरो बाट पाठकको भयो।

५, रमेश सायन कवितामा पनि उत्तिकै चर्चित नाम हो तर निवन्ध र आख्यान लेख्न थालेपछि कवि सायन त ओझेलमा पर्यो नि?

 • हैन, कविता मैले कहिल्यै छाडेको छैन। काव्य जस्तो सुन्दर कुराबाट म मात्र हैन कुनै मानिस दूर रहन सक्दैन। कविता मेरो लागि ध्यान हो, ध्यान बाट प्राप्त गरिने सुख सारै ठूलो सुख हो। मैले छाडेको छैन। म कविता कर्मको वरिपरि छु। पाठकले अक्षरमा मेरो कविता पढ्न नपाउनु भएको मात्र हो । मेरो हृदयमा कविता छ, म मेरो हृदयको कविताबाट सुख बोध गरी रहेको छु। जुन सारै आनन्ददाई छ।
***

प्रतिक्रिया

सम्बन्धित खवर