✍️ नम्रता ‘निराश्रित’

 

मुक्तक – एक

अगाडी हेर्दै पछाडि पाइला मेटे पछि अघि जान्छु !
वेदना लाई खुसीले पर अचेटे पछि अघि जान्छु ! !
आँधी, हुरी, र भेलको माझमा भौँतारिदै कताकता ,
हराइ रहेको मेरो भाग्य भेटे पछि अघि जान्छु ! !

मुक्तक – दुई

माया उजाडिएको सुनसान एक्लो घरमा बाँचेको मान्छे म !
भित्ताहरुको चित्कारले अठ्याउने डरमा बाँचेको मान्छे म ! !
आफ्नाले छोडेका सम्बन्ध तोडेका साँझ बिहान बरालिने ,
भुल्न नहुने खुल्न नसक्ने उसको शहरमा बाँचेको मान्छे म ! !

मुक्तक – तीन

रुखो सम्झ या कमलो सम्झ बचन छ यस्तै मेरो !
धोका दिन नहुने मायाको कथन छ यस्तै मेरो ! !
बिर्सेर बस विगतका व्यथा सधैं भन्ने गर्दछु तर ,
के गर्ने भनेको मान्दैन आखिर मन छ यस्तै मेरो ! !

मुक्तक – चार

सुनसान मनको नवीन मेरो रहर बताई देऊ !
विश्वास थुनिएको मायाको घर बताई देऊ ! !
सुटुक्क आई मुटु चोरेर जाने मान्छे कता छ ,
बुझेर आउ चरी मलाई उसको खबर बताई देऊ ! !

मुक्तक – पाँच

दाउरा रहेछ जिन्दगी बलेर खरानी हुनु पर्ने !
आघात अनेकौँ खप्दै गलेर खरानी हुनु पर्ने ! !
सत्य बोल्छु भन्दै विश्वासघात गर्ने मान्छेले सधैँ ,
दिन्छ पीडा असाध्य ज्यूदै जलेर खरानी हुनु पर्ने ! !

प्रतिक्रिया

सम्बन्धित खवर