काठमाडौँमा जन्मिएकी समाश्री युवा पुस्ताकी प्रखर कवि हुन् । प्रकृति, व्यक्तिगत अनुभव र भोगाईलाई लेखनको प्रेरणा मान्ने उनले कविता विधाबाट साहित्य यात्राको प्रारम्भ गरेका हुन् । हालसम्म उनको ‘वंशलोचन’ (कविता सङ्ग्रह) २०७० र अल्पविराम (कविता सङ्ग्रह) २०७४ प्रकाशित छन् । प्रकाशनको लागि तयार भए पनि अझै केही समय कृति प्रकाशन नगर्ने सोच बनाएकी कवि समाश्रीसँग आजको आँगनमा मनु विद्रोहीको भलाकुसारीको सम्पादित अंश यस्तो छः

तपाईंको विचारमा साहित्य के हो ?

साहित्य जीवनलाई कणकणबाट बुझ्ने, अवलोकन गर्ने शाब्दिक यन्त्र हो । असल राजनीति गरे समाजको हित हुन्छ । व्यवसाय गरे अर्थ उपार्जन हुन्छ । खेती किसानीबाट अन्न उब्जनी हुन्छ । बिभिन्न सरकारी वा प्राईभेट सेवामा लागे रोजगारी र समाजलाई सेवा पनि हुन्छ ।

कविता लेखेर चाहिँ के हुन्छ ?

कवितामा जीवन दर्शन पोख्न पाइन्छ, मनको हुटहुटी, चिन्तन र बिचार लेख्न पाइन्छ, कतिपय अवस्थामा आफैँलाई सम्बोधन गर्न र मार्गनिर्देश गर्न समेत पाइन्छ ।

नेपालमा कविहरू धेरै किताबचाहिँ कथा उपन्यासको धेरै बिक्री हुने भन्छन् किन होला ?

उपन्यास सरल हुन्छ, बुझ्न सकिन्छ, कविता बुझ्न थोरै माथिल्लो बौद्धिक स्तर चाहिन्छ, त्यसैले हो कि जस्तो लाग्छ ।

सामाजिक सञ्जालमा चर्चाले उचाइमा पुगेको पुस्तक पढ्दा त्यत्तिकै उत्कृष्ट र स्तरीयता पाउनुभएको छ ?

केही छन्, केही छैनन् । समग्रमा भन्नू पर्दा साहित्य पाठकको चेतनामा भर पर्ने भएको हुँदा राम्रा साहित्य ओझेलमा परेका छन् भने स्वैरकल्पना र सस्तो प्रेम विछोडका साहित्य बजारमा बिक्दैछन् ।

साहित्यलाई समाजको ऎना मानिन्छ,कस्ता कस्ता विषयमा जोड दिने हो भने समाज परिवर्तनको लागि सहयोग पुग्ला ?

भारतीय साहित्य अकाडमीले जस्तो साहित्य र साहित्यकारको प्रष्ट सीमाङ्कन गरिदिए हुन्थ्यो जस्तो लाग्छ । प्रचार ग्रुपिजम र नेपोटिजमका कारण वाङ्मय पनि साहित्यमा दरिन नआउनु र राम्रा साहित्य तथा साहित्यकारको उत्थानमा सरकारले सहयोग गर्नु पर्छ भन्ने मेरो धारणा छ ।

साहित्यमा दीगो विकासका लागि राज्यस्तरबाट कस्तो कदम चालिदिए राहत महसुस गर्न सकिएला ?

यो प्रश्नको जवाफ म दिन चाहन्न किनकि मलाई सरकारप्रति विश्वास छैन र लाग्दैन ।

तपाईंलाई भन्न मन लागेको मैले सोध्न छुटाएको केहि छ कि ?

पाठकवर्गहरूलाई म के भन्न चाहन्छु भने चाहे मेरा या कसैका बिचार नै किन नहुन्, आफ्नो ज्ञान र विवेकको कसीमा खरो उत्रिए मात्र सहमत हुन अनुरोध गर्न चाहन्छु ।

प्रतिक्रिया

सम्बन्धित खवर