✍️ विनोद विवश

 

गजल – एक

अरुको कमजोरीलाई आफ्नो भर बनायो
कोइलीले न बच्चा हुर्कायो न घर बनायो

उपचार नपाएर मरेको छ त्यही बाउ आज
जसले मृगौला बेचेर छोरो डाक्टर बनायो

मलाई अचम्म लाग्छ सोचेर नै एउटा कुरा
आफूले चाख्यो कि नाइँ जसले जहर बनायो

अरु कुराहरु हतारमा बनाएछ बनाउनेले नै
एउटा ‘तिमी’ अर्को ‘चाँदनी’ सुन्दर बनायो

पोख्त भएछ ऊ प्रेमिकाको चियो गर्दा गर्दै
सरकारले सम्मान गर्यो सिधै गुप्तचर बनायो

गजल – दुई

हुन त छुट्छ कि भन्ने पीर भय नहुनु पर्थ्यो
सकभर तिम्रो र मेरो परिचय नहुनु पर्थ्यो

उसको शिरमा सिन्दुर पर्दा मैले हारेको छु
सधैँ रातो रङको अर्थ विजय नहुनु पर्थ्यो

निरङ्कुश हुनैपर्छ शासन गर्नको लागि यहाँ
नत्र जर्मनीबाट हिटलरको उदय नहुनु पर्थ्यो

मैले पाउरोटी किनेर महिनादिन पुर्याउनुपर्छ
यस्ता कुरामा म्याद गुज्रिने समय नहुनु पर्थ्यो

कसरी गरुन् पढाई यी साना विद्यार्थीहरूले ?
यसरी भट्टीको माझमा विद्यालय नहुनु पर्थ्यो

प्रतिक्रिया

सम्बन्धित खवर