– आर्यश
यो कुनै व्याख्या होइन कुनै महानतम महाकाव्यको
यो कुनै भूमिका होइन कुनै विशिष्ट आत्मकथाको
यो कुनै संस्करण होइन कुनै अलिखित संस्मरणको
यो कथा हो एउटा खोलाले पिएका साउनहरूको
वैशाखले पिएका बसन्तहरूको
पहाडले पिएका झरीहरूको
यो कथा हो एउटा आजले पिएका हिजोहरूको
भोलिले पिएका आजहरूको
°°°
हिजोआज किन होला मलाई
सधैँ केही गरुँ गरुँ लाग्छ
सधैँ केही पनि नगरुँ नगरुँ लाग्छ
कहिलेकाही मनपरि प्रश्न आफैँसँग गरुँ गरुँ लाग्छ
जीन्दगीका अनुत्तरित सवालहरुले घेरिएर
प्रश्नै-प्रश्नका अभिशप्त जंजालहरूले जेलिएर
स्मृतिका छालहरूले
/ वर्तमानका बेहालहरूले बिथोलिएर
म बसिदिन्छु सदावहार उदास साँझसँगै
बिर्सिदिन्छु आफैँलाई – पिइदिन्छु आफैलाई
/ जिन्दगीलाई
दु:ख / पीडा / व्यथा सबै घोलेर गिलासमा
– स्वाट्टै पारिदिन्छु
रहर / ईच्छा / चाहना सबै पोलेर आगोमा
– सुकुटी बनाइदिन्छु / चपाइदिन्छु
छिद्र रौँ का प्वालहरूबाट छिरेका
बाकीँ बचेका सबै सपनाहरू
तान्छु श्वाससगैँ / फुक्छु धूवाँसगैँ उडाइदिन्छु !
°°°
बाँच्न खोज्दाखोदै
माकुराको जालोमा अल्झिएको निरीह पुतलीजस्तो
पहेलीमा अल्झिएर छिन्न लागेको जीवनडोरीजस्तो
होसहरूको क्रुर कठघराबाट
/ निस्कन्छु म सारा यो दूनियाँबाट
पस्छु म आफैँभित्र / बस्छु म आफैँभित्र
भरिन्छु म आफैँभित्र / रितिन्छु म आफैँभित्र
पाउँछु आफैलाई कतै – कतै आफैँलाई गुमाउँछु
हराएर आफैँ आफैँभित्र अचेत मस्तिष्क लिएर म
ढुलमुलिदै / लरखराउँदै जून फुल्ने गल्लीहरू डुलीदिन्छु
बेहोसीमै निस्फिक्री चिसा सिरेटाहरू / सुस्केराहरू
सडकका ल्याम्पपोस्टहरु / होर्डिङ बोर्डहरू साथी राखेर
घाम फर्कने प्रतीक्षालयमै म सुतिदिन्छु
मान्छे खाने सडकमै म कयौं निन्द्रा निदाइदिन्छु
न्यानो स्वागत पनि गरिरहेका हुन्छन्
केही भुस्याहा कुकुरहरू कहिलेकाहीँ
आहा ! क्या आत्मियता छ यिनीहरूमा
कमसेकम यिनीहरूलाई
म जँडयाहा भएकोमा अलिकति गुनासो छैन !
तिमी को हौ ?
हरबखत रगत मागिरहेछौ ; क्रान्ती ! क्रान्ती भनिरहेछौ
रगत मात्रै कहाँ हुन्छ र रातो ?क्रान्ती मात्रै हुँदैन रातो
हेभी ट्रकले सडकमा छापेको कलिला भविष्यको
एब्स्ट्र्याक्ट पेन्टिङ मात्रै पनि हुँदैन रातो
राता किताब / राता मान्छेहरू छाडेर उहिल्यै कतै
मैलेपनि फ्रस्टेसनको रेडलेवल पिएर
एन्जाइटीले ग्रसित सहरमा रातै मुटु छादेको छुँ
कलमले पनि रगत छाद्न थालेको धेरै भयो
हरेक बिहानीले निम्ताएका
पत्रिकाहरूले रगत छ्यापेको पनि धेरै भयो
मान्छेहरूले रगत खान थालेको निकै भइसक्यो
ईश्वरहरुले रगत खान थालेको पनि त युगौँयुग भइसक्यो !
°°°
बिहान अखबारहरूले / समाचारहरूले
ह्याङ्ग भएर पिउँछु
दिउँसो भाषणहरूले / आदेशहरूले
टाउको दुखेर पिउँछु
साँझ औपचारिक/ अनौपचारिक
दुखाइहरूले यादहरूले पिउँछु
राती सेन्सरिल पच्चीस एमजीले पनि
निन्द्रा नलागेपछि पिउँछु
चिसिएर जमेका सम्बन्धहरूको आइस घोलेर पिउँछु
आफ्ना विरागहरूको सोडा मिसाएर पिउँछु
धमिलिएको परिचयजस्तो पानी हालेर पिउँछु
कहिलेकाही जिन्दगीजस्तै जिन्दगी बिगारेर पनि
मन लागेर / नलागेर मुख विगारेर स्वाट्टै नेट पिउँछु
तिमी होसमा कसरी सजिलै सास फेरिरहेछौ ?
मलाई त सास फेर्नसम्म बेहोसी हुन परिरहेछ
लगातार श्वास फेरिरहनु नै जिन्दगीको पहिलो सर्त रहेछ ! ?
म त्यही कठिन परिश्रम गरिरहेछु
जिन्दगी यस्तै छ !
जिन्दगी जिन्दगीजस्तै छ
जबसम्म हातमा गिलास छ
पिउन्जेल नै कमसेकम ! अलिकति खास छ
मैले फेर्न खोजेजस्तै सुकुनको विशेष एउटा सास छ
अरु बेला त यो साला जिन्दगी ! जिउँदो एउटा लास छ
अरु बेला त यो साला जिन्दगी ! उपहास छ ! परिहास छ !
***
प्रतिक्रिया
-
४