आर्यश

हावा जुन दिशाबाट चलोस
मेची पश्चिममा बगोस कि
महाकाली पुर्वमा बगोस
उत्तरबाट दक्षिणतिर बगोस कि
दक्षिणबाट उत्तरतिर बगोस
घाम पश्चिमबाट उदाओस कि पुर्वतिर अस्ताओस
मलाई के मतलब !
गर्मीयामका तापक्रम या जाडोयामका चिसोपनका कुरा !

म त आफ्नै
आहत पीडाहरु पिएर
चिसा सुस्केराहरु लिएर
छट्पटीको तातो भुङग्रोभित्र पनि
स्तब्धताले कठ्याङग्रीएर बाँचेको मान्छे !
म त ताराहरुजस्तै
चुपचाप-चुपचाप बिलाउँदै गरेको मान्छे !

मलाई के मतलब !
तिम्रो सरकार फेरियोस कि
तिम्रो शासक फेरियोस कि
या तिम्रो ब्यबस्था नै फेरियोस ,

म त आफैंलाई खोज्न निस्किदाँ
क्रमशः
क्रमशः
हराउँदै हराउँदै गएको मान्छे !

मलाई के मतलब !
तिम्रा काला इतिहासहरु
तिमिले सुनाउँदै आएका
सेना , बन्दुक र युद्धका कहानीहरु
रगतले कोरिएका प्राचीन दस्तावेजहरु
तिम्रा राजा / राजकुमारका आलिशान दरबारहरु
तिम्रो धर्मको राजनीति
र राजनीतिको सबैभन्दा कुरुप आकृती

मलाई के मतलब !
जङ्गबहादुरले चढने घोडा
कसको तबेलाबाट फुस्किएको थियो ?
त्यसको रङ कालो थियो कि सेतो?

मलाई के मतलब !
सुकरातले कुन बिष पिएथ्यो ?
गान्धीलाई कसले मारेथ्यो ?
कोलम्बसले किन अमेरिका पत्ता लगायो?
मार्को पोलो किन संसार भ्रमण गर्न निस्कियो?
किन बनाए भिन्चीले मोनालिसाकै तस्वीर ?
क्लियोपेट्रा कतिबिघ्न सुन्दर थिइन ?
मलाई यी सब के मतलब !

म त सर्वाङ्ग नाङ्गो आकाश ओढेर
निदाईरहेको मान्छे
म त आफैं विरुद्धको युद्धमा निस्किएको मान्छे
जसको कुनै सफेद वर्तमान छैन
जसको कुनै स्पष्ट भविष्य पनि छैन
म त आफ्नो इतिहास आफैंले मेटाउन
निस्किएको मान्छे
मसँग इतिहास लेख्न कलम पनि छैन
मसँग क्रान्तिलाई दिन पुग्ने रगत पनि छैन
रगत ! उहिल्यै बेचिआएको हुँ
जतिबेला मलाई
एक बटुका जाउलो खान सार्है खाँचो परेथ्यो !

म त स्वयम्
क्रमशः
क्रमशः
मृत्यु बाँचिरहेको मान्छे !
मलाई के फरक पर्छ ?
मलाई त केवल
आफू जिउँदो हुनुको कारण पत्ता लगाउनु छ
आफैंमा भग्न हुनु छ
आफैंमा मग्न हुनु छ !

मलाई के मतलब !
भो नसुनाउ मलाई तिम्रा राष्ट्रिय गीतहरु
नदेखाउ मलाई तिमिले हेर्ने सिनेमाहरु
नपढाउ मलाई तिमिले लेखेका कथाहरु , कविताहरु

मसँग आफ्नै विरहका गीतहरु छन्
म त आफैंले आफैंलाई हेर्न नसकेर
ऎना फुटाएर हिँडेको मान्छे
मसँग आफ्नै मरिसकेका कविताहरु छन्
जसलाई म बाँच्न सिकाइरहेछुँ

मलाई के मतलब !
तिमी भात खाएर बाँच या
पानी पिएर बाँच
तिमी मलाई बौलाहा भन या
जडयाहा भन !
मलाई के मतलब !
तिमिले उपहारमा घडी पठाउ या जुत्ता !
भो मलाई नदेखाउ कुनै पनि सपना !

म त बिहान बेलुकै
एक बटुका आगो पिएर बाँचेको मान्छे !
मलाई के फरक पर्छ ?
मैले अझैसम्म होस गुमाइसकेको छैन
म अझैसम्म बहुलाइ सकेको छैन
मलाई के फरक पर्छ ?
म त नाङ्गो पैताला हिंड्दा
समय भन्दा धेरै वरै छुटन सक्छु
म मस्तिष्कसँगै दगुर्दा
चेतनाको उथलपुथलसँगै धेरै अगाडी पुग्न सक्छु !
सन्नाटाको गर्जनले
निन्द्रासमेत नलाग्ने मान्छेले
अब सपना पनि कसरी देखोस ?

मलाई के मतलब !
तिमी गीता पढ्
कुरान या बाइबल
तिमी क्राइस्ट पुज
अल्लाह / शिव या ढुङ्गा

म त उहिल्यैदेखी
तिमिले पुज्ने देवतासँग
कुनैदिन भेट भयो भने सिङ्गल सिङ्गल भिडछु
भनेर हिंड्को मान्छे !
म त आफैसँग ठोक्किदा ठोक्किदै
क्रमशः
क्रमशः
खिइदै गएको मान्छे !

मलाई के मतलब !
रोमियो जुलियट
लैला मज्नु
मुना मदनका प्रेमकहानी !

म त आफैंले आफैंलाई
माया नगर्ने मान्छे
म त आफैंले आफैलाई
मतलब नगर्ने मान्छे !

मलाई के मतलब !
तिमी मलाई प्रेम गर
या घृणा गर
उपेक्षाले थुकेर हिँड
या श्रद्धाको माला लगाइदेउ
काँडाजस्ता तिखा बचन लगाउ
या फूलजस्ता प्रशंसाको बर्षात गर !

मलाई त फूलले पनि बिझाउँछ
मलाई त काँडाले पनि बिझाउँछ
मलाई के फरक पर्छ तिम्रा
गाली र प्रशंसाहरुले ?
म त आफैंले आफुलाई चिच्याउँदा चिच्याउँदै
क्रमशः
क्रमशः
ओठ सुक्दै तालु खुइलिँदै गएको मान्छे !
क्रमश:
क्रमशः
आफैंलाई गुमाउँदै गएको मान्छे !

मलाई के फरक पर्छ ?
तिम्रो प्रेम या घृणाले !
म त आफैंले आफैंलाई माया नगर्ने मान्छे
म त आफैंले आफैंलाई मतलब नगर्ने मान्छे !

***

प्रतिक्रिया

सम्बन्धित खवर