
✍️ जीवित खड्का मगर
दैनिक पशुपतिनाथमा
लागिरहन्छ हजारौं मान्छेहरूको भिड
मक्का-मदिना, चर्च-गुम्बाहरूमा उसैगरि लागिरहन्छ
र, आफूनेंर आइरहेको भिडलाई देखेर
थरीथरीका ईश्वरहरू दंग छन्
एउटा स्वतन्त्र उडिरहेको चरालाई छोपेर पिंजडामा थुनेँजस्तो
विनासित्ति मान्छेहरू छोपेर बाँध्ने
यी जंजीरहरू कसले बनायो ?
बाइबल
कुरान
गीता
त्रिपिटकजस्ता सुत्रहरू घोक्न कसले लगायो ?
र त्यहीँबाट ईश्वरहरूले एकापसमा भयानक युद्ध शुरूवात गरेछन् ।
युद्धमा
उही ईश्वरहरूलाई फूल चढाउन
भिडमा उभिएका मानिसहरू एकाएकगर्दै भकाभक मारिदै आइरहे
थाहा छ – ईश्वरहरू किन मारिएनन् ?
न भगवान मारिए
न अल्लाह मारिए
न यशु मारिए
न मौलवी(पादरीहरू मारिए
युद्धमा
राम मरे ?
कृष्ण ?
बुद्ध ?
..
…
अहँ !
बरू मन्दिर-मस्जिद, चर्च-गुम्बाहरूबाट
ईश्वरहरू दरबारमा बसाइँ सर्दै आइरहे
कालो-सेतो छालाको रंगमाथि प्रेम र घृणा फैलाउने को हो ?
खप्परबाट गिदी निकालेर खप्परमा शासनको झन्डा गाड्ने को हो ?
मान्छेदेखि मान्छेलाई विभेद गर्ने को हो ?
यावत प्रश्नहरू
म सोध्छु मेरो मनभित्रको एक्लो ईश्वरलाई,
उ मौन मौन दरबारतिर एकोहोरो हेरिरहन्छ …!
प्रतिक्रिया
-
४
-
१०