
– सागर विभोर पाल्पाली
गजल १,
अपराधीलाई स्वागत फूलमाला यस्तै छ
हेर त नेपाल सरकारको चाला यस्तै छ
दुनियाँले विकासको छलाङ्ग मारिसक्यो
तर भोकै छ्न् हाम्रा लालाबाला यस्तै छ
गरिबिको परिधीमा देश झन् झन् डुब्यो
हुनेखानेका मात्रै दिन उज्याला यस्तै छ
हाम्रा भएर पनि कहिल्यै हाम्रा हुन सकेनन्
सिमाना र बेचिदिएका खोलानाला यस्तै छ
गजल – २
मन भित्र बेदनाका आँधी तुफान हरु छन्
बाहिर देखाइएका फिका मुस्कान हरु छन्
सरकारले बाध्य बनाएर यहि सिकाइरह्यो
बिदेशमा नै सपना फुल्ने मैदान हरु छन्
गर्व लाग्नु पर्थ्यो नेपाली भन्दा तर बिडम्बना
दुनियाँमा बेचिएका हाम्रा स्वाभिमान हरु छन्
जिन्दगी कहाँ सुरक्षित छ भनौं निश्चिन्त भई
हरेक यात्रामा खतराका उडान हरु छन्
जुनै प्रकोप माथी पनि भ्रष्टाचार गर्छ मान्छे
कहाँ गर्नु आस कतै सुख्खा कतै डुबान हरु छन्
अदालतको फैसला पनि खै कसरी सत्य मानौँ
प्रमाणको के कुरा किनबेच हुने बयान हरु छन् ।
***
प्रतिक्रिया
-
४