✍️ जिएसएम खनाल

मुक्तक – एक

नमानी डर नमानी लाज लेखाउनै पर्नेछ
थाती राखेर सारा कामकाज लेखाउनै पर्नेछ
मैले सर्वस्व सुम्पिदा सुम्पिदै छोडेर गएकी होस्
तेरो नामको अघि धोखेबाज लेखाउनै पर्नेछ

मुक्तक – दुई

छुट्याउन खोज्यो सकिन्न झन,उस्तै देखिन्छ
जस्तो कि शिरको फेटा र कफन,उस्तै देखिन्छ
कसलाई बिश्वास गर्नु कोसँग सतर्क रहनु ?
झट्ट हेर्दा खेरी मित्र र दुश्मन, उस्तै देखिन्छ

मुक्तक – तीन

बुझेन मनको कुरा आफ्नै मान्छेले
बनायो सपना टुहुरा आफ्नै मान्छेले
उपचार गरौं कि मरौं अन्यौलमा परे
धस्यो पिठ्युँमा छुरा आफ्नै मान्छेले

मुक्तक – चार

खानै मन छैन भनेर ढाटेको, बल्ल बुझ्दैछु
एक्लै पहाड उचाल्न आटेको, बल्ल बुझ्दैछु
हामीले जे माग्यो त्यही पुर्याइदिने मेरा बाले
लगाउथे कपडा किन फाटेको, बल्ल बुझ्दैछु

मुक्तक – पाँच

नसोचेको कदम चाल्यो कसरी भनौं
अटुट सम्बन्ध छिनाल्यो कसरी भनौं
कसैले सोधे निःसन्तान विधवा हुँ भन्छु
छोराले घरबाट निकाल्यो कसरी भनौं

प्रतिक्रिया

सम्बन्धित खवर